ad ad

समाज


सामाजिक सञ्जालहरू मिथ्या सूचनाको हब : प्रतिवेदन

सामाजिक सञ्जालहरू मिथ्या सूचनाको हब : प्रतिवेदन

नेपालखबर
असार १२, २०८१ बुधबार १७:१९, काठमाडौँ

सामाजिक सञ्जालहरू मिथ्या सूचनाको हब बन्दै गएको एक अध्ययनले देखाएको छ।

सामाजिक सञ्जालहरू मिथ्या सूचनाको हब बन्दै गएको र यसको प्रभाव कतिपय अवस्थामा मूलधारका मिडियामा पनि पर्ने गरेको अध्ययनले देखाएको छ।

बुधबार काठमाडौंमा सार्वजनिक ‘भाइब्रेन्ट इन्फरमेसन ब्यारोमिटर (भाइब)’ अध्ययन प्रतिवेदनले मधेस र लुम्बिनी प्रदेशका सञ्चार माध्यममा प्रकाशित तथा प्रशारित समाचार सामग्रीको स्तरीयता पनि अपेक्षाकृत कमजोर देखाएको हो।

द एसिया फाउन्डेसनले सूचनाको महत्त्व, उत्पादन, प्रयोग, नागरिकको पहुँच तथा समाचार उत्पादकहरूको समावेशी चरित्र लगायत बारेमा गरेको अध्ययन प्रतिवेदनले विभिन्न परिस्थितिका कारण सञ्चारमाध्यमहरू कमजोर बन्दै गएको र त्यसको प्रभाव सूचनाको गुणस्तरमा परेको निष्कर्ष निकालेको हो।

सञ्चारमाध्यमको रिपोर्टिङ गर्ने क्षमता नै कमजोर हुँदै गएको अध्ययनले देखाएको छ। सञ्चार क्षेत्रले आर्थिक सीमितताको सामना गरिरहँदा त्यसको असर छापा, रेडियो, टेलिभिजन र अनलाइन माध्यमहरूमा समेत परेको अध्ययनले देखाएको छ।

प्रतिवेदनलाई राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र फाउन्डेसनकी नेपाल प्रमुख मेगन नाल्बोले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

अध्ययनअनुसार नेपालले ४० पूर्णाङ्कमा २३ अंक प्राप्त गरेको छ। यो अंक सूचनाको गुणस्तर, सूचनाको प्रवाह, सूचनाको प्रयोग र सूचनाले ल्याउने रूपान्तरणकारी कार्य गरी चार सिद्धान्तमा आधारित औसत अंक हो।

द एसिया फाउन्डेसनका कार्यक्रम निर्देशक अजय दासले अध्ययनले नेपाली सञ्चार माध्यममा विभिन्नि किसिमका चुनौतीहरू क्रमशः थपिँदै गएको देखाएको बताए। उनले सञ्चारगृह र विषयवस्तुमा विविधीकरणसँगै समावेशिता हुन नसकेको पनि अध्ययन प्रतिवेदनमा देखिएको बताए।

त्यसैगरी सामाजिक सञ्जालको प्रभाव तथा त्यसमा आउने सूचनाले गलत सन्देश प्रवाह गर्ने गरेको पनि अध्ययन प्रतिवेदनले देखाएको उनले उल्लेख गरे।

अध्ययनका लागि विभिन्न सञ्चारमाध्यमका सम्पादकहरु, सञ्चार व्यवस्थापक, नागरिक समाज, संवाददाता, शिक्षक र अभियानकर्मीहरू समेटिएका ३० जनाभन्दा धेरै विज्ञहरूलाई संलग्न गराइएको थियो।

अध्ययन टोलीका मुख्य अनुसन्धानकर्ता उमेश पोखरेलले सहर र ग्रामीण क्षेत्रका मिडिया र उपभोक्तामा असमानता रहेको र सञ्चारमाध्यमले समेट्ने क्षेत्र एवं विषयमा समेत असमानता रहेको बताए।

उनका अनुसार अध्ययनले मिडियाको संरचना र उत्पादन हुने विषयवस्तु समावेशी नभएको, पत्रकार महिलामाथि सेवा सुविधामा नै भेदभाव रहेको, कोभिड १९ पछि पत्रकारहरूको श्रम अधिकारमा कटौती हुँदै गएको देखाएको छ।

कमजोर आर्थिक अवस्थाका कारण सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको र त्यसबाट कयौँ पत्रकारको रोजगारीसमेत गुमाएको अनुसन्धानकर्ता पोखरेलले बताए।

अध्ययनमा संलग्न विज्ञ सदस्यहरूलाई तोकिएका सूचकमा मूल्यांकनस्वरूप अंक दिन भनिएको थियो। जसमा शून्यदेखि १० अंकलाई ‘नन भाइब्रेन्ट’, ११ देखि २० को अंकलाई ‘स्लाइटली भाइब्रेन्ट’, २१ देखि ३० बीचको अंकलाई ‘समह्वाट  भाइब्रेन्ट र ३१ देखि ४० बीचको अंकलाई ‘हाइली भाइब्रेन्ट’ का रूपमा वर्गीकृत गरिएको थियो।

सूचनाको गुणस्तर, सूचनाको प्रवाह, प्रयोग र सूचना ल्याउने रुपान्तरणकारी कार्यको अधारमा अध्ययन गरिएको थियो। यो अध्ययनले मिडियाको वर्गीकरण, सामाजिक सञ्जालको प्रयोग र मिडिया तथा समाजिक सञ्जालबारे रहेको भ्रम निवारण गर्न सबै क्षेत्र मिलेर कम गर्न ढिलो गर्न नहुने सुझाव दिएको छ।

यस्तो अध्ययन नेपालसहित १९ देशमा भएको छ। यसअघि विभिन्न १८ मुलुकमा भएको अध्ययनसँग तुलना गर्दा नेपालको अवस्था सामान्य नै रहेको देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .