नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि शनिबारदेखि पाहुना टोली वेस्ट इन्डिजविरुद्ध पाँच खेलको टी–२० सिरिज खेल्दै छ।
टी२० विश्वकपको तयारीका रुपमा लिइएको सिरिजका लागि दुवै टोली उत्साहित छन्।
सिरिजको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुनेछ।
शुक्रबार भएको खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहित पौडेलले ओमानमा आफूहरुले चाहेको जस्तो नतिजा नआए पनि धेरै सिक्ने अवसर पाएको भन्दै उनले विश्वकपअघिको यो सिरिजका लागि आफूहरु उत्साहित रहेको सुनाए।
उनले थपे, ‘वेस्ट इन्डिजविरुद्ध आफूहरु बलिङ युनिटमा ध्यान दिँदै धेरैभन्दा धेरै रन बनाउने योजना छ।’
कप्तान रोहितले विगत डेढ वर्षदेखि राम्रो खेल्दै आए पनि प्रिमियर कपको सेमिफाइनलमा राम्रो खेल्न नसकेको बताए। तर त्यसलाई नै सम्झेर बस्नुभन्दा अगाडिको खेललाई ध्यान दिन जरुरी रहेको बताए।
नेपालविरुद्ध वेस्ट इन्डिजले बलियो टोली घोषणा गरेको छ। वेस्ट इन्डिजका कप्तान रोस्टन चेसले विश्वकप अघि यो सिरिज आफूहरुका लागि पनि राम्रो अवसर रहेको बताए।
पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजको ए टोली बलियो बनेर आएको छ। पाँच खेलको सिरिजपछि नेपालले टी–२० विश्वकप खेल्ने अन्तिम टोलीको घोषणा हुनेछ।
दोस्रो खेलमा आइतबार तथा तेस्रो खेल बुधबार खेल्ने तालिका छ। सिरिजको चौथो खेल बिहीबार र अन्तिम खेल आगामी शनिबार हुनेछ।
ओमानमा एसिसि प्रिमियर कप खेलेर स्वदेश फर्किएको नेपाल वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट सुरुवात गर्न चाहन्छ।
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रिमियर कप खेल्ने टोली बाहिर रहेका आकाश चन्द र आरिफ शेखलाई समेट्दै बिहिबार १६ सदस्यीय टोलीको घोषणा गरेको थियो।
अहिले टोलीमा थप चार खेलाडी थपिएका छन्। टोलीमा नेपाल ए टोलीका विनोद भण्डारीसँगै सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम थपिएका हुन्।
अब वेस्ट इन्डिजविरुद्धको खेलका लागि २० सदस्यीय नेपाली टोली भएको छ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम
वेस्ट इन्डिज ए टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स
Shares
प्रतिक्रिया