ad ad

समाज


दाङमा ११ महिनामा १९७ वटा सवारी दुर्घटना ९२ जनाको मृत्यु,

दाङमा ११ महिनामा १९७ वटा सवारी दुर्घटना ९२ जनाको मृत्यु,

फाइल फोटो


नेपालखबर
असार १७, २०८१ सोमबार १६:५२, काठमाडौँ

जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ। ट्राफिक नियम प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो।

स्थानीय रुटमा सञ्चालित सवारीसाधनले नियम अनुसार सबै यात्रुले देख्ने गरी सवारी भाडादर टाँस गर्नुपर्ने, फोहर व्यवस्थापनका लागि डस्टबिन (फोहर सङ्कलन गर्ने) राख्नुपर्ने र आरक्षण सिटको व्यवस्था गर्नुपर्ने भए पनि लागू हुन नसकेको गुनासो आएसँगै यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनलाई निगरानीमा राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश शाहीले बताए। ट्राफिक नियमसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइएको उनले जानकारी दिए।

बजार क्षेत्रमा अटो अस्तव्यस्तरुपमा सञ्चालन हुँदा सवारीसाधन तथा पैदलयात्रु आवागमनमा समस्या भएपछि अटोलाई तोकिएको स्थानमा व्यवस्थापन गर्न रुट निर्धारण गरी आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने प्रमुख प्रहरी उपरीक्षक शाहीको भनाइ छ।

‘पछिल्लो समय विभिन्न कारणले गर्दा सवारी दुर्घटनाबाट जनधनको ठूलो क्षति भएकाले सबै निकाय जिम्मेवार हुन आवश्यक छ’, उनले भने।

जिल्लामा सवारी दुर्घटना धेरै मात्रामा हुन थालेपछि न्यूनीकरणका लागि सक्रियता बढाउन थालिएको शाहीको भनाइ छ।

‘ट्राफिक व्यवस्थापन हाम्रो पहिलो प्राथमिकता हो, ट्राफिक व्यवस्थापन भयो भने हुनसक्ने सम्भावित दुर्घटना कम हुन्छ। त्यसैले हामीले ट्राफिक व्यवस्थापनका क्षेत्रमा निगरानी बढाउनुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ’, उनले भने, ‘समस्या समाधानका लागि सबैसँगको सहकार्यमा काम भइरहेको छ।’  

एघार महिनामा ९२ जनाको मृत्यु
चालु आर्थिक वर्षको सुरुदेखि जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार ९२ जनाको मृत्यु भएको छ। जेठमा छ, वैशाखमा १०, चैतमा १०, फागुनमा १२, माघमा आठ, पुसमा १८, मङ्सिरमा नौ, कात्तिकमा सात, असोजमा चार, भदौमा तीन र साउनमा पाँच जनाको मृत्यु भएको प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिए।

उनले भने, ‘७३ पुरुष, १३ महिला र छ जना बालकबालिकाको मृत्यु भएको छ। यस अवधिमा एक सय ९७ वटा सवारी दुर्घटना भएका छन्।’

बढ्दो सवारीसाधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्थालगायत कारणले दुर्घटना हुने गरेकोे प्रमुख प्रहरी उपरीक्षक शाहीले बताए। ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ छ।

एक करोड ५९ लाख राजस्व सङ्कलन
प्रहरीले सवारी जाँचलाई तीव्र बनाएसँगै राजस्व सङ्कलन पनि बढेको छ। एक महिनामा ट्राफिक प्रहरीले रु १९ लाख बढी राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जेठमा रु १९ लाख २० हजार पाँच सय राजस्व सङ्कलन भएको छ।

गत वैशाखमा रु १३ लाख २८ हजार पाँच सय, चैतमा रु १२ लाख २५ हजार पाँच सय, फागुनमा रु ११ लाख ७८ हजार, माघमा रु १३ लाख ५७ हजार पाँच सय, पुसमा रु १४ लाख एक हजार पाँच सय, मङ्सिरमा रु १५ लाख ८२ हजार, कात्तिकमा रु नौ लाख एक हजार, असोजमा रु १५ लाख ९८ हजार दुई रुपैया, भदौमा रु ११ लाख तीन हजार पाँच सय र साउनमा रु १५ लाख ८५ हजार दुई सय राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिए।

चालु आवमा सबैभन्दा धेरै गत जेठमा राजस्व सङ्कलन भएको छ। जेठमा एक हजार नौ सय तीन सवारीसाधन कारबाहीमा परेका प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षमा सबैभन्दा धेरै मोटरसाईकल र टेम्पु कारबाहीमा परेका शाहीले बताए।

वैशाखमा एक हजार पाँच सय २६, चैतमा एक हजार तीन सय ९५, फागुनमा एक हजार तीन सय ६५, माघमा एक हजार पाँच सय ३२, पुसमा एक हजार पाँच सय ७७, मङ्सिरमा एक हजार नौ सय ३८, कात्तिकमा एक हजार पाँच सय ६२, असोजमा दुई हजार तीन सय पाँच, भदौमा एक हजार पाँच सय ५८ र साउनमा दुई हजार एक सय ५५ सवारीसाधन कारबाहीमा परेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .