ad ad

राजनीति


दुई-दुईपटक चुनाव जिताएका मतदाताकै प्रश्न र विरोध झेल्दै रवि

दुई-दुईपटक चुनाव जिताएका मतदाताकै प्रश्न र विरोध झेल्दै रवि

रामकुमार डिसी
असोज २०, २०८१ आइतबार २१:१४, काठमाडौँ

कुनै बेला यस्तो समय थियो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन झर्ने बित्तिकै सर्मथकले उनलाई घेरिहाल्थे। उनी गएको कार्यक्रममा सर्मथकको थेगिनक्सनु भिड हुन्थ्यो।

चितवनले रविप्रति यति प्रेम दर्साएको थियो कि पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्सान गरेको भन्दै पक्राउ परेका बेला छुटाउन दबाब दियो। पहिलोपटक चुनावी मैदानमा ओर्लंदा जिताएर पठायो। नागरिकता प्रकरणमा गृहमन्त्री र सांसद पद समेत गुम्दा दोस्रोपटक झन् भारी मतसहित जिताएर पठायो। 

तर, अब भने चितवनबासीले उनलाई प्रश्न समेत गर्न थालेका छन्। चितवन–२ को जनप्रतिनिधिको रूपमा ‘सार्वजनिक सुनुवाइ’ गरिरहेका रविले तेस्रो चरणको कार्यक्रममा विरोध प्रदर्शननकै सामना गर्नुपर्‍यो। 

मुख्यतया सहकारी प्रकरणमा जोडिएको विषयले नै उनीविरुद्ध प्रदर्शनलाई जन्म दिएको हो। असोज १८ गते चितवनको मुग्लिनमा आयोजना भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लामिछाने विरुद्धसहकारी पीडितले प्रदर्शन गरेका थिए। 

‘नयाँ पार्टीको नयाँ काम, सहकारीको पैसा झ्वाम’, ‘स्टन्टबाजी बन्द गर’, सहकारीको पैसा फिर्ता गर,’ ‘श्रमजीवी जनताको पैसा खान पाइँदैन’, ‘गरिब मार्न पाइँदैन’, ‘सहकारी पीडितलाई न्याय दे,’ ‘सहकारीको पैसा फिर्ता गर’जस्ता नारा लगाएका थिए। 

त्यस्तै प्रदर्शनको सामना रविले अर्को कार्यक्रममा पनि गर्नुपर्‍यो। नारायणघाटस्थित नारायणी कला मन्दिरमा असोज १९ गते आयोजना भएको कार्यक्रममा उनीविरुद्ध प्रदर्शन भयो। हलभित्र कार्यक्रम चलिरहेका बेला बाहिर सहारा बहुउद्देश्य सहकारी र सनराइज बचत तथा ऋण सहकारीका बचतकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। 

त्यसको प्रतिवादमा रास्वपा कार्यकर्ता उत्रिँदा झडपको स्थिति आएको थियो। त्यसलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै केहीलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा नेपाली कांग्रेस र नेकपा एमालेका स्थानीय कार्यकर्ता समेत थिए। त्यसतर्फ इंगित गर्दै रास्वपाले कांग्रेस–एमालेले आफ्नो कार्यक्रम बिथोल्न खोजेको आरोप लगाएको थियो। 

त्यहाँ पक्राउ परेका सबैलाई त्यही दिन नै छोडिएको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए। 

‘झडप हुने जस्तो स्थिति आएपछि उहाँहरूलाई नियन्त्रणमा लिएका थियौँ,’ उनले भने, ‘केही बेरमा नै उहाँहरूलाई छोडेका थियौँ।’

सहकारीको विषयमा रविले विरोध प्रदर्शनको मात्रै होइन, सुनुवाइ कार्यक्रममा प्रश्नको समेत समाना गर्नुपर्‍यो। सुनुवाइ कार्यक्रममा सहभागी धेरैले उनलाई सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएको विषयमा प्रश्न गरेका थिए। 

रविले त्यसबारे पटक–पटक आफ्ना मतदातालाई जवाफ समेत दिनु परेको थियो। सहकारीको विषयलाई पेचिलो बनाइएको र यसलाई अनावश्यक राजनीतिकरण गरिएका कारण आफू नै यसको खास पीडित रहेको रविको जवाफ थियो। 

उनले भने, ‘वास्तवमा सहकारीको विषय यति पेचिलो बनाइयो, यसलाई अति राजनीतिकरण गराइयो, पीडितका पीडा एकातिर, राजनीतिको रोटी सेक्ने अर्कोतिर। त्यसको सबैभन्दा ठूलो पीडितको रूपमा मैले आफूलाई नै चित्रित गर्छु।’

सहकारी रकमको दुरूपयोगबारे संसदीय समितिले आफूमाथि छानबिन गरेको, केही मान्छे आफूलाई जसरी पनि फसाउन लागि परेको तर आफूविरुद्ध केही पनि प्रमाण नपाएको उनको प्रष्टीकरण थियो। 

‘केही मान्छेको चासो सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रवि लामिछानेलाई कसरी फसाउने भन्नेमा कुरामा थियो भन्ने कुरा त सिंगो देशले देखेको छ नि,’ लामिछानेको भनाइ थियो, ‘त्यति गरी हेर्दा पनि के निष्कर्ष निकालियो भने सहकारीको खाता खोल्ने, त्यो सहकारीको रकम ल्याउने त्यस्तो कुनै पनि कुरामा मेरो कहीँ, कतै, कुनै पनि संलग्नता देखिएन भनेर राज्यको सबै निकाय लागेर बनाइएको प्रतिवेदनमा लिखितरूपमा छ।’ 

तर, टेलिभिजनमा गएको रकम टेलिभिजन सञ्चालक र सेयर होल्डरका रूपमा त्यसको प्रयोग गरेको भन्दै त्यसमा भने उम्किन नपाउने भनेर समितिले भनेको उनी आफैले स्वीकार गरे। 

‘तर, त्यसरी आएको पैसाले टेलिभिजन सञ्चालन भएको र आफू त्यसको सेयर होल्डर समेत भएको हुनाले त्यहाँ चाहिँ जिम्मेवारी लिनुपर्छ भनेर प्रतिवेदनले भनेको छ,’ उनको भनाइ छ, ‘त्यहाँ थाहा पाइनँ भनेर उम्किन मिल्दैन। त्यहाँ दण्डित हुनुपर्छ भनेर मलाई भनिएको प्रतिवेदनमा स्पष्ट छ।’

आफूले कुनै सहकारीको रकम नठगेको मतदातासामु प्रष्ट पार्ने कोसिस गर्दै रविले दोषी पाइए जेल जान समेत तयार भएको बताए। 

‘मैले कुनै पनि सहकारीको रकम अपचलन गरेको छैन आदरणीय मतदाता दाजुभाइ दिदीबहिनीहरू, मैले कसैलाई ठगेको छैन,’ लामिछानेको भनाइ छ, ‘बरु कयौँ ठगहरूलाई जेल कोचेर म राजनीतिमा आएको हुँ। दुई वर्ष लागेर खोज्दा नभेट्टाउनु भएको, अझै खोज्नुहोस् के भेट्टाउनुहुन्छ। म अनुसन्धानमा सघाउँछु। बयान दिन आउँछु। कि जेलै जानुपर्छ, म तयार छु।’ 

सार्वजनिक सुनुवाइ कार्यक्रममा रविलाई चुनावी घोषणा पत्रमा उल्लेख गरेका कुनकुन विषय कार्यान्वयन भए? सिमलताल दुर्घटना हुँदा किन फिल्डमा नआएको? चितवनको विकासमा भएका प्रयास केके हुन्? क्रसर उद्योगले नदी दोहन गर्दा पनि आवाज नउठाएको? पुराना पार्टीको विरोध गरेर उनीहरूकै सरकारमा किन गएको जस्ता प्रश्न सोधिएको थियो। 

त्यस्ता प्रश्नको जवाफ दिँदै उनले आफूले एक्लै सरकार सञ्चालन गर्ने अवसर पाएको हकमा त्यसको समाधान पनि दिन सक्ने बताएका थिए। 

‘एउटा जनप्रतिधिले चन्दा संकलन र सुभेच्छुकबाट सहयोग संकलन गरेर गर्न सक्ने कुराको सीमितता हुन्छ,’ ब्लु बस सेवा सबैतिर सञ्चालन गर्नुपर्ने मागबारे जवाफ दिँदै उनले भनेका थिए, ‘मेरा इच्छाहरू त असीमित छन्, यो चाहिँ राज्यले दायित्व लिओस् भनेर नमुना स्वरूप गरेको हुँ। भोलि, हामीले जनमतबाट सरकार सञ्चालन गर्ने दायित्व प्राप्त गर्‍यौँ भने हामी सार्वजनिक यातायात कस्तो बनाउन चाहन्छौँ भन्ने एउटा नमुनाको रूपमा ब्लु बस सञ्चालन भएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .