ad ad

समाज


समुद्री तटमा भेटियो २१ दिनदेखि अस्ट्रेलियामा हराएका पाँचखालका सुभाषको शव

समुद्री तटमा भेटियो २१ दिनदेखि अस्ट्रेलियामा हराएका पाँचखालका सुभाषको शव

नेपालखबर
भदौ १, २०८१ शनिबार २२:०, काठमाडौँ

अध्ययनका सिलसिलामा नौ महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका पाँचखाल नगरपालिका–७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन्। विगत २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाषको शव फेला परेको पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय तामाङले नेपालखबरलाई जानकारी दिए। 

उनका अनुसार, शनिबार बिहान १२ बजेतिर शव भेटिएको खबर नगरपालिकामा आएको हो। 

‘आज (शनिबार) बिहान उनको शव समुद्रको तटमा भेटिएको त्यहाँस्थित प्रहरीले हामीलाई जानकारी पठाएको छ,’ तामाङले नेपालखबरसँग भने। 

उनका अनुसार, भोलि (आइतबार) बाटै सुभाषको शव नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनेछ।

अध्ययनका लागि अस्ट्रेलिया गएका सुभाष परिवारका कान्छा छोरा हुन्। उनी सुरुमा साथीहरूसँग बस्थे। 

परिवारले दिएको जानकारी अनुसार, पछिल्लो दुई महिनादेखि सुभाष एक्लै बस्दै आएका थिए।

उनको मृत्युको कारणबारे अहिलेसम्म कुनै जानकारी नआएको र आवश्यक अनुसन्धान भइरहेको तामाङले बताए।

उच्च शिक्षा अध्ययनका लागि गएका सुभाष हराएपछि खोजीका लागि परिवार स्थानीय सरकार हुँदै दूतावाससम्म पुगेको थियो। 

पाँचखाल नगरपालिकाका मेयर महेश खरेलसहित परिवारका सदस्यले नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कसँग भेटेर खोजी गरिदिन आग्रह गरेका थिए।

सिड्नीस्थित प्रहरीले आफ्नो वेबसाइटमा सुभाष हराएकोबारे हुलियासहित जानकारी गराउँदै देख्ने–भेट्नेले खबर गर्न आग्रह गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .