ad ad

समाज


डीआईजी बढुवा अर्को महिना मात्रै, थप ३ जनाको अवकाश कुर्दै सरकार

डीआईजी बढुवा अर्को महिना मात्रै, थप ३ जनाको अवकाश कुर्दै सरकार

उजिर कार्की
असोज २१, २०८१ सोमबार १९:४, काठमाडौँ

लामो समयदेखि रिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको बढुवा अर्को महिना मात्रै हुने भएको छ। कात्तिकमा थप तीनजना डीआईजी अवकाश भएपछि मात्र बढुवा गर्ने सरकारको तयारी छ।

एआईजी रामदत्त जोशी, डीआईजी किरण राणा र राजेशनाथ बास्तोला त्यतिबेलासम्ममा अवकाश भइसक्नेछन्। 

अहिले नै नेपाल प्रहरीमा १ अतिरिक्त महानिरीक्षक र ४ जना नायब महानिरीक्षक रिक्त छन्। एआईजीबाट बढुवा गर्दै जाँदा रिक्त डीआईजीको दरबन्दी ५ हुनेछ। तर कात्तिक १८ गतेसम्ममा थप तीनजना अवकाश हुने भएपछि सरकारले एकैपटक २ एआईजी र ८ डीआईजी बढुवाका लागि पर्खिने भएको हो। 

कार्य विभाग प्रमुख एआईजी रामदत्त जोशी कात्तिक १८ गते अवकाश हुनेछन्। उनी नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाश हुन लागेका हुन्। त्यसअघि नै नयाँ प्रहरी ऐन आउने र यो व्यवस्था हटिहाल्ने सम्भावना कम रहेकाले सरकारले एकैपटक बढुवाका लागि उनको अवकाश पर्खिने भएको हो। 

यस्तै राजेशनाथ बास्तोला कात्तिक ११ गते र किरण राणा कात्तिक १६ गते अनिवार्य अवकाश हुनेछन्। उनीहरू पनि उमेर हदकै कारण अवकाश हुन लागेका हुन्। 

उनीहरू अवकाश हुनु एक सातापहिले नै बढुवाका लागि समितिले सिफारिस गर्न सक्छ। यसअघि पनि नेपाल प्रहरीमा एकजना अतिरिक्त महानिरीक्षकको पद रिक्त छ। एआईजी श्यामलाल ज्ञवाली भदौ २६ गते अवकाश भए पनि उनको स्थानमा बढुवा गरिएको छैन। 

अब जोशी पनि अवकाशमा गएपछि एक साथ दुईजना एआईजीको बढुवा गर्ने सरकारको तयारी छ। हाल कार्यरत दुईजना डीआईजी एआईजीमा बढुवा भएपछि मात्रै एसएसपीबाट डीआईजीमा बढुवा गरिनेछ। 

डीआईजीहरू बुद्धिराज गुरुङ, दुर्गा सिंह र कुबेर कडायत मध्येबाट दुईजना एआईजीमा बढुवा हुने सम्भावना छ। तर सरकारले यसअघिकै वरीयता कायम नगरे हाल कार्यरत डीआईजीहरू मध्येबाट जोसुकै एआईजी बन्ने बाटो खुल्ला छ। 

तर डीआईजी कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी भने पछिल्लोपटक डीआईजी भएका हुन्। 

यसअघि डीआईजी विष्णुकुमार केसी भदौ १६ गते र यज्ञविनोद पोखरेल असोज १४ गते अवकाश भएका छन्। यस्तै गएको असार १९ गते उमेशराज जोशी अवकाश भएपछि रामदत्त जोशीलाई एआईजीमा बढुवा गरिएको थियो। जोशी एआईजी भएपछि रिक्त डीआईजीमा पनि बढुवा गरिएको छैन। 

डीआईजी पोषराज पोखरेल एआईजीका लागि सिफारिस भएर पनि बढुवा हुन पाएका थिएनन्। उनको स्थानमा पनि डीआईजी रिक्त भएको छ। हाल एक एआईजी र चार डीआईजीको दरबन्दी रिक्त छ। 

तर असोज १८ गतेबाट दुई एआईजी र ६ डीआईजीको पद रिक्त हुनेछ। हाल कार्यरत दुई डीआईजीलाई पनि एआईजीमा बढुवा गरेपछि सरकारले एकैपटक ८ जनालाई डीआईजीमा बढुवा गर्न सक्नेछ। 

यी हुन् ८ डीआईजीका प्रतिस्पर्धी एसएसपी 
हाल कार्यरत एसएसपीमा सबैभन्दा सिनियर हुन् ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द। तर यसअघि पनि उनीहरू बढुवामा छुट्दै आएका छन्।  
 
ध्रुवराज राउत र भोलाबहादुर रावल २०५१ चैत ५ गते हालका प्रहरी महानिरीक्षक कुँवरकै ब्याची हुन्। उनीहरूलाई अवकाशअघि डीआईजी बन्नै धौधौ परिरहेको छ। 

अर्का एसएसपी गणेश चन्द पनि डीआईजीका बलिया दाबेदार हुन्। उनका ब्याचका सबै डीआईजीदेखि माथि छन्। तर भर्नाबाटै झञ्झट खेप्दै आएको चन्दका लागि भने डीआईजी पद नै अनिश्चित छ। 

एसएसपी सिद्धिविक्रम शाहको टोली पनि डीआईजी बन्ने करिब निश्चित छ। शाह आफ्नो ब्याचबाट सम्भावित आईजीपीकै रूपमा उदाएका थिए। तर यसअघिको सरकारले उनलाई छुटाउँदै उनीभन्दा पछाडि रहेका एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो। 

शाहकै ब्याचका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि डीआईजीका दाबेदार हुन्। 

यस्तै डीआईजी दानबहादुर कार्कीको ब्याचका ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि डीआईजीको लागि प्रतिस्पर्धामा छन्। यी एसएसपीहरू मध्येबाटै सरकारले ८ जनालाई डीआईजीमा बढुवा गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .