ad ad

समाज


काठमाडौँ जोड्ने मुख्य राजमार्ग ३० घण्टादेखि अवरुद्ध, सञ्चालन अझै अनिश्चित

काठमाडौँ जोड्ने मुख्य राजमार्ग ३० घण्टादेखि अवरुद्ध, सञ्चालन अझै अनिश्चित

नेपालखबर
असोज १२, २०८१ शनिबार १९:३, मलेखु (धादिङ)

पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुंगा सडक बिहीवार साँझदेखि अविरल वर्षाका कारण अवरुद्ध छ। निरन्तरको वर्षा, पहिरो र लेदो माटोले राजमार्गको नौबिसे मुग्लिन खण्ड झण्डै ३० घण्टादेखि अवरुद्ध छ।

पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान पनि राजमार्गमै थुप्रिएको छ।

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने खत्रीपौवामा आज बिहानै पहिरोमा पुरिएको तीनवटा सवारीसाधन अझै निकाल्न सकिएको छैन। पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

‘पानी निरन्तर परिरहेको छ, पहिरो खस्नेक्रम पनि रोकिएको छैन,’ उनले भने, ‘दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ। पहिरोमा पुरिएका गाडीको स्वरुप मात्रै देखिएको छ। सवारीमा मानवीय क्षति भए नभएसमेतको यकिन गर्न सकिएको छैन। पूर्ण रूपले पानी नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना निकै कम छ।’

वर्षात र पहिराले बिजुली र इन्टरनेटको टावरमा क्षति पुगेकोले टेलिफोन र प्रहरीको सेटसमेतले काम नगर्दा रिपोर्टिङमा प्रहरीलाई नै समस्या परेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए। 

नौबिसे नागढुंगा खण्डको खत्रीपौवाबाहेक पृथ्वी राजमार्गअन्तर्गत सोही खण्डका ठाउँठाउँमा पहिरो झरेको छ। थाक्रे गाउँपालिकाको ७ किलो, खयरघारी र बेनिघाट गाउँपालिका–३ सलाङ्घाटार सबैभन्दा ठूलो पहिरो छ।

गल्छी र गजुरीको माथिल्लो क्षेत्र र बेनिघाटको जोगिमारा क्षेत्रमा स–साना धेरै पहिरा गएका छन्। शनिबार अपरान्हदेखि वर्षा केही कम भए पनि ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्ग सञ्चालन गराउन कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए। 

पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडकखण्ड भने एकतर्फी खुलेको छ। यहाँ १७ किलोमिटर दुरीमा ६ स्थानमा पहिरो गएको थियो। अहिले सबै स्थानबाट एकतर्फी सवारी चल्नेगरी पहिरो पन्छाइएको छ।  

नीलकण्ठ नगरपालिका–८ र सिद्दलेक गाउँपालिका–१ को ठाउँठाउँमा पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गमा दैनिक १३ हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्यांक छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .