ad ad

समाज


प्रकाशलाई बिदा गर्दै साहु लामाले भने– आफ्नै घर सम्झेर आउँदै गर्नु है!

प्रकाशको जवाफ– बाउ छोरा जस्तै बनेर बसियो, खुसी छु
प्रकाशलाई बिदा गर्दै साहु लामाले भने– आफ्नै घर सम्झेर आउँदै गर्नु है!

नेपालखबर
भदौ १३, २०८१ बिहिबार २१:११, काठमाडौँ

तीन दशकभन्दा बढी गोरखाको हिमाली भेग चुमनब्री गाउँपालिकास्थित चुमभ्यालीमा बिताएर बिहीबार (भदौ १३) प्रकाश तामाङ (काले मोक्तान) भोजपुरका लागि बाटो लागे। 

आफ्नै परिवार र घर ठेगाना नै भुलिसकेका प्रकाशलाई हेर्ने कथा टिमले गतवर्ष घरसम्मको बाटो देखाइदिएको थियो। तर, त्यतिबेला उनी चुमभ्याली नै फर्किए। 

एक वर्षपछि भिडिओ कथा प्रशारण भएपछि भने सिंगो देशकै ध्यान खिचे प्रकाशले। उनको कथा सार्वजनिक भएको ५ दिनमै बिहीबार दिउँसो उनी सिंहदरबारका लागि चुमभ्यालीबाट निस्किएका छन्। 

बिदा हुँदै प्रकाशले आफू प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जान लागेको बताएका छन्। चुमनुब्री गाउँपालिका–७ का अध्यक्ष टसी दोर्जे लामाका अनुसार उनी भोलि बेलुकीसम्म काठमाडौँ पुग्नेछन्। 

उनलाई चुमभ्यालीबाट बिदा गर्ने बेलामा उनका साथीभाइहरू भेला भएका थिए। स्थानीय जनप्रतिनिधिहरु पनि पुगेका थिए। 

साहु टसी लामासहितले प्रकाशलाई चुमभ्यालीबाट हार्दिकतासहित बिदाइ गरेका छन्। 

काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई भेटेर भोजपुर जाने योजना प्रकाशले बनाएका छन्। प्रधानमन्त्री ओली पनि प्रकाशको प्रतिक्षामा छन्। 

भिडिओ कथा हेरेपछि ओलीले गृहसचिवमार्फत नागरिकता बनाउने प्रक्रिया पनि अघि बढाएका थिए।

बिहीबार चुमभ्यालीबाट प्रकाश बिदाइ हुँदै गर्दैगर्दा खादामालासहितका तस्बिर र भिडिओ भाइरल बनिरहेको छ। 

प्रकाशलाई तीन दशक बढी आफ्नै घरमा राखेका साहु लामाले पनि उनलाई खादामालासहित बिदाइ गरे। वडाध्यक्ष तामाङका अनुसार, साहुले प्रकाशको खाता खोलेपछि १० लाख पठाउने प्रतिबद्धता गरेका छन्। 

उनले प्रकाशलाई बिदाइ गर्दै खुसी पनि साटे। 

‘टोटल घर दुईवटा छ। त्यसैमा बसेको भए पनि दिन्थेँ। उहाँले बस्न मन नलगाएपछि केही छैन,’ प्रकाशका साहु लामाले भने, ‘आ–आफ्नो इच्छा हो। यति समयसम्म साथ दियो, धेरै धेरै धन्यवाद। उहाँको राम्रो भएको सुन्न पाउँ। त्यही नै मेरो खुसी हो।’

प्रकाशलाई उनले आफ्नै घर सम्झिएर फेरि फेरि आउन आग्रह गरेका छन्। 

उनले भने, ‘फेरि फेरि भेट्न आउनु न। भेट्न आउन सकिन्छ, आफ्नै घर हो।’

    जवाफमा प्रकाशले पनि साहुलाई उस्तै भावुक जवाफ दिए। उनले आफू बाउछोराजस्तै बनेर बसेको भन्दै अहिलेसम्मको सहकार्यले खुसी लागेको बताएका छन्।

    ‘बाउ छोरा जस्तो बनेर बसेको हो है। एकदम राम्रो भयो। खुसी लागिरहेको छ,’ उनले भनेका छन्।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .