ad ad

समाज


कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्षबीच चर्काचर्की

मेयर शाहलाई वडाध्यक्ष महर्जनको प्रश्न– डकैती शैलीमा के गर्न खोजिएको हो?
कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्षबीच चर्काचर्की

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी श्रेष्ठ


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १३:५०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) र वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनबीच चर्काचर्की भएको छ। 

शुक्रबार बिहान कार्यपालिका बैठकको सुरुमै वडाध्यक्ष महर्जनले निर्धारित विषयवस्तुमा प्रवेश गर्नुअघि नै समय लिएर आफ्ना कुरा राख्न थालेका थिए। उनले हिजो (बिहीबार) वडा कार्यालयबाट नगर प्रहरीले सम्पूर्ण कागजात उठाएर लगेकोबारे प्रश्न गरे।

‘कामपा वडा नम्बर २२ मा म नहुँदा, मेरो जानकारीबिना नगर प्रहरी आएर ६-७ बोरा फाइल लिएर गयो,’ उनले प्रश्न गर्दै भने, ‘यो २२ नम्बर वडामा मात्रै भएको हो कि? अन्त पनि भएको हो?’

उनले कसको आदेशमा यस्तो भएको र किन भएको भन्दै बैठकमा प्रश्न गरे। साथै, सेवाग्राहीलाई कुनै पनि सेवा गर्नका लागि कागजपत्र नहुँदा समस्या भएको उनको गुनासो थियो।

‘यो डकैतीको शैलीमा के गर्न खोज्नुभएको हो? महानगरमै यो के भएको? म पनि जनताले चुनेर आएको मान्छे हो,’ उनले मेयर शाहलाई भने।

वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन

त्यसबारे प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जवाफ दिए, ‘त्यो घरबाहल करसम्बन्धी अध्ययनका लागि राजस्व विभागबाट केही फरक देखिएकाले २२ नम्बरमा मात्रै नभई अरू वडामा पनि आन्तरिक राजस्व विभागसँगको सहकार्यमा काम भएको हो।’

त्यसपछि पुनः वडाध्यक्ष चर्किए। 

‘हामी वडावासीलाई कुनै लालपूर्जाको फोटोकपी भएन भने त्यो मात्रै फोटोकपी गरेर पठाउँछौँ,’ उनले भने, ‘तर, के गर्न खोजिएको हो? म प्रतिपक्षी हो र? म पनि मेयरसाब जस्तै जनताले चुनेर पठाएको जनप्रतिनिधि हुँ।’

महर्जन बोल्दाबोल्दै न्युरोडको फुटपाथ विस्तारको कुरामा लागे।

उनले प्रश्न गरे, ‘देशकै पपुलर ल्यान्डमा सडक बनाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने?’

त्यसपछि भने मेयर शाह आफैँ प्रतिवादमा उत्रिए। 

कार्यपालिका बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह

‘तपाईंको वडामा? पत्रिका पढेर थाहा पाउनुभयो?,’ मेयर शाहले प्रतिप्रश्न गर्दै भने, ‘तपाईंकोमा कि २४ नम्बर वडामा?’

उनले मान्छेलाई हिँड्न गाह्रो भयो, सेक्सुअल ह्यारेसमेन्ट भयो, पाकेटमारी बढ्यो भनेपछि विस्तार गर्न लागिएको भनेर प्रस्ट्याए।

‘वडा नम्बर २४ मा फुटपाथ बढाउँदा तपाईंलाई के समस्या भयो?’ उनले थप प्रश्न गरे। 

मेयर शाहसँग वडाध्यक्ष महर्जनको चर्काचर्की रोकिएन। 

‘फुटपाथको साइज कति चाहिन्छ? थाहा छ?’ मेयर शाहको प्रश्न थियो।

जवाफमा महर्जनले सडक विभागले जनाएको आपत्तिलाई अघि सारे। 

त्यसपछि मेयर शाह झन् झोँक्किए र ‘फुटपाथ सडक विभागले बनाएको नभई महानगरले बनाएको’ जवाफ पर्काए।

उनीहरूबीच बैठकमा झण्डै १५ मिनेटसम्म नोकझोँक चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .