ad ad

समाज


सीआईबी अपरेसन : तोडियो लाजिम्पाट नेक्सस, २८३१ किलो सुन तस्करीमा यसरी जोडिए पेवेल र सजिलो पे

४६ प्रतिवादीविरुद्ध २ खर्ब ६६ अर्बको बिगो
सीआईबी अपरेसन : तोडियो लाजिम्पाट नेक्सस, २८३१ किलो सुन तस्करीमा यसरी जोडिए पेवेल र सजिलो पे

उजिर कार्की
असार १८, २०८१ मंगलबार १२:४०, काठमाडौँ

डिजिटल भुक्तानी कम्पनी पेवेल नेपाल र सजिलो पे पेमेन्ट सर्भिसले राष्ट्र बैंकलाई समेत झुटो रिपोर्ट दिएर सुन तस्करीको भुक्तानी गरेको खुलेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यी दुई कम्पनीविरुद्ध पनि ठूलो रकम बिगो माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको छ। सोही प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलबार मुद्दा दायर गर्दै छ।

पेवेल नेपालविरुद्ध ६१ अर्ब ५० करोड २७ लाख ९ हजार २३३ रुपैयाँ बिगो माग गर्न सीआईबीको राय छ। सजिलो पेविरुद्ध १९ अर्ब ४६ करोड २५ लाख ७२ हजार ७८५ रुपैयाँ बिगो कायम गर्नुपर्ने सिफारिस सीआईबीले गरेको छ।

यी कम्पनीका ६ जना कर्मचारी र २ एजेन्टलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरेको थियो। प्रतिवादीबाट ५ अर्ब १८ करोड १५ लाख ९१ हजार ९६४ रुपैयाँ ७६ पैसा बिगो भराउनुपर्ने सीआईबीको राय छ। 

यो तीनवटै गरी नेपाल राष्ट्र बैंक ऐनतर्फ ८६ अर्ब १४ करोड ६८ लाख ७४ हजार ९८२ रुपैयाँ ७६ पैसा बिगो कायम गरिएको छ। 

दुवै कम्पनीमाथि अनुसन्धान गर्न सीआईबीले राष्ट्र बैंकसँग पनि अनुमति लिएको थियो। सीआईबीका प्रवक्ता एसपी होबीन्द्र बोगटीका अनुसार, राष्ट्र बैंक आफैंले अनुसन्धान गर्दा पनि यी दुई कम्पनीले झुटो विवरण पेश गरेको भेटिएपछि सीआईबीलाई थप अनुसन्धानका लागि स्वीकृति दिएको थियो।

२०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्मको पेवेलको कारोबार सीआईबीले अनुसन्धान गरेको थियो। यस अवधिमा पेवेलको वालेटमा ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ रुपैयाँ बराबरको क्रेडिट (जम्मा) भएको देखिएको छ। सबैभन्दा बढी ६१ अर्ब ५० करोड भौचर डिपोजिट गरेको पाइएको छ। 

सजिलो पेको वालेटमा २०७८ जेठ २ गतेदेखि २०८१ जेठ २१ गतेसम्म ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४६ रुपैयाँ बराबरको ‘ई–मनी’ लोड भएकोमा सबैभन्दा बढी १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ बराबरको भौचर अपलोड गरी क्यास इन गरेको देखिएको छ। 

यस्तै अवैध सुन कारोबारबाट प्राप्त तथा स्रोत नखुलेको रकम पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजको खातामा निक्षेप रकमान्तर, स्थानान्तरण, भुक्तानी र फर्स्योट भएको रकमको बिलसमेत सीआईबीले फेला पारेको छ। यस्तो बिल एक अर्ब रुपैयाँभन्दा बढीको रहेको सीआईबीको दाबी छ। 

उनीहरूले राष्ट्र बैंकको स्वीकृति नलिई एजेन्टमार्फत नगद कारोबार गरेको पाइएको छ। पेवेल नेपाल प्रालिमा डिपोजिट गरेको बैंक भौचर नै भुक्तानीको उपकरणको रुपमा प्रयोग गरेका प्रमाण भेटिएका छन्।

सेटलमेन्ट खातामा रहेकोभन्दा अधिक रकम ई–मनी जारी गरेको पनि देखिएको छ। रकम मौज्दातबिना ई–मनी जारी गरेको र राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा दैनिक र मासिक रुपमा पेस गर्नुपर्ने विवरणमा गलत तथ्यांक पेस गरेको तथा विवरण पनि लुकाएको प्रहरीको निष्कर्ष छ।

यी कम्पनीको स्थापनाकालदेखि हालसम्म १ खर्ब २३ अर्बको कारोबार रहेकोमा भौचर डिपोजिट गरी ९६ अर्ब बराबरको कारोबार गरेको पाइएको छ। 

