ad ad

समाज


अवकाशको २४ घण्टा अघिसम्म पनि भएन पोखरेललाई एआईजी बनाउने निर्णय

अवकाशको २४ घण्टा अघिसम्म पनि भएन पोखरेललाई एआईजी बनाउने निर्णय

नेपालखबर
असार १९, २०८१ बुधबार २३:१७, काठमाडौँ

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा सिफारिस भएका डीआईजी पोषराज पोखरेल अवकाश हुन एक दिन मात्रै बाँकी छ। उनी बिहीबार राति १२ बजेपछि उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन्।

सिफारिस भइसकेपछि उनी एआईजीको फुली लगाएर घर जाने कि डीआईजीबाटै बिदा हुने भन्ने अनिश्चित बनेको छ। सरकार आफैँ संकटमा परेपछि पोखरेललाई एआईजीमा बढुवा पनि अनिश्चित बनेको हो। 

बिहीबार मन्त्रिपरिषद बैठक बसेर बढुवाको निर्णय भए पोखरेल भोलि नै दर्ज्यानी चिन्ह लगाएर बिदाइ हुनेछन्। नभए डीआईजीबाटै अवकाश हुनेछन्। गृहमन्त्री रवि लामिछानेकै दबाबमा उनलाई एआईजीमा सिफारिस गरिएकाले बिहीबार बढुवाको निर्णय हुन सक्ने झिनो सम्भावना भने बाँकी छ।

एआईजी पद रिक्त नहुँदै पोखरेललाई असार १० गते एआईजीमा बढुवा गर्न सिफारिस गरिएको थियो। एआईजी उमेशराज जोशीले उमेर हदका कारण मंगलबार अवकाश पाएका थिए।

गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले हाल ट्राफिक महाशाखा प्रमुख रहेका पोखरेललाई सिफारिस गरेको हो। बढुवा समितिकै एक सदस्यले बुधबार बेलुका नेपालखबरसँग भने, ‘सरकार आफैं यस्तो शंकटमा छ। अब एउटा एआईजीका लागि के बैठक बस्ला र ? निर्णय भएन भने यत्तिकै अवकाश हुनु पर्‍यो नि।’

बढुवा सिफारिस भएका पोखरेल आईजीपी कुँवरकै ब्याची हुन्। 

पोखरेल डीआईजीमा बढुवा हुँदा आईजीपी कुँवरसहित १७ जनासँगै २०७९ असारमा बढुवा भएका थिए। उनीसँगै डीआईजीमा बढुवा भएका कुँवर आईजीपी बने भने, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सुदीप गिरी, टेकप्रसाद तामाङ एआईजी छन्।

अशोक सिंहले जन्ममिति विवादमा राजीनामा दिए भने मीरा चौधरी र सन्दीप भण्डारी एआईजीबाट अवकाश भइसकेका छन्। रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजीमै कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .