ad ad

समाज


शोकमा ऋषिदह : होली मेलामा रमाइलो गरेर फर्किएका ५ जना बाटोमै अस्ताए

एक यात्रुले गियरमा राखेको खुट्टा हटाउनेबित्तिकै ट्याक्टर खस्यो
शोकमा ऋषिदह : होली मेलामा रमाइलो गरेर फर्किएका ५ जना बाटोमै अस्ताए

तस्बिर : नेपालखबर


गोकुल जोशी
चैत १२, २०८० सोमबार १५:२९, कञ्चनपुर

अहिले देशभर होलीको उल्लास छ। तर सुदूरपश्चिमको एउटा गाउँ भने यहीबेला शोकमा डुबेको छ। 

चाडबाडको खुसीयालीमा झुमेको अछामको मेल्लेख गाउँपालिका–१ ऋषिदह सोमबार बिहानैको दुःखद् खबरले शोकमय बनेको छ।

ऋषिदहका ८ जना सवार ट्याक्टर सोमबार बिहान मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा दुर्घटना भयो।

दुर्घटनामा परेर ऋषिदहका ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। ऋषिदहकै अन्य ३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडीमा दुर्घटनामा परेको हो। 

घटनास्थल सदरमुकामदेखि करिब ६० किलोमिटरको दूरीमा पर्छ। प्रहरीले अहिले मुचुल्का तयार गरेर शव बयलपाटा अस्पताल ल्याउने तयारी गरेको छ।

मेल्लेख गाउँपालिका–६ मा माडीगडामा प्रत्येक वर्ष होलीमा मेला लाग्छ। सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर निर्माण सामाग्री बोकेर आइतबार माडीगडातर्फ जाने तयारीमा थियो। 

होली मेलामा सहभागी हुन ऋषिदलका केही स्थानीय त्यसै ट्याक्टरमा माडीगडातर्फ जान्छन्। राति त्यहीँ ठाउँमा होलीमा रमाइलो गर्छन्।

सोमबार बिहान ऋषिदहका ८ जना सवार भएर घर फिर्ती भइरहेका बेला ट्याक्टर दुर्घटनामा परेको हो। होलीमा रमाइलो गरेर घर फर्किरहेका कोही बाटोमै अस्ताए। कोही अस्पतालको शय्यामा पुगेका छन्।

‘एक जना यात्रुले गियरमा खुट्टा राखेका रहेछन्। ट्याक्टर उकालोमा थियो। ड्राइभरले खुट्टा हटाऊ भन्नेबित्तिकै ट्याक्टर खसेको रहेछ,’ घाइतेको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो।

ट्याक्टर ग्रामीण सडकबाट करिब २ सय मिटर तल खसेको छ। चालक ऋषिदहका २१ वर्षीय जनक धामीको पनि घटनास्थलमै मृत्यु भएको छ। 

यस्तै ऋषिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र १५ वर्षीय जनक धामीको पनि घटनास्थलमै मृत्यु भएको छ।

ऋषिदहकै ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंश धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउदका अनुसार उनीहरुको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ। होलीको हर्षोल्लासका बीचमा दुःखद् घटना हुँदा पूरै गाउँ शोकमा डुबेको मेल्लेख गाउँपालिका–१ का अध्यक्ष दिलबहादुर धामी बताउँछन्।

‘चाडबाडमा दुःखद् घटना भएको छ। गाउँ शोकमग्न छ’, उनी भन्छन्, ‘ऋषिदहका गाउँमा ठूलो ब्रजपात प¥यो। मृतकप्रति हार्दिक श्रद्धाञ्जली।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .