ad ad

कला


बेहुली फ्रम मेघौली : गम्भीर विषयमाथि सतही कथा

बेहुली फ्रम मेघौली : गम्भीर विषयमाथि सतही कथा

श्रीजु सरल
असोज २०, २०८१ आइतबार १८:४७, काठमाडौँ

क्यूएफएक्स लगायत देशभरका हलहरूमा यतिबेला नयाँ नेपाली सिनेमा 'बेहुली फ्रम मेघौली' प्रदर्शनरत छ। साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा मुख्य भूमिकामा स्वस्तिमा खड्कालाई देख्न सकिनेछ भने निश्चल बस्नेत, लोकेन्द्र लेखक, सिरु विष्ट, बसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, शिशिर सिवाकोटी लगायतका कलाकारको अभिनय पनि फिल्ममा देख्न पाइनेछ।

फिल्मको नामले नै कथावस्तुबारे धेरैथोरै त बताउँछ नै। यद्यपि, फिल्मको कथा के हो र कसरी देखाइएको छ? मेघौलीकी बेहुली आखिर कस्ती रहिछन् त? आउनुस्, बिहेको एल्बम पल्टाऔँ।

मेघौलीकी बेहुलीको कथा
एउटी युवती। अविवाहित। उमेर ३० वर्ष। ७ वर्षदेखि कुनै युवकसँग प्रेममा परेकी। विवाह गरेर उसैले अस्ट्रेलिया लगिहाल्छ भनी पढाइ पनि पूरा नगरी छोडेर बसेकी। जागिर खाने, रोजगार बन्ने प्रयत्नसमेत कहिल्यै नगरेकी।

परिपक्व उमेरकी यिनै अपरिपक्व युवती 'मीना न्यौपाने'को कथा हो बेहुली फ्रम मेघौली, जसलाई विवाह हुने कुरा छिनिसकेपछि आखिरमा आएर ७ वर्षदेखि विश्वास गर्दै आएको प्रेमी 'निरज'ले धोका दिन्छ र अर्कै युवतीसँग विवाह गर्न तम्सिन्छ। धोका पाएसँगै मीनाको होस खुल्छ त? मीनाको घैँटोमा घाम लाग्छ त? या फेरि के के गर्छिन् धोका पाएकी मीनाले? यिनै रहस्यको पोको खोतल्दै फिल्मको कथा अघि बढ्छ।

पटकथा र पात्र

मीना निरजका बाआमासँग आफ्ना बाआमासँग भन्दा पनि सहज, निकट र खुसी देखिन्छे। हुनेवाला ससुरालीमा ऊ विवाह नहुँदै जाने, पकाउने, गफ गर्ने, हाँस्ने, हँसाउने, नाच्ने, उफ्रिने गर्छे। यस्ता दृश्यले (ट्रेलर नहेरेका) दर्शकलाई यो जोडीको विवाह हुने कुरामा १०१ प्रतिशत नै ढुक्क गराउँछ। ट्रेलर हेरेकै दर्शक पनि ९९ प्रतिशत त आशावादी नै हुन्छन्। दुवैको घरपरिवारले समेत स्वीकारेका जोडी छुट्नु दुर्लभ पनि त हो।

यसरी मीना र निरजको विवाह हुन्छ वा हुनैपर्छ भन्ने आशा वा विश्वास दिलाएर र फिल्म अवधिभर पनि यही जोडीको मिलन गराउने प्रयास गरेर फिल्मले दर्शकलाई 'लौ, हुन्छ नै जस्तो लागेको विवाह कसरी भएन?' भन्ने बनाउन मिहेनत गरेको देखिन्छ। पटकथाको बुनाइ, घटनाहरूको सिलसिला हेर्दा लाग्छ, दर्शकलाई त्यही आश्चर्य दिनु नै फिल्मको एक मात्र उद्देश्य हो।

सुरुवातमा उत्साह दिएर अन्त्यमा निराशा दिँदा दर्शकको हृदय पक्कै नै चोइटिनुपर्ने हो। र यति सोचेर पटकथा लेखिनुलाई एउटा इमानदार प्रयास अवश्य भन्न सकिन्छ।

तथापि, हरेक इमानदार प्रयास सफल हुन्छ नै भन्ने पनि त हुँदैन। स्पष्ट शब्दमा भन्नुपर्दा फिल्मले विषयवस्तु जति गम्भीर चुनेको छ, त्यस विषयवस्तुमाथि कथा भन्ने उद्देश्य भने त्यति नै सतही बोकेको छ- हुन्छ नै जस्तो लागेको विवाह त भएन पो! बस्!

दर्शकलाई ट्विस्ट दिने यही उद्देश्यका कारण फिल्मको पटकथा पनि सतही भएर नै बगेको छ। जसरी पनि धोकेबाज प्रेमीसँगै विवाह गर्ने मीनाको जिद्दीका कारण पटकथाले विषयवस्तुको विविध पक्षलाई र पात्रकै पनि मनोविज्ञान, समाजसँगको सक्रिय सम्बन्ध, आफैप्रतिको धारणा लगायत अनेक महत्त्वपूर्ण पक्षलाई नजरअन्दाज गर्न पुगेको छ।

त्यसो त पटकथाले जति विषयवस्तुलाई छोएको छ त्यसमा पनि विश्वसनीयताको अभाव देखिन्छ। अस्ट्रेलियादेखि नै अर्कैसँग विवाह गर्ने मन बनाएर आएको केटोले 'मैले तँलाई छोडेँ' भन्नैपर्ने भए सधैँझैं च्याट वा फोनमै अस्ट्रेलिया छँदै भन्नुपर्ने होइन र? त्यसो गर्दा उसलाई सहज पनि त हुन्थ्यो। धोका दिएको उद्घोष गर्न उसले पूर्वप्रेमिकाको घरको आँगन किन रोज्दो हो?

फेरि अर्कै केटीसँग पटकपटक देखिसक्दा पनि 'नाइँ, मलाई त्यही केटा चाहिन्छ!' शैलीमा पटकपटक फर्किरहनु त्यो पनि ३० वर्षीय युवतीले! विश्वसनीयता नै खोज्ने हो भने यहाँनेर पनि अभाव नै भेटिन्छ। भलै पढाइ पूरा नगरेकी होस् तर, ३ दशक लामो जिन्दगीले एउटी महिलालाई आत्मसम्मान भन्ने त पक्कै सिकाउँदो हो! गाह्रो होला, वर्षौंवर्षको प्रेम सम्बन्धलाई झट्टै बिर्सिएर नयाँ जिन्दगी सुरु गर्न तर, एउटा प्रयास त गर्नुपर्थ्यो कि?

झट्टै अरू कोहीसँग विवाह गर्न इच्छा नलाग्न सक्छ तर, कमसेकम आफ्नो आत्मनिर्भरताबारे अब पनि सोचिँदैन र? सीप सिक्ने हो कि? जे सीप छ त्यसैको आडमा जागिर खोज्ने हो कि? खेती गर्ने हो कि? व्यापार गर्ने हो कि? फेरि पढ्न पो थाल्ने हो कि? तर, विडम्बना कथाको उद्देश्य यति गहिरिएर पात्रलाई खोतल्नु छँदै थिएन। यद्यपि, यति हुँदाहुँदै पनि त्यही अपरिपक्व पात्रलाई फिल्मले सही र साहसी पात्रको रूपमा चित्रण गरिदिएको छ। 

खैर, ३० वर्ष आसपासका अविवाहित महिलाहरूले यस पात्रबाट के सिक्ने? त्यसो त फिल्मका पात्रहरू आफै पनि सिकाइको दौरानमा हुन सक्दैनन् र? पक्कै सक्छन्।

दर्शकलाई गुनासो पात्रसँग नहोला तर, पात्रको चरित्र निर्माण एवं चित्रण गर्ने लेखक/निर्देशकसँग पक्कै रहला।

वैचारिक पक्ष
मीनाकी बहिनी मनिषा उमेरले सानी भए पनि बुद्धिले केही हदसम्म परिपक्व लाग्छे। बहिनीले रोक्दारोक्दै पनि मीना पूर्वप्रेमीकी वर्तमान प्रेमिकासँग दुश्मनी मोल्न निस्किन्छे। त्यो पनि निको नभइसकेको विगतको घाउ कोट्याइदिएर। त्यसो त आफै पीडामा हुँदा अरूको पीडामाथि दु:ख दिन नसक्दो हो मान्छे तर, कुनै पनि बिन्दुमा पुगेर आफूले गरेको गल्तीको प्रायश्चित त्यो पीडितले गर्दैन भने पीडित आफै पनि पीडक भएन र? र त्यही पीडकलाई तेरा कमजोरी यी हुन् भनेर नऔँल्याइदिनु र जे जे गरे पनि साथ दिइरहनु त पीडककै पक्षपोषण गर्नु होइन र?

हेर्ने नै हो भने मीनाले सिद्धार्थलाई पनि धोका दिएकै हो, गजेन्द्रको पनि गज्जब बेइज्जती गरेकै हो। तर, जसरी निरजका बाआमा मीनाकै लागि निरजसँगै विरोध बोल्छन् त्यसैगरी, मीनाका बाआमा सिद्धार्थ वा गजेन्द्रका लागि विरोध बोल्दैनन्। गाली त गर्छन् तर, नझुक्किनुस् त्यो खाली आफ्नै स्वार्थ हेरेर हो। छोरीले कसैसँग नराम्रो गरी भनेर होइन कि बरु आफ्नै पो मानप्रतिष्ठामा आँच आउने भो भनेर।

अर्थात्, मीनालाई फिल्ममा यस्तो पात्र बनाइएको छ जसले जति गल्ती गरोस् 'बच्चा हो?', 'बुद्धि छैन' भनेर सोधिसक्दा माफ गर्न सकिन्छ।

अभिनय
जहाँसम्म अभिनयको कुरा छ, मीनाको भूमिकामा स्वस्तिमा खड्काको अभिनय तारिफयोग्य छ। बाबुको भूमिकामा लोकेन्द्र लेखकले राम्रो काम गरेका छन्। आमाको भूमिकामा सिरु विष्टलाई नसुहाएको छैन। मामाको भूमिकामा विजय बरालले गज्जब काम गरेका छन्।

सिद्धार्थको भूमिकामा शिशिर सिवाकोटीले दर्शकको कमलो पाटो छोइदिनेछन्। पाएको स्क्रिन ड्युरेसनको तुलनामा उनको स्क्रिन प्रेजेन्स बलियो लाग्छ। निरजको भूमिकामा निश्चल बस्नेतको काम भने कामचलाऊ लाग्छ। क्यामियोमा भोलाराज सापकोटा, लुनिभा तुलाधर, बासना तिमल्सिना, लगायतका कलाकारहरूले उल्लेखयोग्य र सन्तोषजनक काम गरेका छन्।

जाँदाजाँदै, क्यामरा र कलाकारको मनमोहक कामले दर्शकलाई बाँधेरै राख्नेछ। मास अडियन्सका लागि तयार पारिएको यस फिल्ममा मासले खोज्नेजस्तै ह्युमर र कमेडीको भने अभाव छैन। शुद्ध मनोरञ्जनका लागि फिल्म हेर्नलायक नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .