ad ad

समाज


फेरि नेपाल प्रवेश गर्दै वर्षा-हिमपात गराउने प्रणाली, सजग रहन सुझाव

फेरि नेपाल प्रवेश गर्दै वर्षा-हिमपात गराउने प्रणाली, सजग रहन सुझाव

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ २०, २०८० शनिबार १५:२४, काठमाडौँ

फेरि पानी तथा हिउँ पार्ने मौसमी प्रणाली नेपाल भित्रिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले शनिबार दिउँसो ‘हिउँदे मौसमको विशेष बुलेटिन–२’ जारी गरी आइतबारदेखि देशका धेरै स्थानमा मौसम बदली र विभिन्न प्रदेशमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जानकारी दिएको हो। 

‘पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि (आइतबार) बाट नेपालको धेरै स्थानमा साधारणतया बदलीको सम्भावना छ। सो प्रणालीको प्रभावका कारण भोलि आइतबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ’, विशेष बुलेटिनमा भनिएको छ, ‘साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थान, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा देशका बाँकी भूभागका एक/दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ।’

महाशाखाले सचेत गराउँदै अगाडि भनेको छ, ‘उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना छ। तसर्थ वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

सोमबार साँझबाट भने क्रमशः मौसम सुधार हुँदै जाने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

यसअघि गत मंगलबार पनि पश्चिमी न्यून चापीय प्रणाली प्रवेशका कारण बुधबार र बिहीबारसम्म देशका धेरै ठाउँमा वर्षा तथा हिमपात भएको थियो। शुक्रबारदेखि सुध्रिन लागेको मौसम पुनः आइतबारबाट बदलिन लागेको हो। 

हेर्नुहोस् मौसम महाशाखाले शनिबार जारी गरेको विशेष बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .