ad ad

म्यागेजिन


कमल कोइराला र मदन रेग्मीको ७० वर्ष पुरानो बेजोड मित्रताको कथा

संसारभर फैलियो आफ्नै बाबुको सत्ता ढाल्न खोज्दा पक्राउ परेका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका छोराहरूको त्यो खबर
कमल कोइराला र मदन रेग्मीको ७० वर्ष पुरानो बेजोड मित्रताको कथा

तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र परराष्ट्रमन्त्री डिल्लीरमण रेग्मीका सुपुत्र कमल कोइराला र मदन रेग्मी (तस्बिर: सरोज नेपाल)


सीताराम बराल
असोज २०, २०८१ आइतबार १६:८, काठमाडौँ

कोभिड–१९ महामारी २०७९ फागुनताका शान्त भइसकेको थियो। महामारी अवधिमा आफ्ना हितैषी भेट्न नसकेका–नपाएकाहरू चल्मलाउन थालेका थिए, भेटघाटमा लागेका थिए।

नेपाल चीन अध्ययन केन्द्रका अध्यक्ष, कवि–लेखक मदन रेग्मी (हाल ८५ वर्ष) भने न्युरोजेनिक ब्लाडर डिस्फंकसन, न्युन रक्तचाप जस्ता स्वास्थ्य समस्याले थलिएर ओछ्यानमै थिए।

एकातिर कोभिडको महामारी, अर्कोतिर थलिएर ओछ्यानमै रहनुपर्दा उनलाई चरम निराशाले पनि गाँजिरहेको थियो। 

रेग्मीभन्दा एक वर्ष मात्र जेठा (हाल ८६ वर्ष), दक्षिण कोरियाका लागि पूर्व नेपाली राजदूत कमल कोइराला भने त्यो बेला फेसबुकमा जीवन, प्रेम, मदिरा, भेटघाट लगायत विषयमा पोस्टहरू गरिरहन्थे। उनका रमाइला–रमाइला फेसबुक पोस्ट आफैँलाई खुसी बनाइराख्ने उपाय पनि थियो।

‘आफ्नो त जानेबेला भैरहेछ, साथी कमल कोइरालाले खुसी बटुल्न खोजेको देख्दा पनि आफू खुसी हुन सकिरहेको छैन,’ मदन रेग्मीले २५ फागुन (२०७९) मा फेसबुकमा पोस्ट गरे, ‘उसलाई कुनै रोग छैन, आफूमा त रोगै–रोग छन्। कमललाई ईश्वरले सधैँ खुसी राखून्।’ 

मदनले गरेको पोस्टको जवाफ कमलले भोलिपल्ट (२६ फागुन) फर्काए। 

‘आज म साह्रै खुसी भएँ, मेरो किशोर उमेर १५–१६ वर्षदेखिको मित्र मदन रेग्मीले मेरोबारे लेखेको हेरेर,’ रेग्मीलाई ढाडस दिँदै कोइरालाले फेसबुकमा लेखे, ‘उमेर, आयु र मृत्यु कसैको नियन्त्रणमा हुँदैन। म भेट्न आउँछु।’

​मदन रेग्मीको २५ फागुन २०७९ र कमल कोइरालाको २६ फागुन २०७९ को फेसबुक पोस्ट  

वचन पूरा गर्न कोइराला भोलिपल्टै (२७ असोज २०७९) चुनदेवी (महाराजगञ्ज) स्थित रेग्मीनिवास पुगे।

बुढ्यौलीले गाँजिसकेकाले कोइरालालाई रेग्मीकहाँ पुग्न सजिलो भने थिएन। 

कोइराला थापागाउँ (बानेश्वर) बाट नेपाल यातायात चढे। त्यसले महाराजगञ्जस्थित पूर्वअधिराजकुमार स्व. धीरेन्द्र शाहको घर र अमेरिकी राजदूतावासबीचको सडकमा ओरालिदियो। 

मदन रेग्मीको चुनदेवीस्थित निवास त्यहाँबाट करिब एक किलोमिटर पर छ। हट्टाकट्टा मान्छे हो भने त्यो १० मिनेटको पैदल दूरी हो। तर, त्यति बाटो छिचोल्न कोइरालालाई भने आधा घण्टाभन्दा बढी लाग्यो।

कोइराला सुस्ताउँदै–सुस्ताउँदै रेग्मीकहाँ पुगे। 

‘डाँडामाथिका जून’ जस्ता कोइराला–रेग्मीबीच दुई घण्टा कुराकानी भयो। साँझ परेपछि कोइराला थापागाउँ फर्के। 

त्यो भेटको खुसी साट्न कमलले त्यसदिन मदनसँगै खिचेको फोटो फेसबुकमा पोस्ट गरे। 

‘मदन ८४ र म कमल ८५ (वर्ष)’ फोटोसँगै कोइरालाले त्यसदिन फेसबुकमा लेखेका छन्, ‘यो हाम्रो जीवनमा सँगसँगै खिचिएको एक मात्र फोटो हो।’ 

त्यो पहिलो संयुक्त फोटो भए पनि कमल कोइराला र मदन रेग्मीबीचको मित्रता भने ७० वर्ष पुरानो हो, जो अद्यपि निरन्तर छ।  

कमल र मदन यस्ता अभिन्न मित्र हुन्, जसको मित्रताबाट सिर्जित एउटा राजनीतिक घटनाले ७० वर्षअघि नेपालको राजनीति हल्लाएको थियो। त्यो घटना चर्चित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचारको विषय समेत बनेको थियो।

सरकारमा बाबु, जेलमा छोरा
कमल कोइराला जनस्तरबाट प्रधानमन्त्री बनेका मातृकाप्रसाद कोइरालाका सुपुत्र हुन् भने मदन रेग्मी कोइरालाको दोस्रो प्रधानमन्त्रित्वकाल (विसं २०१०–०११) ताका परराष्ट्रमन्त्री रहेका डा. डिल्लीरमण रेग्मीका सुपुत्र। 

‘नेपाल प्रजा पार्टी’ को प्रमुखका हैसियतमा मातृकाप्रसाद कोइराला दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। डा. रेग्मीलाई नेपाली राष्ट्रिय कांग्रेसको सभापतिको हैसियतमा परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको थियो। 

यसपटक पार्टी फरक भए पनि कोइराला र रेग्मी दुवैको राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेस नै थियो। 

बाबुहरू प्रधानमन्त्री र परराष्ट्रमन्त्री छँदा कमल कोइराला १६ वर्ष र मदन रेग्मी १५ वर्षका थिए।  

पारिवारिक राजनीतिक माहौलका विपरीत कांग्रेस भए पनि कमल र मदन भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तर्फ आकर्षित थिए। 

मातृका पहिलोपटक प्रधानमन्त्री छँदा २००८ माघमा नेकपामाथि प्रतिबन्ध लगाइएको थियो। 

प्रतिबन्धित भएपछि नेकपाले राजनीतिक गतिविधिका लागि ‘जनअधिकार सुरक्षा समिति’ स्थापना गरेको थियो। यही संगठनको ब्यानरमा नेकपाले सरकारविरुद्ध विभिन्न कार्यक्रम गर्थ्यो।

त्यसैमध्ये ४ माघ २०११ मा असन डबलीको कार्यक्रममा सम्बोधन गर्दा कमल पक्राउ परे। कमललाई भेट्न मदन हनुमानढोका हिरासत पुगे। तर प्रहरीले भेट्न दिएन। 

आक्रोशित मदनले पनि तत्काल सरकारविरुद्ध नारा–जुलुस सुरु गरे। त्यसपछि मदनलाई पनि प्रहरीले पक्र्यो र हिरासत पुर्‍यायो। 

कमल र मदन दुवैजना त्यो बेला त्रिचन्द्र क्याम्पसमा पढ्थे। कमल आर्ट्स (मानविकी) र मदन विज्ञान संकायका विद्यार्थी थिए। 

एउटै कलेजका विद्यार्थी, त्यसमाथि बाबुहरू एउटै सरकारमा भएकाले त्यसअघि नै दुईबीच मित्रता गाँसिइसकेको थियो।  

नेपाली कांग्रेस, गोर्खा परिषद्, नेकपा जस्ता मुख्य दलहरू सामेल नभएको सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै गइरहेको थियो। सरकारविरुद्धका प्रदर्शन बाक्लिँदै थिए। यस्ता प्रदर्शन रोक्न सरकारले बसन्तपुर, असन, भोटाहिटी जस्ता मूल सहरहरूमा निषेधाज्ञा (कर्फ्यु) जारी गर्‍यो।  

आफ्नो बाबुले नेतृत्व गरेको सरकारले लगाएको त्यही कर्फ्यु तोड्ने क्रममा कमल पक्राउ परेका थिए। 

निषेधाज्ञा विरुद्ध दिनहुँ प्रदर्शन हुन्थे, प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्थ्यो, जेलमा लैजान्थ्यो। तर, अर्कोदिन फेरि प्रदर्शनकारी जम्मा हुन्थे र प्रदर्शन सुरु गरिहाल्थे। 

यस्तै प्रदर्शनका क्रममा कमल र मदनका हितैषी शैयद मकबुल शाह (हाल स्वर्गीय) पक्राउ परिसकेका थिए।  

परीक्षा नजिकै आइरहेको थियो। जेलमा रहेका मकबुलको पनि परीक्षा फाराम भर्नुपर्ने भयो। फाराम कमलले नै भरिदिए। रसिद बुझाउन उनी किलागलस्थित मकबुलको घर गए।

‘रसिद बुझाएर फर्कन लाग्दा मकबुलका भाइ याकुबले तपाईंका साथीहरू भूगोलपार्कमा जम्मा भइरहेका छन् भन्दै देखाए,’ कोइरालाले भने, ‘म पनि भूगोलपार्क पुगेँ। त्यहाँ अरविन्द रिमाल, निर्मल लामा लगायतका साथीहरू रहेछन्। उनीहरू सरकारविरुद्ध प्रदर्शनका लागि जम्मा हुँदै रहेछन्।’

कमल नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन (नेराविफे) मा आवद्ध भइसकेका थिए। राणा शासनको समाप्तिपछि स्थापित नेराविफे सबै विद्यार्थीहरूको साझा संगठन थियो। 

तर, युवा–विद्यार्थीमा कम्युनिस्ट पार्टीको प्रभाव बढेकाले नेराविफेमा पनि दबदबा वामपन्थीहरूकै थियो। 

रिमाल र लामा दुवैजना नेकपाका काठमाडौँ जिल्ला कमिटीमा थिए। यादवप्रसाद पन्त अध्यक्ष रहेको जनअधिकार सुरक्षा समितिको सचिव रिमाल (अरविन्द) थिए। 

‘मकबुल शाहले मलाई कमल र मदन कम्युनिस्ट पार्टीतर्फ आकर्षित छन् भनेर सुनाएका थिए, मसँग चिनजान पनि गराएका थिए,’ ९२ वर्षीय रिमाल सम्झन्छन्, ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै छोराहरू कम्युनिस्ट पार्टीतर्फ आकर्षित भएको कुराले हामी निकै उत्साहित थियौँ।’

अरविन्द रिमाल (तस्बिरः सीताराम बराल)

मकबुलको घरबाट निस्केर कोइराला भूगोलपार्क पुगे। उनी प्रदर्शनकारीहरूको हुलमा मिसिए। 

‘भूगोलपार्कबाट झण्डा समातेर जुलुसको नेतृत्व गर्दै असनसम्म पुग्ने र असनको डबलीबाट सरकार र निषेधाज्ञाविरुद्ध भाषण गर्ने योजना रहेछ,’ कमल कोइरालाले भने, ‘अरविन्द रिमालले असन डबलीमा सम्बोधन गर्ने जिम्मा मलाई दिनुभयो।’ 

‘जोसिलो स्वभावले गर्दा कमल कोइरालाको सहभागिता उत्साहबद्र्धक र सक्रिय थियो’ लामो समय पत्रकारिता समेत गरेका रिमालले संस्मरणात्मक पुस्तक ‘१९९७ देखि २०१७ सम्म’ मा लेखेका छन्, ‘मदन रेग्मीको संलग्नताचाहिँ उहाँको लज्जालु स्वभावले गर्दा अलिक कमै थियो।’

जोसिलो स्वभावका कमलले भूगोलपार्कदेखि असनसम्म जुलुसको नेतृत्व र असन पुगेपछि सरकारको विरुद्धमा भाषण गर्न दिइएको जिम्मेवारी नाइनास्ती नगरी स्वीकार गरे। 

‘आज जो–जो पक्राउ पर्छ, भोलिको पत्रिकामा सबैको नाम छापिन्छ भनेर रिमालले भन्नुभएको थियो,’ कोइराला भन्छन्, ‘पत्रिकामा नाम छापिन्छ भन्ने भएपछि म पनि जोसिँदै सरकारविरुद्ध नारा लगाउँदै साथीहरूका साथ असन पुगेँ र झण्डा गाडेर भाषण सुरु गरेँ।’ 

नजिकैको हनुमानढोका थानाबाट प्रहरी तत्काल आइपुगे। भागाभाग सुरु भयो। दायाँबायाँबाट प्रहरीले कमलका पाखुरा समाते। उनी पक्राउ परिसकेका थिए। उनलाई हनुमानढोका लगियो। 

मदनको मावली हनुमानढोका नजिकैको ढोकाटोलमा थियो। उनी मामाघरमै बस्थे। कमललाई प्रहरीले पक्रेको सुनेपछि मदन तुरुन्तै हनुमानढोका पुगे। 

तर, कमलसँग भेट गर्न प्रहरीले दिएन। बरु, एकैछिनमा उनी पनि पक्राउ परे। 

बुढ्यौली र रोग सिर्जित विस्मृतिका कारण आफू कसरी पक्राउ परेको थिएँ भन्ने मदनलाई उति सम्झना छैन। सुरुमा हनुमानढोका र त्यसपछि नख्खुजेलमा बसेको मात्र सम्झन्छन् उनी। 

कमलको भनाइमा मदनको गिरफ्तारीको कारण उनीसँग भेट गर्न नपाएपछिको आक्रोशको परिणाम थियो। 

‘प्रहरीले मसँग भेट गर्न नदिएपछि मदनले परैबाट हात हल्लाउँदै भने– म पनि सरकारविरुद्ध भाषण गर्छु र तिमीलाई भेट्नेगरी आउँछु भनेका थिए,’ कोइरालाले भने, ‘मदनले पनि सरकारविरुद्ध नाराबाजी सुरु गरेछन्, त्यसपछि त उनलाई पनि प्रहरीले पक्रिहाल्यो।’

अघि भर्खर प्रहरीलाई सराप्दै गएका मदनलाई पनि पक्रेर प्रहरीले हनुमानढोका थानाभित्र हुल्यो। कमल र मदन सँगै भए।   

त्यसदिन कमलसँगै दुई दर्जन भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका थिए। अधिकांश कमल–मदनजस्तै किशोरहरू थिए। 

निषेधाज्ञा उल्लंघनलाई त्यति ठूलो ‘अपराध’ मानिँदैनथ्यो। अझ नाबालिगहरू छन् भने प्रहरीले अविभावकको जिम्मा लगाएर साँझपख घर पठाइदिन्थ्यो। 

अधिकांशका अविभावक हिरासतमा रहेका आफ्ना किशोर सन्तानलाई लिन गए। तर, कमल र मदनका अविभावक भने गएनन्। 

त्यसरात दुवैजना हनुमानढोका हिरासतमै रहे। 

माघ महिना भएकाले काठमाडौँमा ठिहिर्‍याउने जाडो सुरु भइसकेको थियो। 

‘साह्रै जाडो भएपछि हामीले हिरासतभित्रै सरकारविरुद्ध नाराबाजी सुरु गर्‍यौँ,’ कमलले भने, ‘राजबन्दीको ज्यान मार्न पाइँदैन, नालायक सरकार राजीनामा दे भन्दै नाराबाजी गरेका थियौँ।’

विसं २००९ मा पोखरामा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला (बायाँबाट चौथो) सँगै किशोर कमल कोइराला (दायाँबाट दोस्रो)

हिरासतमा ओढ्ने–ओछ्याउने कपडा थिएनन्। नाराबाजीपछि प्रहरीहरूले नजिकै आगो बालिदिए। आगो ताप्दै उनीहरूले त्यो रात काटे। 

उनीहरूलाई भोलिपल्ट नख्खु जेल स्थानान्तरण गरियो। 

त्यसबीचमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै छोराहरू पक्राउ परेको हल्ला सर्वत्र फैलिइसकेको थियो। काठमाडौँभित्र निस्कने भोलिपल्टका सबैजसो अखबारहरूले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका छोराहरू पक्राउ परेको समाचार लेखे।  

‘काठमाडौँमा हिन्दुस्तान समाचार, प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) र द स्टेट्सम्यान दैनिकका संवाददाता थिए, उनीहरूले पनि त्यो पक्राउबारे समाचार पठाए,’ रिमाल  सम्झन्छन्, ‘स्टेट्सम्यानका प्रतिनिधि त मेरै छिमेकी थिए, उनले आफ्नो अखबारमा छापेको त्यो खबर मलाई देखाएका थिए।’

सात समुद्रापारिका सञ्चारमाध्यमहरूका लागि पनि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका कम्युनिस्ट पुत्रहरू पक्राउ परेको विषय रोचक लाग्यो। यो घटनालाई ती सञ्चारमाध्यमहरूले प्रकाशित गरे।

प्रसिद्ध अमेरिकी अखबार द न्युयोर्क टाइम्सले समेत यस सम्बन्धी समाचार प्रकाशित गर्‍यो।

यस सम्बन्धमा ५ माघ २०११ मा प्रकाशित समाचारको शीर्षक थियो, ‘आफ्नै पिताको शासन उखेल्न खोजेको आरोपमा नेपालका प्रमुख (प्रधानमन्त्री) का छोरा पक्राउ।)  

‘अवैध कम्युनिस्ट संगठनको बैठकमा सहभागी भएका प्रधानमन्त्रीका छोरा कमलप्रसाद कोइरालाले असक्षम सरकारलाई धक्का दिएर ढाल्नुपर्छ भनेका थिए,’ त्यो समाचारमा लेखिएको छ, ‘त्यसपछि उनी पक्राउ परेका छन्।’ 

न्युयोर्क टाइम्सले कमल कोइरालालाई भेट्न नदिएपछि प्रदर्शन गर्दा मदन रेग्मी पक्राउ परेको उल्लेख गरेको छ।

‘परराष्ट्रमन्त्री डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मीसमेत भीड जम्मा गरेर सरकारलाई गाली गर्न थाले, त्यसपछि उनी पनि पक्राउ परे,’ समाचारमा भनिएको छ, ‘प्रहरीले रेग्मीलाई बन्दी (कमल कोइराला) लाई भेट्न दिएको थिएन।’

रोयटर्सले पनि यो पक्राउबारे समाचार तयार पारेको थियो। कमलको गिरफ्तारीलाई आधार बनाएर उसले कोइराला परिवार राजनीतिक रूपमा कसरी विभाजित भएको छ, त्यसको विवरण दिएको थियो। 

त्यो बेला प्रधानमन्त्री मातृका र उनका भाइ बीपीबीच राजनीतिक द्वन्द्व थियो। मातृका पहिलोपटक प्रधानमन्त्री छँदै उनलाई बीपीले नेपाली कांग्रेसबाट निस्कासन गरेका थिए। कांग्रेसबाट निस्कासित भएपछि मातृकाले ‘नेपाल प्रजा पार्टी’ स्थापना गरे। 

खासमा मातृकालाई पार्टीबाट निकालेर बीपी आफै प्रधानमन्त्री बन्न चाहन्थे। तर निस्कासनमा परेका मातृकाले आफ्नो नेतृत्वमा ‘नेपाल प्रजा पार्टी’ गठन गरिदिए। राजा त्रिभुवनले पनि प्रजा पार्टीको सभापतिका हैसियतमा मातृकालाई दोस्रोपटक प्रधानमन्त्री नियुक्त गरिदिए। 

त्यसपछि दाजु–भाइबीचको राजनीतिक द्वन्द्व थप चर्कियो। 

मातृका–बीपीबीच राजनीतिक द्वन्द्व चर्किरहेको थियो। कम्युनिस्ट राजनीतितर्फ आकर्षित प्रधानमन्त्री मातृकापुत्र कमल त्यही बेला पक्राउ परे। बाबु प्रधानमन्त्री भएका बेला छोरा पक्राउ पर्नु रोचक घटना हुने भइहाल्यो। त्यसलाई देशभित्र र बाहिरका सञ्चारमाध्यमहरूले समाचार बनाए। 

‘बाबु प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको शासन ढाल्न जोड दिएपछि छोरा कमल कोइराला पक्राउ परेका छन्,’ रोयटर्सको समाचारमा भनिएको छ, ‘नेपालको राजनीतिमा पकड कायम गर्न भएको पारिवारिक संघर्षलाई यसले नयाँ मोड दिएको छ।’ 

रोयटर्सले यो पनि लेखेको छ, ‘कोइराला परिवार यसअघि नै एकपटक प्रधानमन्त्री र उनका सौतेनी भाइ बीपी कोइरालाबीचको राजनीतिक द्वन्द्वका कारण विभाजित भइसकेको छ। प्रतिपक्षी पार्टी प्रमुखका रूपमा (प्रधानमन्त्री मातृकाका) सौतेनी भाइले गत हप्ता सरकारको प्रतिरोध गर्न आदेश समेत दिएका थिए।’  

न्युयोर्क टाइम्स (बायाँ) र रोयटर्स (दायाँ) मा छापिएको खबर

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका छोरा नै सरकारको विरोधमा उत्रिएको घटनाले सरकारको अलोकप्रियता र राजधानीमा कम्युनिस्टहरूको प्रभाव विस्तार उजागर भयो।

यो पक्राउको घटना रोचक राजनीतिक विषयवस्तु त बन्यो नै, कमल र मदनको मित्रतालाई थप कसिलो गरी बाँध्ने डोरी पनि बन्यो। 

‘एउटै क्याम्पसका विद्यार्थी भएकाले हामी पहिलेदेखिका साथी छँदै थियौँ,’ मदन रेग्मी भन्छन्, ‘सँगै पक्राउ परेपछि हाम्रो मित्रता थप बलियो भयो।’

सुख-दुःखका अनुपम साथी 
खासमा ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका छोरा हुन्’ भन्ने जानकारी भएर प्रहरीले उनीहरूलाई पक्राउ गरेको थिएन। 

‘निषेधाज्ञा र सरकारको विरोधमा दिनहुँ यस्ता प्रदर्शन हुन्थे, प्रदर्शनमा सहभागी दर्जनौँ युवाहरूलाई प्रहरीले नख्खुजेल पुर्‍याएको थियो,’ कोइराला भन्छन्, ‘त्यसैक्रममा हामी पक्राउ पर्‍यौँ, पक्राउ परेपछि मात्र प्रहरीले हामी प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका छोराहरू हौँ भन्ने जानकारी पाएको हो।’ 

कोइरालाका भनाइमा, जनअधिकार सुरक्षा समितिले गरेको प्रदर्शनमा पक्राउ परी नख्खुजेलमा रहेका युवाहरूमा थाहा आन्दोलनका प्रणेता रूपचन्द्र विष्ट (रुदाने) देखि प्रख्यात वकिल वासुदेव ढुङ्गाना, यादवप्रसाद पन्त लगायतका विद्यार्थी नेताहरू थिए। 

पिता डा. डिल्लीरमण रेग्मीसँग मदन रेग्मी 

अरु पक्राउ पर्दासम्म सरकारको विरोध कार्यक्रमले त्यति चर्चा पाएको थिएन। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीकै छोरा पक्राउ परेपछि भने निकै ठूलो हल्लीखल्ली भयो।

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका छोराहरू पक्राउ परेपछि प्रहरी महानिरीक्षक जीबी याक्थुम्बासमेत अप्ठेरोमा परे।

प्रधानमन्त्री कोइराला राणाविरोधी २००७ को क्रान्तिका सर्वाेच्च कमान्डर थिए भने याक्थुम्बा सैनिक कमान्डर। मदन रेग्मीका भनाइमा, प्रधानमन्त्री कोइराला र महानिरीक्षक याक्थुम्बाबीच मितेरी सम्बन्ध पनि थियो।

कमल र मदनलाई भेट्न महानिरीक्षक याक्थुम्बा नख्खुजेल पुगे।  

याक्थुम्बा पुगेपछि कोइराला र रेग्मीलाई जेलबाट निकालियो। नजिकै नख्खुखोला थियो। याक्थुम्बाले दुवैलाई नख्खु खोलाको पुलमा पुर्‍याए। पुलमाथि बसेर उनले दुवै किशोरलाई सम्झाउने प्रयास गरे। फेरि सरकारको विरोधमा नउत्रने हो भने रिहा गर्ने वचन दिए।

तर कमल रिहा हुन मानेनन्। मदनले पनि कोइरालालाई साथ दिए। 

‘गर्ने हो भने हाम्रा अरु साथीहरूका साथ रिहा गरियोस्, उनीहरूलाई रिहा नगरी हामी आफू मात्र घर जाँदैनौँ,’ महानिरीक्षक याक्थुम्बासँग कोइरालाले सर्त राखे, ‘पहिला साथीहरूलाई छोडियोस्, अनि मात्र हामी जेलबाट निस्कन्छौँ।’ 

कमलको मागमा रेग्मीले सही थापे। 

‘हामीले यस्तो सर्त राखेपछि याक्थुम्बा नाजवाफ भए,’ रेग्मीले भने, ‘हामी फेरि जेलमै फर्कियौँ।’

पाँच–सात दिनपछि सरकारले पक्राउ परेका सबैलाई रिहा गरिदियो। सबै आ–आफ्नो घरतर्फ लागे। 

रिहा भएपछि कमल र मदनलाई समस्या पर्‍यो– जाने कहाँ? घर जाँदा बाबुहरूको आक्रोशको सामना गर्नुपथ्र्याे। 

प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको काठमाडौँमा आफ्नै घर थिएन। कुपण्डोलमा अहिले जहाँ शिखहरूको गुरुद्वारा छ, त्यहाँ ‘कान्ता भवन’ नामको घर थियो। भाडामा लिएर प्रधानमन्त्रीको सरकारी निवास त्यही भवनलाई बनाइएको थियो। 

कमलले ‘कान्ता भवन’ फर्कने साहस गर्न सकेनन्। मदनको स्थिति त झन् अप्ठेरो थियो। 

मदन मातृविहीन थिए। पाँच वर्षको छँदा उपचारका क्रममा भारतमा आमाको निधन भएको थियो। उनका मावलीहरू बसन्तपुर नजिकै ढोकाटोलका प्रख्यात पाण्डे गुरुज्यूहरू थिए। कोतपर्वमार्फत् सत्ता हत्याएका श्री ३ जंगबहादुर राणाविरुद्ध भएका षड्यन्त्रको पोल खोलेर सहयोग गरेवापत जंगबहादुरले उनीहरूलाई ‘श्री ६ बडागुरुज्यू’ उपाधि समेत दिएका थिए। 

‘राजनीतिक परिवारका भएकाले कोइरालाहरू उदार थिए, बरु कमलको बुबा–आमा त झनै उदार हुनुहुन्थ्यो, मेरो बुबा डा. डिल्लीरमण रेग्मी पनि राजनीतिक व्यक्ति नै हुनुहुन्थ्यो, तर कोइरालाहरूजस्तो उदारता उहाँमा थिएन,’ रेग्मीले भने, ‘मेरा मावलीहरू झन् गुरुज्यू खलकका! प्रहरीले पक्राउ गरेको विषय उहाँहरूलाई पनि सहज लाग्ने कुरै थिएन।’ 

कोसी सम्झौताका लागि भएको बैठकमा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला (बायाँबाट दोस्रो), परराष्ट्रमन्त्री डा. डिल्लीरमण रेग्मी (बायाँबाट चौथो), गृहमन्त्री टंकप्रसाद आचार्य (बायाँबाट पाँचौँ) र राजा त्रिभुवन (सबैभन्दा दायाँ) सौजन्य : कमल कोइराला)

आ–आफ्नो घर फर्कन असहज ठानेपछि दुवैको सहारा बन्यो, रञ्जना गल्लीस्थित ईश्वर मानन्धरको घर। ईश्वर पनि त्रिचन्द्रमै पढ्थे, कमल–मदन दुवैका मिल्ने साथी थिए। 

ईश्वरका बुबा ‘सरदार’ को उपाधि पाइसकेका राणाकालीन कर्मचारी थिए। तर, केही वर्षअघि नै उनको निधन भइसकेको थियो। 

ईश्वरकी आमा कमल–मदन दुवैलाई आफ्नै छोरासरह स्नेह दिन्थिन्। 

ईश्वरको घरले कमल–मदनलाई आकर्षण गर्ने अर्को कारण पनि थियो। ईश्वरकी आमा मीठो जाँड पार्थिन्। 

ईश्वरकी आमाले बनाउने त्यही मीठो जाँडमा यी दुई किशोर पल्किएका थिए। किशोर पक्राउ अघि पनि उनीहरू प्रत्येक हप्ताजसो रञ्जनागल्ली पुगेर ईश्वरसँगै मीठो जाँड खाएर घर फर्कन्थे।

जेलबाट छुटेका साथीहरू आउँदा ईश्वर खुसी भए। ईश्वरकी आमाले पनि पहिलेजस्तै स्नेह दिइन्। एक हप्ता दुवैजना त्यही घरमा रहे।

रेग्मीका भनाइमा मन्त्री भएका बेला सरकारको विरोध गरेर ‘आफ्नै छोराले मेरो बेइज्जत गरिदियो’ भन्दै डा. रेग्मी मुर्मुरिएको खबर उनले पाएका थिए। प्रधानमन्त्री कोइरालाले भने त्यो घटनाप्रति कहिल्यै गुनासो गरेनन्।

‘मेरो बुबाले चाहिँ आमासँग ‘कमलले राजनीति गर्ने हो भने पनि ठीकै छ–राजनीति गरोस्’ भन्नुभएको रहेछ,’ आमा मञ्जु कोइरालाले भनेको कुरा कमलले सुनाए, ‘पढाइलाई अघि बढाउने हो भने चाहिँ राम्रोसँग पढोस्।’

पक्राउबारे पिता–प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको ‘गुनासो’ वा ‘सदासयता’ जे भने पनि कमलले पाएको जानकारी यत्ति नै हो। 

राजा महेन्द्रको २०१७ को ‘कू’ पछि राजा महेन्द्रबाट आएको राजदूत बन्ने ‘अफर’ स्वीकार गर्दै मातृका अमेरिकामा नेपाली राजदूत बने। तर, कम्युनिस्ट राजनीतिमा लागेका कमलको राजनीतिक बाटोमा कहिल्यै तगारो बनेनन्। 

‘मेरी आमा उहिल्यै बितिसकेकी थिइन्, पक्राउका कारण बुबा रिसाउनुभएको थियो। त्यस्तो भएपछि कसले घरमा बोलाइदिने?’ मदनले भने, ‘हामी ईश्वरकहाँ केही दिन बस्यौँ। त्यसपछि मञ्जु भाउजु (कमलकी आमा) ले हामीलाई बोलाउनुभयो। हामी दुवै कान्ताभवन गयौँ। मैले कमलका साथ केही दिन त्यहीँ बिताएँ।’

खासमा कमल–मदनलाई लिन ईश्वर मानन्धरको घरमा प्रधानमन्त्री निवासबाट गाडी नै पठाइएको थियो। प्रधानमन्त्री कोइरालाका निजी सचिव तीर्थ नेपालले उनीहरूलाई मानन्धरको घरबाट गाडीमा राखेर कान्ता भवन ल्याएका थिए।

कमल र मदन करिब एक महिना कान्ता भवनमै रहे। 

आफैलाई अप्ठेरो पार्ने घटना हुँदासमेत मातृकाले कमल–मदनप्रति कहिल्यै आक्रोश पोखेनन्। उनी कति उदार दिलका भने, कमल–मदनका कतिपय ‘अप्ठेरा चाहना’ समेत उनले सहजै पूरा गरिदिए। 

राजा त्रिभुवन स्विट्जरल्यान्डमा उपचाररत थिए। शासनको सम्पूर्ण अभिभारा युवराज महेन्द्रमा थियो। ‘राजप्रतिनिधि परिषदको अध्यक्ष’ को हैसियतमा राजाले प्रयोग गर्ने अधिकार लेखेरै उनले राजा त्रिभुवनबाट लिएका थिए। 

पहिले राणाहरू सिकारका लागि जाने नागार्जुन जंगल २००७ को परिवर्तनपछि शाह–राजाहरूको मातहत आएको थियो। त्यहाँ सिकार खेल्न दरबारको स्वीकृति चाहिन्थ्यो।

‘हामीलाई पनि नागार्जुन गएर सिकार खेल्न मन लाग्यो,’ मदनले भने, ‘सिकार खेल्ने यो इच्छा उहाँ (मातृका) समक्ष राख्यौँ। उहाँले हाम्रो इच्छा पूरा गरिदिनुभयो।’ 

कमल र मदन सरकारको विरोध गरेबापत पक्राउ परेर भर्खर छुटेका ‘ठिटा’ हरू न थिए! उनीहरूलाई सिकार खेल्ने अनुमतिका लागि अनुरोध गर्न मातृकालाई पक्कै अप्ठेरो थियो होला!

‘तर, मातृकाबाबुले अर्कोदिन युवराज महेन्द्रबाट सिकार खेल्ने स्वीकृतिपत्र लिएर आउनु भयो,’ मदनले सम्झे, ‘हामी सिपाहीहरूका साथ नागार्जुनमा सिकार खेल्न गयौँ।’ 

किशोर उमेरका कमल कोइराला 

२०११ फागुनमा राजा त्रिभुवन स्विट्जरल्यान्डमै बिते।   

महेन्द्र गद्दीमा बसेपछि भने मातृका प्रधानमन्त्री पदमा धेरै दिन टिक्न पाएनन्। दुई महिना बित्दा–नबित्दै उनी पदमुक्त भए।

राजा महेन्द्रले दरबारका विश्वासी कर्मचारी सरदार गुञ्जमान सिंहलाई परामर्शदात्री सरकारको प्रमुख बनाए, आफैले प्रत्यक्ष शासनको सुरुवात गरे।

मातृकाले पनि अब कान्ताभवन छाड्नुपर्‍यो। त्यसपछि कमल विराटनगर फर्के। मदन पनि ढोकाटोलस्थित मामाघर सरे।

कमल–मदनको नख्खुजेलदेखि रञ्जनागल्ली (ईश्वर मानन्धरको घर) र कान्ताभवनसम्मको संयुक्त बसाइक्रमको अन्त्य भयो।

तर, मित्रताको अन्त्य भएन, बरु उनीहरूबीचको मित्रता पछिल्ला दिनहरूमा थप प्रगाढ हुँदै गयो।   

‘खासमा पक्राउ पर्दा हामी दुवै नेकपाको सदस्य थिएनौँ, नेकपाप्रति हाम्रो आकर्षण मात्र थियो,’ मदनले भने, ‘पक्राउपछि कमल कम्युनिस्ट पार्टीमा आबद्ध भयो, जीवनभर त्यही पार्टीमा रह्यो। ऊजस्तै पार्टी सदस्य नभए पनि मैले धेरथोर सहयोग गरिरहेँ।’

काठमाडौँ छाडेर विराटनगर फर्केका कमलले त्यहाँको कम्युनिस्ट–मण्डलीबाट भव्य स्वागत पाए।  

‘विराटनगर के पुगेको थिएँ, कतिले गला मिलाए, कतिले हात,’ कोइराला सम्झन्छन्, ‘अनि त म दर्तावाल कम्युनिस्ट भइहालेँ, २०१२ मा मैले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेँ।’ 

सदस्यता पाएको सात वर्ष नपुग्दै कोइराला बिहारको दरभंगामा बिसं २०१९ मा भएको प्लेनमबाट केन्द्रीय सदस्य चुनिए। उनी सदैव पञ्चायतविरोधी आन्दोलनमा रहे। साहना प्रधान नेतृत्वको नेकपा (मार्क्सवादी) को पोलिटब्युरो सदस्यसमेत बने। 

बिसं २०४७ मा माले–मार्क्सवादीबीच एकता भई बनेको एमालेको उनी केन्द्रीय सदस्य थिए। २०५१ को मध्यावधि निर्वाचनमा उनी मोरङ–५ बाट प्रतिनिधि सभामा निर्वाचित समेत भए। 

सांसद छँदा उनी प्रतिनिधि सभाको परराष्ट्र तथा मानवअधिकार समितिको सभापति थिए। २०६४ मा एमालेले उनलाई दक्षिण कोरियाको राजदूतको जिम्मेवारी दियो।   

रेग्मीको सक्रियता साहित्यिक गतिविधिमा हुन थाल्यो। उनी पुरानो पुस्ताका अग्रणी चर्चित कविहरूको पंक्तिमा पर्छन्। बीच–बीचमा शिक्षण पेसा पनि अँगाले।

पार्टीमा सक्रिय नभए पनि मदन सदैव कम्युनिस्टहरूको शुभेच्छुक रहे। शुभेच्छाको कारण थियो, ‘कम्युनिस्टहरू राष्ट्रवादी हुन्छन्’ भन्ने विश्वास। 

डा. तुलसी गिरि, मरिचमान सिंह, लोकेन्द्रबहादुर चन्दजस्ता पञ्चायतकालीन प्रधानमन्त्रीहरूसँग उनको निकट सम्बन्ध थियो। मदन रेग्मीले भनेका कुरामा उनीहरू नाइनास्ती गर्दैनथे। 

यसको मतलब यो होइन कि उनी पञ्चायती व्यवस्थालाई सहयोग–समर्थन गर्थे। 

‘उनीहरूसँग मेरो सम्बन्ध व्यक्तिगत थियो, राजनीतिक होइन,’ मदन भन्छन्, ‘मेरो भित्री सहानुभूति कम्युनिस्टहरूलाई नै रह्यो।’ 

पञ्चायतकालमा पार्टीलाई मदनले गर्ने सहयोगका एक साक्षी हुन् कमल। 

‘म विराटनगरबाट काठमाडौँ आइरहन्थेँ। पार्टीका विज्ञप्ति वा अन्य प्रकाशनका लागि पैसा हुँदैनथ्यो, मदनको व्यापारीहरूसँग राम्रो चिनजान थियो,’ कोइराला भन्छन्, ‘त्यो बेला मदनले व्यापारीहरूलाई भनिदिन्थे, म सुटुक्क गएर पार्टीका लागि सहयोग लिन्थेँ।’ 

जब २०३६ को जनमत संग्रहको घोषणा भयो, कम्युनिस्ट घटकहरूले सर्तसहित जनमत संग्रहमा भाग लिने निर्णय गरे। त्यसको लागि पत्रकार सम्मेलन गर्नुपर्ने भयो, विज्ञप्ति छाप्नुपर्ने भयो। 

यसको जिम्मा कमललाई नै थियो। तर, पैसा थिएन। कमल मदनकै समीप पुगे। मदनले भनसुन गरिदिए। 

कमलका भनाइमा लामो समयदेखि विभिन्न चिरामा विभाजित कम्युनिस्ट नेताहरूले पहिलोपटक जारी गरेको संयुक्त विज्ञप्ति थियो त्यो। र, त्यो विज्ञप्ति मदनले जुराइदिएको आर्थिक सहयोगले छापिएको थियो।

२०१७ को काण्डताका अध्ययनको सिलसिलामा भारतमा रहेका कमल दरभंगा प्लेनम (२०१९) बाट नेकपाको केन्द्रीय सदस्य बनेपछि अक्सर बनारसमा बस्थे। भारत–निर्वासनमा पनि यी दुईको भेट भइरहन्थ्यो।

मदनका मावलीहरूको हवेली बनारसमै थियो। मदन त्यहाँ गइरहन्थे। त्यहाँ पुग्नासाथ कमललाई बोलाउँथे। दुईको जोडी त्यहाँ जमिहाल्थ्यो। 

कमल २०२४ मा निर्वासनबाट नेपाल फर्के। नेपाल फर्केको केही हप्तापछि मोरङबाट पक्राउ परे। जेलबाट रिहा भएपछि राजनीति र वकालतलाई अघि बढाए।  

कामको सिलसिलामा कमल काठमाडौँ आउँथे, मदनलाई भेट्न छुटाउँदैनथे।  

‘हामी सँगै बस्थ्यौँ, पिउँथ्यौँ र रमाइलो गथ्र्याैं,’ कमलले सम्झे, ‘बहुदल आएपछि पनि मैले उनको सहयोग निरन्तर पाइरहेँ।’  

२०५१ को निर्वाचनमा मदनले गरेको सहयोग कहिल्यै बिर्संदैनन्, कमल।  

‘म मोरङमा चुनाव प्रचारमा व्यस्त थिएँ,’ कमलले सुनाए, ‘मदनले मेरो चुनावका लागि सहयोग भनेर आमालाई २० हजार रूपैयाँ दिएछन्।’ 

कमल मदनले गरेको सहयोगको विवरण सुनाइरहेका थिए। आफ्नो प्रशंसाले मदनलाई भने अप्ठेरो लागिरहेजस्तो देखिन्थ्यो। 

‘त्यस्तो ठूलो सहयोग केही होइन,’ मदनले स्पष्टीकरण दिए, ‘कमललाई सहयोग गर्नुपर्‍यो भनेर साथीहरूलाई भनेको थिएँ। उनीहरूले दिएको पैसा हो त्यो। मसँग त त्यत्रो पैसा कहाँ हुनु र!’ 

‘जसरी जुटाएको भए पनि तिमी (मदन) ले मलाई ठूलो सहयोग गर्‍यौ,’ मदनप्रति अझै अनुगृहित छन् कमल, ‘त्यो बेला चुनाव निकै सस्तो थियो, जति धेरै खर्च गरेपनि लाख–डेढ लाखमा उम्किन्थ्यो। तिमी एक्लैले २० हजार रूपियाँ दियौ, त्यो मेरा लागि निकै ठूलो सहयोग थियो।’

सहयोग, निस्वार्थपना र देशप्रेम
दुवैमा मित्रताप्रति उदात्तभाव देखिन्छ। 

मदन अझै कमललाई सहयोग गर्न चुक्दैनन्, चाहे आफूलाई संकट परेको नै किन नहोस्! 

कमल कृतघ्न छैनन्, मदनबाट लिएको सहयोग सुनाउन लाज मान्दैनन्। 

सत्तरी वर्षअघिदेखिको विश्व–चर्चित त्यो पक्राउको घटनाबारे मलाई थोरै जानकारी थियो। झण्डै डेढ दशकअघि म जनआस्था साप्ताहिकमा छँदा कोइराला स्तम्भकार थिए। कमललाई भेट्न मदन बेला–बेला जनआस्था कार्यालय आइरहन्थे।  

यसका बाबजुद कमल–मदनबीचको मित्रता यति गहिरो होला भन्ने जानकारी भने मलाई थिएन। 

जब २७ फागुन २०७९ मा कमल चुनदेवी पुगे, मदनलाई भेटे र भेटबारे फेसबुकमा पोस्ट गरे, त्यसपछि यी दुईबीचको मित्रता श्रीकृष्ण र सुदामाबीचको भन्दा कम रहेनछ भन्ने जानकारी पाएँ। 

त्यो बेला मदन रोगले थलिएका थिए। दुई दिनअघि (२५ फागुन २०७९) को उनको फेसबुक पोस्टमा निकै निराश देखिन्थे उनी। लगत्तै कमलले ‘म तिमीलाई भेट्न आउँछु’ भनेर दिएको वचनमा मदनप्रतिको स्नेह थियो।
 
भोलिपल्टै सकी–नसकी कमल चुनदेवी पुगे। लामो समयपछिको भेट भएकाले सुखदुःखका गफ गर्दागर्दै झमक्क साँझ परेको दुवैले चाल पाएनन्। 

साँझ परेकाले बस नपाइन सक्थ्यो। आफूभन्दा वृद्ध कमललाई साँझमा बस चढेर घर जाँदा अप्ठेरो पर्न सक्छ भन्ने मदनले बुझे। 

मदनले सोधेछन्, ‘घर केबाट जान्छौ?’

‘नेपाल यातायातको बस मेरै घरछेउ भएर जान्छ,’ कमलले जवाफ दिए, ‘त्यही बस चढेर घर पुग्छु।’   

‘साँझ, पानी पनि पर्दैछ, म पठाओ–ट्याक्सी बोलाउन लगाइदिन्छु भन्दै मदनले मलाई दुई हजार रूपैयाँ दिए, केही नबोली मैले चुपचाप (त्यो पैसा) लिएँ,’ घर फर्केपछि कोइरालाले मदनको उदारताको प्रशंसा गर्दै फेसबुकमा लेखे।

कमल कोइराला र मदन रेग्मीको फेसबुक पोस्ट, २७ फागुन २०७९

मदनले गरेको सहयोगबारे कमलको पोस्टबाट मापन गर्न सकिन्छ, यी दुईबीचको मित्रताको गहिराइ!  

त्यो भेटघाटबारे फेसबुकमै मदनले गरेको पोस्ट अझै मार्मिक थियो। 

खासमा घर फर्कन कमललाई अप्ठेरो नहोस् भनेर मदनले आफ्नो उपचारमा खर्च गर्नुपर्ने रकम पो दिएर पठाएका रहेछन्।

‘म धेरै बिरामी छु भन्ने थाहा पाएपछि कमल कोइराला आज मलाई भेट्न आए, उनी फर्कने बेला साँझ परिसकेको थियो। मैले उनलाई– तिमी कसरी घर जान्छौ– भनेर सोधेँ। उनले– बसबाट जान्छु– भने’ मदन लेख्छन्, ‘केही दिनअघि मेरो उपचारका लागि बहिनीले केही रकम दिएकी थिइन्। मलाई लाग्यो– मसँग रहेको पैसा मेरा लागि भन्दा अहिले कमलका लागि बढी आवश्यक छ। (त्यही रकमबाट) ट्याक्सी भाडाबापत मैले कमललाई पाँच सय रूपियाँ दिएँ।’ 

श्रीकृष्ण र सुदामाको मित्रता त काल्पनिक कथा हो, कमल–मदनको मित्रता चाहिँ वास्तविकता। उपरोक्त दुई पोस्टहरूले उनीहरूबीचको मित्रताबारे उनीहरूकै मुखबाट सुन्ने धोको ममा पलायो। 

त्यो अवसर मलाई असोज पहिलो हप्ता मात्र मिल्यो। 

म पहिले बानेश्वर पुगेँ, कमल कोइरालाबाट मदन रेग्मीबारे सुनेँ। अर्को दिन चुनदेवी पुगेँ, मदन रेग्मीले कमल कोइरालाबारे सुनाए। 

मलाई अनुभूति भयो– उनीहरूबीचको मित्रतामा ‘आरोह’ मात्र छ, ‘अवरोह’ छैन। मित्रतामा सुमधुरता मात्रै छ, तिक्तता कहीँ छैन। सधैँ हार्दिकता र आपसी सहयोग छ, नोँकझोँक कहिल्यै छैन। 

मदनलाई घरबाट निस्केर कमलकहाँ जाने उत्कट धोको थियो। तर, ओछ्यान परेको कमजोर शरीर र बिग्रँदो स्वास्थ्यले कमललाई भेट्न थापागाउँ पुग्ने स्वीकृति दिँदैनथ्यो।

कमललाई पनि फेरि मदनकहाँ पुग्ने उस्तै चाहना थियो। तर, बुढ्यौलीका कारण हिम्मत जुटाउन सकिरहेका थिएनन्।   

५ असोजका दिन हामी (नेपालखबर) कमल कोइरालालाई साथ लिएर अपरान्ह चुनदेवीस्थित मदन रेग्मीको निवास पुग्यौँ। 

ओछ्यानमै पल्टिरहेका मदन कमललाई देखेपछि मुस्किलका साथ उठे। मदनको मुहारमा अचम्मको चमक देखियो। 

‘कमल, म तिम्रो फेसबुक पोस्ट पढिरहन्छु,’ मदनले कमललाई आडैको कुर्सीमा बस्न आग्रह गरे। र भने, ‘तिम्रो पोस्ट मलाई साह्रै रमाइलो लाग्छ।’ 

कमलले साह्रै मीठो निश्छल हाँसो हासे। 

हो, फेसबुकमा रमाइला–रमाइला पोस्ट गरिरहेका हुन्छन् कमल। राजनीतिबाहेक मदिरा, माया–प्रेमलगायतका विषयमा पोस्ट गरिरहेका हुन्छन् उनी। कुनै युवतीसँगको मीठो बातचित पनि फेसबुकमा तत्काल उल्लेख गर्छन्। 

कहिलेकाहीँ फेसबुकबाटै माया–प्रेमको अपेक्षा गरिरहेका हुन्छन् सायद।

कमलको मान्यता छ– जतिञ्जेल बाँचिञ्छ, तनावरहित भएर जीवन जिउनुपर्छ। खासमा ८६ वर्षे कमलका यस्ता फेसबुक पोस्टहरू उच्छृङ्खलताका उदाहरण होइनन्, बाँकी रहेको छोटो जीवन तनावमुक्त र रमाइलो गरी बिताउनुपर्छ भन्ने मान्यताका उपज हुन्। 

कमल–मदनबीचको यो भेटघाट पनि करिब दुई घण्टा लामो रह्यो। उनीहरूले त्रिचन्द्रकालीन विद्यार्थी जीवन, बाबुहरू सरकारमा रहँदाको पक्राउ, पञ्चायत र बहुदल–गणतन्त्रसम्मका घटनाहरूको स्मरण गरे। 

बीच–बीचमा मैले राखेका जिज्ञासाहरूको जवाफ दिए।

माया–प्रेम र पारिवारिक जीवन पनि त्यसदिन गफगाफको विषय बने।

‘अनि नि कमल! तिमीलाई याद छ– ईश्वर (मानन्धर) को घर अघिल्तिरकी ती केटीको!’ मदनले कमलसँग किशोरवयकालीन एक रोचक प्रसङ्ग कोट्याए, ‘सुनगाभा (परिवर्तित नाम) सँग तिम्रो पनि लभ थियो, होइन?’ 

‘ए, मैयाँ... मैयाँ,’ सुनगाभालाई घरमा बोलाइने ‘मैयाँ’ नाम कमललाई अहिलेपनि सम्झना रहेछ। 

कमल र मदन दुवै रुमानी संसारमा फर्के। 

‘हामी भर्खर १५–१६ वर्षका थियौँ, मैयाँ १२–१३ वर्षकी थिई। यसो हेर्‍यो कौसीमा...ऊ देखा पर्थी, कहिलेकाहीँ हाम्रो आँखा जुध्थ्यो’ कमलले भने, ‘त्यो बेला आँखा जुध्यो मात्रै भनेपनि ‘ओहो, ‘आज त क्या गजब भयो’ भनेजस्तो हुन्थ्यो। केटीले यस्सो पुलुक्क हेरिदिई भने संसार जितेजस्तो लाग्थ्यो। त्यही थियो त्यो बेलाको लभ।’ 

मदनले थपे, ‘भर्खरकी, असाध्यै राम्री थिई, कहिलेकाहीँ भेट पनि हुन्थ्यो। हामी ईश्वरको घरको कौसीबाट लुकीलुकी उनलाई हेर्थ्यौं।’

ईश्वर मानन्धरसँगको मित्रता, ईश्वरकी आमाबाट पाइने स्नेह, त्यहाँ पाइने मीठो जाँडका अलावा सुनगाभा पनि रञ्जना गल्लीस्थित ईश्वरको घरले कमल–मदनलाई त्यो बेला आकर्षित गर्ने एउटा कारण रहिछन्। 

जब कमल–मदन ‘कान्ता भवन’ सरे, त्यसपछि त्यो ‘एकतर्फी प्रेम’ को अन्त्य भयो। केही महिनापछि कमल विराटनगर फर्के, मदन पनि थप अध्ययनका लागि पटना गए। 

उमेर चढेसँगै कमल र मदन दुवैको आ–आफ्नो घरबार भयो। सुनगाभाको त अझ अगाडि नै, कमल–मदनका एक मित्र (जो अहिले यो संसारमा छैनन्) सँग बिहेवारी भइसकेको थियो। 

ईश्वर मानन्धरको घरको कौसी र झ्यालबाट लुकीलुकी हेर्दा देखिने सुनगाभा, तिनको सुन्दर र निर्दोष अनुहार, कहिलेकाहीँ (सुनगाभा) झ्यालमा भुलुक्क झुल्किँदा आफैलाई लुकेर हेर्न खोजेकी हुन् भन्ने अनुभूति, मर्निङवाकमा निस्केका बेला जम्काभेट हुँदा बुर्कुसी मार्ने मुटुको धड्कन! 

यी सबै घटनाहरू कमल–मदन दुवैका साझा र प्रिय संस्मरणहरू हुन्, जो उनीहरूको हृदयमा जीवनपर्यन्त रहनेछन्।   

‘त्रिचन्द्र पढ्दा तिम्रा अरु केटी साथीहरू पनि थिए नि, होइन?’ मदनले सुनगाभा–प्रसंगपछिका थप ‘अफेयर्स’हरू कमलबाट सुन्न चाहे। 

त्यसबखत आर्ट्स (मानविकी) पढ्ने छात्राहरूको रोजाइ हुँदो रहेछ– पद्मकन्या क्याम्पस। त्रिचन्द्रमा पनि छात्राहरू नहुने त होइनन्। तर तिनीहरू अक्सर विज्ञान संकायमा भर्ना हुँदा रहेछन्। त्रिचन्द्रमा मानविकी संकायमा भर्ना हुने छात्राहरूको खडेरी पर्दाे रहेछ। 

त्यसबाहेक युवा–युवतीहरूका लागि उन्मुक्त जमाना त्यो थिएन, अहिलेजस्तो। केटा र केटीबीच बोलचाल हुनै मुस्किल पथ्र्याे। युवतीहरू लाजले पुरिएर क्याम्पस पुग्थे। केटाहरू पनि प्रेम प्रस्ताव राख्न दकस मान्थे, हत्पत्ति मुख खोल्न सक्दैनथे। 

‘केटीहरू हिँड्दा एकदम सोझो आँखा पारेर हिँड्थे, केटाहरूलाई हेर्दै हेर्दैनथे, लजाउँथे। उनीहरूले यस्सो हेरिदिए भने हामीलाई ठूलो कुरो हुन्थ्यो,’ कमलले सुनाए, ‘केटीहरूले आक्कल–झुक्कल हेरिदिए भने ‘ल आजचाहिँ हेरी’ भन्ने हुन्थ्यो। त्यो बेला हामी निकै खुसी हुन्थ्यौँ।’  

धेरै युवायुवतीमा प्रेम मनभित्रै जन्मिन्थ्यो र मनभित्रै मरेर जान्थ्यो।  

रोचक पाराले कमल त्यो एकतर्फी प्रेमको कहानी सुनाउँदै थिए। 

थाहा छैन–सुनगाभा यो संसारमा छन् वा छैनन्! तर, कमलसँगको त्यो कुराकानीका क्रममा ७० वर्षपछि फेरि सुनगाभा आइन् र उनको मस्तिष्क वरिपरि घुम्न सुरु गरिन्। 

‘केटाकेटी छँदा धेरै यस्ता कुरा हुँदा रहेछन्, एकले अर्कोलाई साँच्चिकै मन पराउने हुँदो रहेछ, छुट्टिने पनि हुँदो रहेछ,’ मदनले किशोरवयकालीन प्रेमको संश्लेषण गरे, ‘एकोहोरो होस् वा दोहोरो– आखिर प्रेम त प्रेम नै हो नि!’ 

सुन्दरीहरूका लागि राजाहरूले राज्यत्याग गरेका र राज्यलाई युद्धमा होमेका बग्रेल्ती घटनाहरू हाम्रा धर्मशास्त्र र इतिहासमा छन्। आफूले मन पराएकी युवतीलाई अर्कोले मन पराउँदा ईष्र्याले जलेका युवाहरूबीच खुकुरी हानाहान र हत्याका घटना अहिले पनि सुन्न पाइन्छ। 

कमल र मदन भने पृथक थिए। एकै युवती मन परे पनि सुनगाभाप्रतिको समानान्तर आकर्षणले यी दुईबीच ईष्र्या जगाएन, उनीहरूको मित्रता तोडिएन।  

कमल ८६ र मदन ८५ वर्षमा पुग्दा उनीहरूमा फरक–फरक विशेषता विकसित भएका छन्। कमल बाल्य र किशोरकालका घटनाहरू सहजै सम्झन र तिनलाई रोचक पाराले प्रस्तुत गर्न सक्छन्। 

मदन भने कमलले सम्झेका घटनालाई संश्लेषण गर्न पोख्त छन्। 

मदनका बुझाइमा, उनीहरूको उतारचढावरहित मित्रताको कारण वैचारिक निकटता हो, राष्ट्रप्रेम हो, निस्वार्थपना हो। 

‘कमलका बा प्रधानमन्त्री, मेरा बा परराष्ट्रमन्त्री– हाम्रा बाहरू सरकारको मुख्य पदमा रहँदा हामीले नेपालमा भारतीय दबदबा र हेपाइ नजिकबाट देख्न पायौँ,’ मदन भन्छन्, ‘त्यही कारण हामी कम्युनिस्ट पार्टीसँग नजिकियौँ, भारतीय हस्तक्षेपका कारण हामीमा देशप्रेम जागृत भयो। हामीबीचको मित्रताको जग हामीभित्र जागृत त्यही देशभक्ति हो।’

२०५३ मा महाकाली सन्धि संसदबाट अनुमोदन हुँदा कमल प्रतिनिधि सभा सदस्य थिए। सन्धिको पक्षमा मतदान गर्न एमालेले ह्विप लगाएको थियो। ह्विप अस्वीकार गर्ने सीमित साहसी सांसदमध्येका एक हुन् उनी।  

८६ वर्षमा पनि कमलको लेखनकार्य जारी छ। पत्रपत्रिकामा लेखिरहेकै छन्। उनको लेखनमा राष्ट्रवाद भरपुर पाइन्छ। नेपाली राजनीतिमा विदेशी प्रभाव र हस्तक्षेपको उनी विरोध गरिरहेका हुन्छन्।

मदनको निकट सम्बन्ध तुलसी गिरि, मरिचमान सिंह, लोकेन्द्रबहादुर चन्दजस्ता राष्ट्रवादी धारका पञ्चायतकालीन हस्तीहरूसँग थियो। चाहेको भए उनी मन्त्री बन्न सक्थे। राजदूत सजिलै बन्न सक्थे। 

तर, मदनले पदीय लोभ कहिल्यै देखाएनन्। 

एमाले बन्नुअघि नेकपा (मार्क्सवादी) को पोलिटब्युरो सदस्य रहेका कमलले पनि सांसद हुँदा समेत मन्त्री बन्ने लोभ कहिल्यै गरेनन्। 

हो, उनी दक्षिण कोरियाका लागि पहिलो नेपाली राजदूत भए। कम्युनिस्ट आन्दोलनमा निरन्तरताको कदरस्वरूप उनलाई राजदूतको जिम्मेवारी दिइएको थियो।  

‘कमलले राजदूतको जिम्मेवारी पाउँदा म छक्क परेको थिएँ,’ मदन भन्छन्, ‘तर, कमलको स्वभावका आधारमा म भन्नसक्छु– मागेर उसले राजदूत पद पाएको होइन।’ 

‘राजाको भोज पनि खाइयो, तर दरबारिया कहिल्यै भइएन, ठुल्ठूला पञ्चहरू साथी थिए, तर पञ्चायतमा गइएन,’ मदनले थपे, ‘आफूलाई न मैले कहिल्यै बेचबिखनको साधन बनाएँ, न कमलले बनायो।’ 

‘देशभक्ति र राष्ट्रप्रेमलाई केन्द्रमा राखेका कारण हरेक विषयमा, हरेक क्षणमा हाम्रो विचार समान खालको रह्यो,’ मदनको निष्कर्ष छ, ‘समान विचारले हामीलाई मित्र बनायो, त्यहीकारण उतारचढावबिना एकनासले मित्रता यहाँसम्म आइपुग्यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .