ad ad

समाज


हिरासतमा बस्नुपर्नेलाई अस्पताल जानबाट रोक्न गृहमन्त्रीले थाले छलफल

हिरासतमा बस्नुपर्नेलाई अस्पताल जानबाट रोक्न गृहमन्त्रीले थाले छलफल

तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
चैत ९, २०८० शुक्रबार १८:२१, काठमाडौँ

विभिन्न अभियोग लागेका पहुँवाला व्यक्तिहरू प्रहरीको हिरासतमा नबसी अस्पताल जान थालेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले छलफल थालेका छन्। 

प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्तिहरू पहुँचका आधारमा अस्पताल जाने प्रवृत्तिबारे लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहरूसँग शुक्रबार छलफल गरेका छन्। 

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति रोक्न सुझाव मागेका छन्।

छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन गरेर बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन काउन्सिलका पदाधिकारीलाई भनेका छन्। 

पछिल्लो पटक यही सोमबार पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अदालतबाट आदेश नै गर्न लगाएर उपचारका लागि नर्भिक अस्पतालमा बसेका थिए।

यसअघि पनि विभिन्न अभियोगमा पक्राउ परेका नेता र उच्च पदस्थहरू बिरामी भएको भन्दै प्रहरीको हिरासत छल्न अस्पताल बस्ने गरेका थिए।

यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्ने भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताएका छन्।

छलफलमा डा. शेर्पासहित काउन्सिलका सदस्यहरू डा. रुपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री पनि सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .