यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथरलाई प्रदान गरिने भएको छ।
मदन भण्डारी फाउन्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्षका लागि कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथरलाई दिने निर्णय भएको छ।
बुधवार पत्रकार सम्मेलन गर्दै फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले असार १४ गते मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमकाबीच कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिने जानकारी दिए।
उनले २०५६ सालमा स्थापित फाउनडेसनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको जानकारी पनि दिए।
२०४१ सालदेखि चिया खेती गर्दै आएको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रले हाल ९५ हजार हेक्टर जमिनमा ६ लाखभन्दा बढी चियाका बिरुवाहरु रहेको जनाइएको छ।
केन्द्रले आयुर्वेदिक र जैविक खेती प्रविधिमार्फत १० प्रकारका चिया र १३ प्रकारका जडिबुटी उत्पादन गरिरहेको छ। वार्षिक रुपमा १०० टन चिया उत्पादन गरी विदेशमा समेत निर्यात गरी ४ करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने गरेको बताइएको छ।
केन्द्रले १५० जनाभन्दा बढी किसानलाई प्रत्यक्ष रोजगारी र ४०० जनालाई अप्रत्यक्ष रुपमा रोजगारी पनि दिएको अध्यक्ष पाण्डेले जानकारी दिए।
Shares
प्रतिक्रिया