यी कम्पनीले अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स्, कोरियालगायत देशबाट रेमिट्यान्सस्वरूप पठाएको रकम वैध प्रक्रियाबाट नेपाल नल्याई उक्त रकम विदेशबाट नै अन्यत्र स्थानान्तरण गरी अवैध सुन कारोबारबाट प्राप्त भएको रकम नेपालमा रेमिट्यान्स गर्ने व्यक्तिहरूको विभिन्न बैंक खातामा निक्षेप गर्ने गरेको पनि पाइएको छ। यस्तै क्रिप्टोकरेन्सीको कारोबारमा यी कम्पनी माध्यम बनेको पाइएको छ।  

पेवेलका सञ्चालक समिति अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल आचार्य, लेखा प्रमुख सुरज शम्शेर जबरा, सजिलो पे पेमेन्टका सञ्चालक फुनसुक डाग्पा अथुपछाङ खम्पा र सुशील जाकिबंजा, प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर पक्राउ परेका छन्। 

यस्तै उनीहरुका एजेन्ट लालबहादुर कुँवर र अरुणकुमार यादवलाई पनि सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको छ। उनीहरुलाई पनि यो मुद्दामा प्रतिवादी बनाउने तयारी गरिएको छ। 

लाजिम्पाट ग्रुपको पनि नेक्सस तोडियो 
२०८० साउन २ गते अवैध सुन ६० किलो ७१६ ग्राम राजस्व अनुसन्धान विभागले बरामद गरेपछि नेपालमा सबैभन्दा धेरै सुन तस्करीको अनुसन्धान सुरु भएको थियो। ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिणाम ३६२ किलो ७७८ ग्राम भएको निष्कर्षसहित पहिलो चरणको अनुसन्धानबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गर्दै २०८० भदौ ३१ गते मुद्दा दायर गरिएको थियो। 

तर दोस्रो चरणको अनुसन्धानमा भने ब्रेक सुमा भन्दा बढी सुन अन्य उपकरणमा ल्याइएको निष्कर्ष सीआईबीले निकालेको छ। अन्य इलेक्ट्रोनिक सामानमा २८३१.८९ किलो सुन तस्करी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। 

यस्तै पहिलो चरणमा खुलाउन नसकेका कतिपय व्यक्तिको पहिचान दोस्रो चरणको अनुसन्धानमा खुलाएको सीआईबीले उनीहरुलाई पनि प्रतिवादी बनाएको दाबी छ। सीआईबीले ४६ जनालाई प्रतिवादी बनाउन राय दिएकोमा २६ जना भने अझै फरार छन्। 

यसअघि पहिचान खुलाउन नसकेका सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धीरज दिनेश भोइटे र प्रशान्त गणेश बजबलकरलाई पक्राउ गरेको छ। उनीहरु तीनै जना भारतीय नागरिक हुन्। अन्य ५ जना प्रतिवादीविरुद्ध डिफ्युजन नोटिस जारी गराएको पनि सीआईबीले जनाएको छ।  

पहिलो चरणको अनुसन्धानमा दुईवटा समूह रहेको निष्कर्षसहित टोखामा गोदाम चलाउने समूहको अनुसन्धान टुंग्याएको तर लाजिम्पाटको समूहको अनुसन्धान बाँकी रहेको भनिएको थियो। अहिले लाजिम्पाट समूहको पनि अनुसन्धान टुंग्याएको सीआईबीको दाबी छ। 

पर्साका ५३ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भक्तपुर सूर्यविनायकका ३९ वर्षीय राजु खत्री, काठमाडौंको विशाल बजारमा शक्ति क्रिएसन सञ्चालन गर्ने ६१ वर्षीय भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयल, धादिङका ५२ वर्षीय प्रेमनाथ सेढाई, काभ्रेका ४४ वर्षीय थर्कमान भन्ने कान्छा लामा पक्राउ परेका छन्। 

यस्तै चीनको सिचुवान प्रदेश घर भई काठमाडौंको बौद्धमा कुङ्गा रेस्टुराँ सञ्चालन गर्ने ४१ वर्षीय राजु भोटे भन्ने जेङगा झाछी, यस्तै तिब्बती नागरिक भारतमा शरणार्थी भई बसेका ३६ वर्षीय सोनाम गुरुङ भन्ने सेराब ग्याल्मो, चितवनको भरतपुरमा मुक्तिनाथ सुनचाँदी पसल सञ्चालन गर्ने ४३ वर्षीय मनोजराज गुरुङ र काभ्रेका २२ वर्षीय रुपक भण्डारीलाई पनि सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ गरेर मुद्दा अघि बढाइएको छ।

यो मुद्दामा ४६ प्रतिवादीविरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ। भन्सार ऐन, क्रिप्टो करेन्सी र नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा चलाउन सीआईबीको राय छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .