ad ad

समाज


वीर अस्पताल हाँकेकी ती पहिलो महिला डाक्टर

वीर अस्पताल हाँकेकी ती पहिलो महिला डाक्टर

डा राजाबाई राणा। तस्बिर सौजन्यः कुवेर श्रेष्ठ


नेपालखबर
साउन १२, २०८१ शनिबार ८:४१, काठमाडौँ

नेपालकै जेठो अस्पताल मानिने वीर अस्पताल आजबाट १ सय ३५ वर्ष लागेको छ। राणा प्रधानमन्त्री वीर शमशेरका पालामा विसं १९४७ साउन १२ गते स्थापित यो अस्पतालको सुरुवाती उद्देश्य नै विपन्न र आमनागरिकलाई निःशुल्क उपचार गर्ने थियो।

सुरुमा महिला र पुरुषका लागि फरकफरक अस्पताल बनाइएका थिए। अहिलेको वीर अस्पतालको मूल भवनको उत्तरतर्फ मर्दाना (पुरुष) र दक्षिणतर्फ जनाना (महिला) वीर अस्पताल थिए।

स्थापनाको लामो समयसम्म जनाना र मर्दाना दुवै अस्पतालमा पुरुष चिकित्सकले नै सेवा दिएका थिए। विसं २००९ सालतिर (सन् १९५२) त्यहाँ एक महिला चिकित्सकको आगमन भयो। उनी थिइन्, डा राजाबाई राणा।

डा राणा भारत मध्य प्रदेशको इन्दोर भन्ने ठाउँमा सन् १९०९ जुन ७ मा जन्मेकी थिइन्। चौहान परिवारमा जन्मिएकी उनी कर्णेल खड्गनरसिंह राणासँग विवाह गरेर नेपाल आएकी हुन्।

उनको विवाह भने गोरखपुरमा ३१ वर्षको उमेर (सन् १९४०) मा भएको थियो। पछि उनको बसोवास नेपालकै ठमेलको पकनाजोलस्थित नरसिंह क्याम्पमा भयो।  

उनले विद्यालय शिक्षा इन्दोरमै पाइन्। त्यहीँ आईएस्सीसम्म पढिन्। स्नातक भने लेडी हाडेन्ज मेडिकल कलेजमा गरिन्। पञ्जाव विश्वविद्यालयअन्तर्गतको दिल्लीस्थित यो कलेज तत्कालीन समयमा निकै प्रख्यात थियो। त्यहाँ ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी गर्दा उनको रोल नं ६ र रजिस्ट्रेसन नं जेड-सी-२ थियो। उनले यो डिग्री सन् १९३५ मा पूरा गरेको देखिन्छ।

चिकित्सा विज्ञानमा स्नातक गरिसकेपछि उनले केही समय उत्तर प्रदेशको लखनउस्थित किङ जर्ज हस्पिटलको रेजिडेन्ट मेडिकल अफिसरका रूपमा काम गरिन्। नेपाल आएपछि वीर जनाना अस्पतालमा आबद्ध भइन्। उनी बाँचुन्जेल वीर अस्पतालमै रहिन्।

त्यहाँ उनको सुरुदेखिकै पद मेडिकल सुपरिटेन्डेन्ट रह्यो।

डा राणाले त्यहाँ आकस्मिक सेवा, सामान्य चिकित्सा, शल्यचिकित्सादेखि भर्ना भएका अरू जोसुकै बिरामीको उपचार र अनुगमन गर्नुपर्थ्यो। त्यतिखेर सघन उपचार कक्ष (आईसीयू) को व्यवस्थापन भने भइसकेको थिएन।

त्यसबेला चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी पनि धेरै थिएनन्। उनका मातहत डा फतेहबहादुर मल्ल, डा लक्ष्मणनारायण प्रसाद, कम्पाउन्डर नारायणप्रसाद चित्रकारका साथै सिस्टरहरू विद्यावती, राधादेवी, धनलक्ष्मीलगायत थिए।

डा राजाबाई राणाले जनाना अस्पतालको नेतृत्व गरिरहँदा मर्दानाका सुपरिटेन्डेन्ट डा मजुमदार थिए। त्यहाँ स–साना शल्यक्रियाका काम पनि आफैँ गर्नुपर्थ्यो।

प्रसूतिगृह स्थापना भएपछि उनले त्यहाँ विसं २०१६ (सन् १९५९) बाट भिजिटिङ डाक्टरको रूपमा पनि सेवा दिन पुग्थिन्।

उनले छोरी डा ज्योति राणासँग बताएअनुसार, वीर अस्पतालमा तत्कालीन समयमा उच्च र मध्यमवर्गीयहरू हत्पत्ति आउँदैनथे। यो अस्पताल नै गरीबका लागि हो भन्ने बुझाइ थियो। त्यसैले राणा र शाह परिवारमा केही पर्दा घरैमा गएर उपचार सेवा दिनुपर्थ्यो। त्यस क्रममा उनी धेरैपटक शाही परिवारको सेवामा राजदरबार पनि पुगेकी थिइन्।

त्यस समयमा एक त मानिसहरू अस्पताल जान लाज मान्थे। अर्को, अस्पतालमा सरसफाइ पनि राम्रो हुन्थेन। त्यसैले पनि हुनेखानेहरू घरैमा डाक्टर बोलाएर उपचार गराउन रूचाउँथे।

राणा परिवारकी सदस्य भएकाले उनलाई अस्पतालमा रानीसाहेब भनेर सम्बोधन गरिन्थ्यो। डा गौरीशंकर लाल दासले बताएअनुसार, विसं २००९ सालतिर वीर अस्पतालको रेजिडेन्ट मेडिकल अफिसरको मासिक तलब १ सय ८० रुपियाँ थियो। त्यसबाहेक २० रुपियाँ भत्ता दिइन्थ्यो । मेडिकल सुपरिटेन्डेन्टको केही बढी थियो होला। डा दासले २००९ सालमै वीर अस्पतालमा सेवा सुरू गरेका थिए। 

त्यस समयमा दुई–तीन रुपियाँ शुल्क दियो भने डाक्टर घरमै गएर जाँचपड्ताल र औषधिमूलो गरिदिन्थे। त्यतिबेला ट्याब्लेट औषधिको त्यति चलन थिएन। प्रायः औषधि झोल र धुलो हुन्थ्यो। बिरामीहरू बढीजसो पेट पोल्यो र दुख्यो भनेर अस्पताल आउँथे। कतिपय बिरामी औषधिका लागि सिसी नै बोकेर पुगेका हुन्थे।

डा राजाबाई राणाकी छोरी डा ज्योति (दायाँ) र नातिनी डा शताक्षी।

डा राजाबाई राणाबाट चार सन्तान भए, कृष्ण राणा, ज्योति राणा, गीता राणा र रञ्जित राणा। तीमध्ये ज्योतिले मात्र उनको पदचाप पछ्याइन् र चिकित्सा सेवामै आफूलाई समर्पण गरिन्। डा ज्योतिको पनि दुई वर्षअघि निधन भइसकेको छ। २०७७ पुस १८ गते ७८ वर्षको उमेरमा काठमाडौँमा उनको निधन भएको श्रीमान् कवेर श्रेष्ठले जानकारी दिए। श्रेष्ठ नेपाली सेनाका अवकाशप्राप्त मेजर हुन्।

डा ज्योतिले नेपाल सरकार स्वास्थ्य मन्त्रालयमातहत जिरी अस्पताल, पोखरा अञ्चल अस्पताल, लुम्बिनी अञ्चल अस्पताल र परोपकार प्रसूति गृह अस्पतालमा रही जीवनको महत्त्वपूर्ण समय सेवामा अर्पित गरेकी थिइन्।

तिनै ज्योतिकी छोरी अर्थात् नेपालकी पहिलो महिला डाक्टरकी नातिनी शताक्षी श्रेष्ठ अहिले चिकित्सा सेवामा छिन्। हजुरआमाको पेसालाई तेस्रो पुस्ताका रूपमा आफूले निरन्तरता दिन पाएकामा गर्वको अनुभूति हुने डा शताक्षी बताउँछिन्।

डा राजाबाई राणा आफ्नो पेसागत कामबाहेक खाना पकाउन, बागबगैँचा सिंगार्न, भ्रमण गर्न, गाडी चलाउन र घोडा चढ्न रमाउँथिन्।

वीर अस्पतालमा उनले करिब १२ वर्ष सेवा दिइन्। सन् १९६४ मा ५५ वर्षको उमेरमै उनको निधन भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .