ad ad

समाज


सप्तकोसीमा पानीको बहाव ६ लाख ६१ हजार क्युसेक नाघ्यो

अत्यन्तै उच्च खतरामा कोसी ब्यारेज, अन्य नदीमा पानीको बहाव कस्तो छ?
सप्तकोसीमा पानीको बहाव ६ लाख ६१ हजार क्युसेक नाघ्यो

फाइल तस्बिर


नेपालखबर
असोज १३, २०८१ आइतबार ८:१५, काठमाडौँ

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च मापन भएको छ। 

पछिल्लो मापनअनुसार सप्तकोसी नदीमा अहिले प्रतिसेकेन्ड ६ लाख ६१ हजार पाँच क्युसेक  रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। 

आज बिहान ३ बजेको मापनअनुसार कोसी ब्यारेज भएर सप्तकोसीमा प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक पानी बहेको थियो।

सप्तकोसीमा पानीको बहाव बढ्ने क्रममा रहेकाले उच्च सतर्कता अपनाइएको व्यारेज प्रशासनले जनाएको छ। 

यसअघि कोसी ब्यारेज भएर अहिलेसम्मकै सबैभन्दा बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो। शनिबार बेलुका १०ः२५ बजे सप्तकोसीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक थियो। कोसीमा पानीको बहाव निरन्तर बढिरहेको छ। 

शनिबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो। पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका सबै अर्थात् ५६ वटै ढोका खोलिएका छन्। 

सप्तकोसी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ। 

लगातार पानीको बहाव बढ्दै गएपछि कोसी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई नदीको बहाव सतर्कता तह भन्दा तल र घट्ने क्रममा रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .