हाल (शुक्रबार साँझ) कोसी प्रदेश र मधेस प्रदेश तथा बागमती प्रदेशको पूर्वी क्षेत्रमा साधारण बदली, बाँकी पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
अनि कोसी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवाृनुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज राति (भन्नाले शनिबार बिहान ६ बजेसम्म) कोसी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस क्रममा कोसी प्रदेशका केही स्थान, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै कोसी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ।
यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।
यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।
काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
यसैबीच बागमती प्रदेशको काठमाडौँ उपत्यकामा पनि आज राति वर्षाको सम्भावना छ।
मौसम महाशाखाका अनुसार राति उपत्यकामा मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।
महाशाखाले आज राति उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत देखाएको छ।
हेर्नुहोस् काठमाडौँमा राति पानी पर्ने सम्भावनाबारे महाशाखाको आकलन-
Shares
प्रतिक्रिया