ad ad

समाज


राति देशैभर पानी पर्ने, पाँच प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना

राति देशैभर पानी पर्ने, पाँच प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार १६, २०८१ आइतबार १७:३९, काठमाडौँ

हाल (आइतबार साँझ) देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मुख्यतया सफा (लगभग आकाश सफा) छ।

यतिबेला कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशभर साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रहने छ। 

यस क्रममा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। 

मौसम महाशाखाले आगामी २४ घण्टा (आइतबार साँझ ६ बजेदेखि सोमबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ– देशभर थोरै स्थानमा भारी वर्षा तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। 

यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षा हुनुलाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्। 

यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशभरि जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .