चितवनको भरतपुर-२७, मगनीकी सुमित्रा अधिकारीको स्वास्थ्य साइप्रस आएको २ महिनामै बिग्रियो।
परीक्षणका क्रममा चिकित्सकले क्यान्सर रहेको बताए। कस्तो क्यान्सर र कति चरणको भन्ने खुलेको छैन।
तर उपचारका क्रममा सोमबार बिहान निकोसिया सहरको जनरल अस्पतालमा उनको मृत्यु भएको नेपाली अवैतनिक वाणिज्य दूतावासले जानकारी दिएको छ।
पोस्टमार्टमपछि पक्रिया पूरा गरी शव नेपाल पठाइनेछ। उनी आएको ६ महिना पनि भएको थिएन।
नेपालमा मेडिकल गर्दा क्यान्सर किन पत्ता लागेन? अथवा जाँच नै गरिँदैन भन्ने प्रश्न उठेको छ।
नेपाल सरकारले नागरिक विदेशिनुपूर्व यस्ता प्राण घातक रोग थाहा पाउने मेडिकल जाँच हुने नियम लागु गर्नुपर्ने देखिन्छ। होइन भने जुन ल्याबमा मेडिकल हुन्छ, त्यसले मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्छ।
परदेश हिँड्नु रहर होइन। दुई/चार लाखको जोहोसँगै छोराछोरीको शिक्षा, पालनपोषण राम्रो हुन्छ भन्ने सोचले विदेशिने हो।
अभिभावक गुमाउनुको पीडा ती अबोध नानीबाबुलाई मात्रै थाहा हुन्छ। एकातिर व्यक्तिको ज्यान गएको छ भने अर्कातिर आर्थिक भार त छँदै छ। परिवार दोहोरो पीडामा परेका छन्।
सरकारको त्यो फ्रि भिसा र टिकट नीति थाहा छैन, कहाँ लागु हुन्छ! तर, नागरिक भने मिटरब्याजे ऋण बोकेर विदेश उडिरहेका छन्।
दलालले न भनेजस्तो काम न त दाम मिलाइदिन्छ। उसको जिम्मा भनेको त्रिभुवन विमानस्थलबाट उडाउनु मात्रै हो।
साइप्रसजस्तो देशमा चाँडै भिसा लाग्ने भएकाले कति दलालले त अन्य युरोप मुलुकमा सहजै जान सकिन्छ भनेर ढाँटेर पनि पठाउने गरेको पाइन्छ।
प्रायः पोर्चुगलको रातो राहदानीको सपना देखेर आउने गर्छन्। साइप्रसदेखि पोर्चुगल जान सहज छैन, जो गएका छन्, निकै जोखिम मोलेर पुगेको बताउँछन्।
हिजो खुसी बोकेर नेपाल फर्कने सोचले साइप्रस छिरेकी सुमित्रा आज विदेशी मुलुकमा अस्ताइन्।
उनको परिवारलाई यो पत्यार पनि लागेको छैन होला। तर यही नै सत्य हो, अब सुमित्राको परिवारले उनको शव मात्रै अन्तिमपल्ट देख्न पाउनेछ।
Shares
प्रतिक्रिया