ad ad

कला


अनि ‘बेहुली फ्रम मेघौली’मा लगानी गर्न तयार भइन् स्वस्तिमा

अनि ‘बेहुली फ्रम मेघौली’मा लगानी गर्न तयार भइन् स्वस्तिमा

लक्ष्मी बलायर
असोज १९, २०८१ शनिबार ८:३२, काठमाडौँ

डेढ वर्षअघिको कुरा हो, अभिनेत्री स्वस्तिमा खड्कालाई आकाश बराल र सजन काफ्लेले फिल्म खेल्न अफर गरे। यसअघि आकाशसँग ‘दिमाग खराब’ मा सहकार्य भइसकेको थियो। जसकारण आकाशले भेटेर स्वस्तिमालाई फिल्मको आइडिया सुनाए र स्क्रिप्ट पढ्न दिए।

स्क्रिप्ट पढ्दा कथाले निकै मन छोएछ। नौलो स्वाद अनि महिलाकेन्द्रित कथावस्तु। त्यसमाथि सामाजिक विषय अनि कमर्सियल भ्यालु पनि।

यति भएपछि के चाहियो र? स्वस्तिमाले लगानी गर्ने सोच बनाइन्। फिल्म ‘बेहुली फ्रम मेघौली’ को आइडिया मन परेर फिल्ममा जोडिएको सुनाउँछिन् उनी।

‘स्क्रिप्ट पढ्दा फिल्मको कथा नौलो लाग्यो। सायद फरक जनराको भएर पनि होला! किनभने थुप्रै सिनेमाको स्क्रिप्ट पढिरहेकी हुन्छु। तर, अरू सिनेमाभन्दा यसको विषयवस्तु निकै फरक लाग्यो,’ उनले भनिन्, ‘३० वर्ष पुग्न लागेकी केटीलाई बिहेको प्रेसर आएपछि कसरी ट्याकल गर्छिन्? कसरी समाधान हुन्छ भन्ने कुरा नै रोचक छ। स्क्रिप्ट पढ्दा नै मजा आएको थियो।’

महिलाकेन्द्रित र कमर्सियल भएकाले बढी चासो जागेको उनको भनाइ छ।

भन्छिन्, ‘नेपालमा महिलाकेन्द्रित फिल्म भन्नेबित्तिकै अलिकति डार्क सिनेमा भन्ने बुझिन्छ। अझ फिमेल लिड भएको चल्दैन भन्ने हुन्छ। किन चल्दैन भने त्यो आफैँमा चुनौतीपूर्ण सिनेमा हुन्छ। कमर्सियल सिनेमामा फिमेल लिड हुँदैन। चल्नको लागि एक किसिमको कमर्सियल हुन पनि जरुरी छ। यो फिमेल लिड हुँदाहुँदै पनि कमर्सियल भएकोले बढी चासो लाग्यो।’

फिल्म बेहुली फ्रम मेघौली निर्माण टोली

पहिलोपटक निर्मात्री बन्दाको अनुभव
‘होस्टेल रिटर्न्स’ बाट डेब्यु गरेकी स्वस्तिमाले ९ वर्षे करिअरमा एक दर्जनभन्दा बढी फिल्म खेलिसकेकी छिन्। जसमध्ये धेरै फिल्म बक्सअफिसमा सफल छन्। ‘बुलबुल’ को रणकला होस् वा ‘चिसो मान्छे’ को पुष्पा अथवा ‘दिमाग खराब’की सची। उनी हरेक पात्रबाट दर्शकको मनमा बलियो छाप छोड्न सफल छिन्।

तर, स्वस्तिमाका लागि ‘बेहुली फ्रम मेघौली’ को छायांकन अनुभव निकै फरक रह्यो। अरु फिल्मको सुटिङ हुँदा एक निश्चित समय तोकिएको थियो। सुटदेखि खाने र सुत्नेसम्म सबै रेडी हुन्थ्यो। तर, आफ्नो निर्माणमा फिल्म बनाउँदा जिम्मेवारी बढी हुने बताउँछिन् उनी।

‘आफैँले फिल्मलाई नेतृत्व गर्दा जिम्मेवारी बढी हुँदोरहेछ। किनकि मैले १२ वटा फिल्ममा काम गर्दा सबै कुरा रेडी गरेर राखिन्थ्यो। त्यतिबेला मन परेन भने गुनासो गर्थेँ होला मन पर्दा प्रशंसा गर्थेँ होला। तर, आफ्नो फिल्म भएपछि व्यवस्थापनमा बढी खटिनुपर्दो रहेछ,’ उनी सुनाउँछिन्।

फिल्म खेल्दा स्वस्तिमाले कहिले मिठा अनुभव भोगिन् त कहिले तिता। आफूले जेजे कुरामा कमी महसुस गरिन्, तिनै कुरा अरुलाई कमी हुन नदिएको उनको दाबी छ।

‘मैले जेजे कुरामा कमी महसुस गरेकी थिएँ, त्यो कुराहरू मैले निर्माता वा मेकरका हिसाबले फुलफिल गर्न सकूँ भन्ने थियो। यसमा निर्देशकसहित धेरै आर्टिस्ट नयाँ हुनुहुन्छ। उहाँहरूलाई राम्रो सिनेमा र टिमसँग काम गरेको फिल होस् भन्नेतर्फ ध्यान दिएँ। फिल्म वा म्यानेजमेन्ट मात्रै होइन, उद्योग नै राम्रो होस् भन्ने मेरो चाहना हो,’ स्वस्तिमा भन्छिन्।

उनले फिल्मको सुटिङअघि नै कसरी सहज हुन्छ भन्ने योजना बनाएकी थिइन्।

‘मैले चाहिँ सुरुदेखि नै के गर्दा राम्रो हुन्छ भनेर योजना बनाएँ। सबै डिपार्टमेन्टको एउटा राम्रो हेड राखेँ। यसरी हेड अफ डिपार्टमेन्ट छुट्याउँदा प्रेसर कम हुन्छ भन्नेमा म ढुक्क थिएँ। सबै डिपार्टमेन्टमा बेस्ट मान्छे खटाइसकेपछि खासै चुनौती भएन। रिलिजको चार दिनअघि नै काम गरिसकेका थियौँ। शंकर पाण्डे र फिरोज खड्काले पनि निकै सघाउनुभयो,’ उनको भनाइ छ।

हल भिजिटका क्रममा दर्शकसँग स्वस्तिमा

अभिनेत्रीका लागि धेरै विकल्प छैनन्
नेपालमा धेरै अभिनेत्रीहरू फिल्म निर्माणमा लागिसकेका छन्। जसमा रेखा थापा, झरना थापा, केकी अधिकारी, दीपाश्री निरौला पर्छन्। त्यसै सूचीमा थपिएकी छिन् स्वस्तिमा पनि।

स्वस्तिमाको अनुसार धेरैजसो फिल्महरू पुरुष कलाकाहरूलाई प्राथमिकतामा राखेर बन्ने गर्छन्। जसकारण उनीहरूको काम गर्ने समयको आयु पनि बढी हुन्छ। तर, महिला कलाकारको धेरै विकल्प हुँदैनन्। जसकारण पनि फिल्म प्रोडक्सनमा आइरहेको सुनाउँछिन् उनी।

‘प्रोडक्सनमा अभिनेत्रीहरू अगाडि हुनुहुन्छ। त्यो राम्रो पनि हो। हाम्रो विकल्प कम हुन्छन्। सायद त्यही भएर आफ्नो बाटो समात्न यसमा हात हाल्छौँ जस्तो लाग्छ,’ उनले भनिन्, ‘केटाहरूको धेरै विकल्प हुन्छन्। धेरै स्क्रिप्ट हुन्छन्। एक वर्षमा बनेका फिल्महरूमा ९९ प्रतिशत मेल लिडमै हुन्छन्। हामीलाई विकल्प कम हुन्छ। त्यही भएर मनपर्ने सिनेमा र गर्न मन लागेको पात्र आफैँ गर्छु भन्ने हुन्छ। फिमेललाई लिडमा राखेर फिल्म बनाउनु भनेको रिस्क हो भन्ने मान्यता छ।’

स्वस्तिमालाई फरकफरक काममा चुनौती सामना गर्न मन पर्छ। एकै काम गर्दा दिक्क लाग्ने हुँदा प्रोडक्सनमा आएको उनको भनाइ छ।

‘एउटा विन्दुमा पुगेपछि एउटै काम मोनोटोनस पनि हुँदै जान्छ। ९ वर्षजस्तो भइसक्यो। हरेक सिनेमामा फरक क्यारेक्टर गरिन्छ। तर, काम गर्ने तरिका र फेस गर्ने च्यालेन्ज एउटै भइसकेको हुन्छ। कुन ढाँचामा काम गर्दा राम्रो हुन्छ भन्ने पनि थाहा हुन्छ। व्यक्तिगत रुपमा मलाई नयाँ चुनौती फेस गरौँ भन्ने हुन्छ,’ स्वस्तिमाले भनिन्, ‘फरक गर्छु भन्ने भएपछि निर्माणमा हात हाल्न मन लागेको हो। भविष्यमा गर्छु भन्दा पनि नयाँनयाँ मेकर र निर्देशकको आइडियामा चाहिँ काम गरौँ भन्ने हुन्छ। नयाँनयाँ स्टोरीमा लगानी गर्न मन छ।’

बिहेको दबाबको कथा
स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’ बिहीबारबाट हलमा प्रदर्शन भइसकेको छ। पहिलो दिन उत्साहजक ओपनिङ गरेको यस फिल्मले दर्शकहरूको राम्रो साथ पाइरहेको छ।

यस फिल्ममा मेघौलीकै एकजना केटीको कथा छ। नेपाली समाजमा २५ वर्ष कटिसकेपछि बिहेको दबाब हुन्छ। ३० पुग्न लागेकी मीनाको परिवारलाई पनि जतिसक्दो चाडो छोरीको बिहे गरिदिने हतारो छ। त्यससँग जुध्न उसले गर्नुपरेको संघर्ष फिल्मभित्र छ।

हल भिजिटका क्रममा दर्शकसँग स्वस्तिमा

‘उमेर बढ्दै जाँदा आफूले भन्दा पनि समाज र परिवारबाट बिहेको दबाब आउँछ। परिवारले पनि थुप्रै समस्या फेस गर्छन्। यो कुरा मीनाले चित्रण गरेको छ। ऊ आफैँ पनि ट्रमामा हुन्छ। बाउ र छोरीको सम्बन्धको कथा छ,’ फिल्मको कथाबारे स्वस्तिमाले सुनाइन्।

मीनाको भन्दा स्वस्तिमाको रियल लाइफ ठ्याक्कै उल्टो छ। स्वस्तिमाले २० वर्षमै निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसिन्।

स्वस्तिमाले आफूलाई मीना पात्रमा कसरी ढालिन् त?

उनले भनिन्, ‘मानवीय भावना नै हो। म २९ वर्ष भएँ। मेरो साथीभाइ पनि २९ र ३० वरिपरिकै हुनुहुन्छ। अविवाहित साथीहरूले दबाब फिल गर्नुहुन्छ। जुन मैले नजिकबाट देखिरहेकी हुन्छु। जसले बिहे गर्नुपर्छ, जीवनसाथी चाहिन्छ भनेर सोचेर भन्दा समाजको दबाबले गर्दा अब त गर्नैपर्छ कि भनेर प्रश्न गर्नुहुन्छ। जुन कुरालाई मैले रिलेट गरेँ।’

फिल्ममा उनका श्रीमान् निश्चल बस्नेत पनि मुख्य भूमिकामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .