ad ad

समाज


नारायणस्थानबाट बिछोडिएका बाबु-छोरा जब १३ वर्षपछि सिंहदरबारमा भेट भए

नारायणस्थानबाट बिछोडिएका बाबु-छोरा जब १३ वर्षपछि सिंहदरबारमा भेट भए

छोरा विशाल मगर र बाबु कुमार मगर। तस्बिर : सरोज बैजु


राधिका अधिकारी
चैत २८, २०८० बुधबार १०:४१, काठमाडौँ

झिसमिसे बिहान। घाम उदाएकै थिएन। आकाशमा उज्यालो पोखिदै थियो। पेट पाल्न संघर्षरत कुमार मगर बिहानै निस्किए। उनको हात समातेर काठमाडौँ, नारायणस्थानको सडक नापिरहेथे उनका १० वर्षे छोरा विशाल। 

काठमाडौँको नारायणस्थानमा एउटा कोठा लिएर बसेका कुमार दैनिक ज्यालादारी काम गर्थे। उनका श्रीमती र तीन छोरा थिए। एक दिन कोठा फर्किंदा श्रीमती थिइनन्। श्रीमतीले छाडेपछि तीन छोरालाई स्याहार्ने जिम्मा उनकै भयो।

दैनिक ज्याला नगरे घरमा चुलो बल्दैनथ्यो। बालक छोराहरू छोडेर काममा जान मुस्किल थियो। त्यसैले उनले साना २ छोरालाई आश्रममा राखिदिए। जेठा छोरा विशाललाई आफ्नो साथमा राखे। विशाल उनका साथी जस्तै थिए। उनी बुवालाई साना–मसिना काममा सघाउँथे। २०६९ सालको त्यो बिहान पनि त्यसैगरी उनी विशाललाई लिएर निस्केका थिए। बाटोमा पानी बोकेका ट्याङकर, फोहर बोकेर दौडिरहेका गाडी, तरकारी बोकेका भरिया बाक्लै देखिन्थे। 

विशाल बेलाबेला फलफूल बोकेर साइकल कुदाइरहेका व्यापारिलाई देखाउँदै भन्थे, ‘बुवा! हेर्नु त कति राम्रो साइकल!’ कुमार मनमनै सोच्थे, ‘यसले पनि साइकल चलाउने मन गर्‍यो।’ तर, किनिदिने आम्दानी थिएन उनको। छोरालाई साइकल किनिदिने सपना बुन्दै हिँडेका कुमारको हातबाट विशालको हात कतिबेला छुट्यो, उनले थाहा पाएनन्। 

सधैँ हिँड्ने बाटोमा पानी उद्योग थियो। विशाल कहिलेकाहीँ त्यहीँ जान्थे र आफ्नै उमेर समूहका बालबालिकासँग खेल्ने गर्थे। कुमार कामबाट फर्किंदा छोरो लिएर फर्किन्थे। त्यो दिन पनि विशाल त्यतै गएको ठानेर उनी काममा गए। तर, फर्किंदा उनले छोरो भेटेनन्। उनले कोठा भुले अनि छोरो पनि। 

त्यो बिछोडले कुमारलाई मानसिक रुपमा विक्षिप्त बनायो। श्रीमतीले छोडेदेखि नै विरक्तिएका कुमारको अवस्था झन् बिँग्रदै गयो। उनले नारायणस्थान छोडे। नगरकोट गएर काम गर्न थाले। 

त्यहाँ अर्को विपत्ति उनलाई पर्खिरहेको थियो। काम सकेर सुतेका कुमारमाथि ढिस्को खस्यो। उनी पुरिए। अरु साथीहरूले थाहा पाए। पहिरोबाट निकालेर पाटन अस्पताल ल्याए। पहिरोमा परेपछि उनको आधा चेत हरायो। शरीरको आधा भाग चलेन। दिमागले धेरै कुरा सम्झन सकेनन्। बेलाबेला उनी आफूसँग छुट्टिएका छोराको भने सम्झना गरिरहन्थे। 

यता बाबुसँग छुटेपछि विशाल सडक बालक भए। उनी बाटोमै बस्ने, मागेर खाने गर्थे। एकदिन पानी व्यवसायी विमल पन्त पानी भर्न जाँदै थिए। विशालले गाडी नजिकै गएर भने, ‘अंकल मलाई चाउचाउ किनिदिनु न।’

विशालको बोलीले विमलको मन खिच्यो। उनले गाडीबाट झरेर विशाललाई सोधे, ‘तिम्रो को–को हुनुहुन्छ?’

‘आमा हुनुहुन्थ्यो कहाँ जानु भयो थाहा छैन। बुवा हराउनुभयो।’ 

‘तिम्रो नाम के हो?’

‘विशाल मगर।’

‘म सँग मेरो घरमा जान्छौँ?’

‘हुन्छ।’ 

त्यसपछि विमल विशाललाई लिएर घरमा आए। उनलाई नुहाइदिए। न्युरोड लगेर लुगा किनिदिए। कपाल काटिदिए र स्कुल भर्ना गरिदिन खोजे। विशाल स्कुल जान मानेनन्। विशाल विमलकै घरमा हुर्किए। 

हुर्कदै जाँदा विमलले आफ्ना बुवालाई सम्झन थाले। विशाल जब बुवालाई सम्झिन्थे २०७२ सालको भूकम्प सम्झिन्थे अनि कहालिन्थे, ‘मेरो बुवा त्यही भूकम्पमा पो पर्नु भयो कि!’ 

विमल पनि विशालका बुवालाई खोज्न थुप्रै स्थानमा पुगे। आफ्ना बुवाले भवन निर्माण स्थलमा ज्यामी काम गर्ने विशालको सम्झनामा आयो। उनीहरू काठमाडौँ, भक्तपुर र ललितपुरमा भवन निर्माण स्थलमा पुग्थे। ज्यामीहरूको अनुहार हेर्थे, नाम ठेगाना सोध्थे। कतिले उनीहरूलाई दुर्वचन बोलेर फर्काउँथे। 

हरेक दिन विशाल बुवा भेटिने आशमा घरबाट निस्कन्थे। तर, बुवा नभेटिएपछि निराश हुन्थे। विमललाई त्यो समय उनलाई सम्झाउन मुस्किल पर्थ्यो। उनी लामो समयसम्म एकोहोरो भैरहन्थे। विमल सम्झाउँथे, ‘पीर नगर, बुवा तिमी हराएपछि खोटाङ फर्किनु भयो होला। अब हामी खोटाङ जानु पर्छ।’ 

विशाल एकैछिनमा मुस्कुराउँथे।

देश कोरोना महामारीको चपेटामा पर्‍यो। विमल गरिबहरूलाई खाना र पानी बाँड्न थाले। विशाल पनि विमलसँगै हिड्थे। उनी खाना खान आउनेहरूका अनुहारमा आफ्नो बुवा खोज्थे। भेट्टाउँदैनथे। उनले सपना रोक्का मगरलाई बेवारिसे शव जलाउने काममा पनि सहयोग गरे। 

‘त्यहाँ पनि मैले न मेरो बुवा पनि हुनुहुन्छ कि भनेर हेर्थें। सबै लासको सनाखत हुँदैनथ्यो। सबै लास चिन्ने अवस्थामा पनि हुँदैनथे। न अनुहार नचिनिएको त्यो लास मेरो बुवाको पो थियो कि भनेर चिन्ता लाग्थ्यो,’ विशालले सुनाए।

कुमार ढिस्को खसेर घाइते भएपछि लामो समय अस्पताल बसे। त्यसपछि झण्डै ७ वर्ष पाटन अस्पतालमा उनको उपचार चल्यो। उनी मानसिक रुपमा पनि विक्षिप्त थिए। बिस्तारै उनको चेत आयो। उनले सबैभन्दा धेरै विशाललाई नै सम्झिए। उनी भन्छन्, ‘अरु २ छोरा आश्रममा छोडेकाले पनि सुरक्षित होलान् भन्ने लाग्थ्यो। यही छोरो कहाँ पुग्यो, कस्तो भयो भन्ने चिन्ताले सताउँथ्यो।’

गत असारमा उनी अस्पतालबाट डिस्चार्ज भए। त्यसपछि कुमारले पुराना साथी सम्झिए। साथीलाई भेटेर काम खोजिदिन भने। 

सिंहदरबारमा संसद् भवन बन्दै छ, उनले ३ महिनाअघि त्यहीँ खाना बनाउने काम पाए। बिहान–बेलुका खाना बनाउने कुमार दिउँसो टहलिन सिंहरबारबाहिर निस्कन्थे। अनि बाटोमा हिँडिरहेका मानिसलाई हेर्थे। उनी बाटो हिँड्ने युवामा आफ्नो छोराको अनुहार खोज्थे। 

‘मैले कसैलाई बोलाएर तिम्रो नाम के हो भनेर सोध्ने आँट चाहिँ गरिनँ। छोराको सम्झना आउँथ्यो। ३ महिनामा तलब आउने भनेकाले साना छोराहरूलाई पैसा आएपछि भेट्न जान्छु भन्ने थियो। तर जेठो छोरो भेटिन्छ कि भनेर बाटो हिँड्ने युवालाई नियाल्थेँ,’ उनी भन्छन्।

गत शुक्रबार कुमार बिहानको काम सकेर सिंहदरबारबाहिर निस्किए। संयोगले विशाल त्यहीँ पुगेका थिए। विशालले कुमारलाई देखे। विशाललाई बाटो हिँड्दै गरेको त्यो मान्छे आफ्नो बुवा जस्तै लाग्यो। केहीबेर पछ्याए। कुमारले भने छोराले पछ्याएको भन्ने बुझ्न सकेनन्। उनलाई डर लाग्यो। सोमबारको भेटमा उनले सुनाए, ‘मास्क लगाएको थियो। मसँग छुट्दा पातलो थियो। अहिले खाइलाग्दो भएको रहेछ। छोरो भनेर चिनिनँ। कुन गुण्डाले किन पछ्याएको होला भनेर डर लाग्यो।’

सडक किनारमा शीतल भेटेपछि कुमार थचक्क बसे। विशालले एकछिन हेरे अनि फर्किए। ‘मैले बुवाको अनुहार सम्झिरहेको थिए। पहिला मोटोघाटो हुनुहुन्थ्यो। अहिले दुब्लाउनु भएको रहेछ। म द्विविधामा परेँ। फर्किंदै थिए। मनले मानेन्। फेरि बुवाको नजिकै गएर नाम र ठेगाना सोधे। मेरो बुवाको नाम र ठेगाना मिल्यो।’

कुमारले बच्चामा विशालले बोल्ने शैली सम्झिए। यो मलाई सोध्ने केटो र मेरो छोराको बोल्ने शैली त एउटै छ। कुमारलाई लाग्यो मेरो छोरो हो। उनले केही नसोची सोधे, ‘तँ विशाल हो?’

विशालले हो भन्ने भावमा मुन्टो हल्लाए। त्यसपछि निकैबेर यी बाबुछोरा बोल्न सकेनन्।

१३ वर्षअघि नारायणस्थानको बाटोबाट छुट्टिएका विशालका बाबुछोरा सिंहदरबारअगाडि बाटोमै भेटिए। विशालले बुवालाई नजिकैको पसलमा लगेर चिसो किनेर खान दिए। अनि विमललाई फोन गरेर बुवा भेटिएको खुसी साटे। आफूले काम गर्ने ठाउँमा लिएर गए। त्यो साँझ विमलले मासु र भात पकाएर बुवालाई खान दिए। आफूले पनि खाए।

उनी भन्छन्, ‘बुवालाई पहिलेबाटै मासुभात मन पर्थ्यो। अरु के खान मन पर्छ, थाहा छैन।’

बुवा भेटिएपछि विशालले भाइहरू पनि सम्झिए। आश्रममा गए। भाइहरूलाई भेटे। उनीहरू पढिरहेका रहेछन्। विशाल खुशी भए। उनले गाडी चलाउन सिकेका छन्। मोबाइल बनाउन सिकेका छन्।

‘अब बुवा र भाइहरूसँगै बसेर खुसी साथ बाँच्ने हो,’ विशाल सुनाउँछन्।

कुमार आफ्नो पुर्ख्यौली थलो खोटाङ जाने तयारीमा छन्। उनलाई खोटाङ गएर छोराको नागरिकता बनाइदिनु छ। बिछोडिएका यी बाबुछोरा अहिले संसारकै खुसीजस्ता देखिन्छन्। विशाल बुवाको ख्याल गरिरहेका छन्। उनी कहिले होटलमा जान्छन्, बुवालाई खाजा खुवाउँछन्। घरी मेडिकल जान्छन् र औषधि किनेर ल्याइदिन्छन्।

कुमार पुराना दिन सम्झन्छन्, ‘सानोमा पनि यसले मलाई खुब माया गर्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .