ad ad

समाज


७५ किलोमिटर लामो सडक सञ्जालमा जोडिए मुस्ताङ र डोल्पा

७५ किलोमिटर लामो सडक सञ्जालमा जोडिए मुस्ताङ र डोल्पा

नेपालखबर
असोज २१, २०८१ सोमबार ७:८, म्याग्दी

गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ। 

संघीय सरकारको मनाङ-मुस्ताङ-डोल्पा-जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए।

‘जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ’, उनले भने, ‘गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो। यो सडकमा नियमित र सहज यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ।’

अध्यक्ष गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुकसाम्बामा बेलीब्रिज बनाउन चालु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए। उनले थप तीनवटा बेलिब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन संघीय सरकारलाई प्रस्ताव गरेको बताए।

सरकारले गण्डकी प्रदेशको मनाङ(मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा(मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५र७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको काम अघि बढाएको थियो। २२ करोडको लगानीमा पाक्लिङबाट ५६‍।५ किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो। डोल्पा जोड्ने सडकको प्रवेशविन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत १२० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्रा तीन घण्टामा छोटिएको बताए।

‘हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्’, उनले भने, ‘छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चौरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन्।’ डोल्पा र राजधानी काठमाडौं जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .