समाज


स्वास्थ्य सामग्री किन्न सेनाले पठायो चीन र भारतमा सम्झौता ड्राफ्ट

स्वास्थ्य सामग्री किन्न सेनाले पठायो चीन र भारतमा सम्झौता ड्राफ्ट

उजिर कार्की
बैशाख ४, २०७७ बिहिबार १५:२१,

नेपाली सेनाले चीन र भारतमा स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता पत्रको ड्राफ्ट पठाएको छ।

यसअघि भएको छलफल र पत्र आदान–प्रदानपछि चीन र भारतमा स्वास्थ्य सामग्रीबारे सम्झौता गर्न नेपालको तर्फबाट तयार ड्राफ्ट बिहीबार पठाइएको हो।

यसअघि बुधबार चीन र भारतमा औषधिको अन्तिम सूची पठाइसकिएको छ।

सम्झौताको ड्राफ्टबारे कोरोना क्राइसिस म्यानेजमेन्ट समितिमा बुधबार छलफल भएको थियो। सम्झौताको प्रारम्भिक मस्यौदा अनुसार चीनले ६७ प्रकारका स्वास्थ्य सामग्री नेपाललाई उपलब्ध गराउने छ।

भारतले भने कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री नभएर ५३ प्रकारका औषधि अपलब्ध गराउने बताएको छ।

चीनको एक सरकारी कम्पनीसँग सेनाले स्वास्थ्य सामग्री खरिद गर्न लागेको हो। उक्त कम्पनीका एजेन्ट वाणिज्य दूतावासका कर्मचारी रहेको रक्षा श्रोतले जानकारी दियो। यो कम्पनीले नेपाललाई दिने स्वास्थ्य सामग्री गोन्जाओमा उपलब्ध गराउने बताएको छ।

भारतले भने नयाँदिल्लीस्थित नेपाली दूतावासमा सबै औषधि उपलब्ध गराउने भएको छ। गोन्जाओ र दूतावासबाट नेपाली सेनाले स्वास्थ्य सामग्री ल्याउने छ। सेनाले खरिद गर्ने स्वास्थ्य सामग्रीका लागि अब ती देशबाट नेपालले पठाएको सम्झौताको ड्राफ्टमा रायसहितको प्रतिक्रिया आएपछि जीटूजी प्रक्रियाबाट खरिद सम्झौता हुनेछ।

‘अहिले हामीले एउटा खाका पठाएका छौं। त्यसमा भएको मापदण्ड उनीहरुलाई मान्य नहुन सक्छ। त्यसमा उनीहरुको राय आयपछि हामी पनि आन्तरिक छलफल गर्छौं र सम्झौतामा पुग्छौं,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने।

सेनाले भुक्तानी र खरिद ढुवानी प्रणालीको स्वीकृतिका लागि पनि सँगै प्रक्रिया अगाडि बढाएको छ। भुक्तानीको प्रक्रियाका लागि रक्षा मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा र ढुवानीका लागि पनि मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि तयारी गरिरहेको हो।

मन्त्रिपरिषदको निर्णयपछि मात्रै सेनाले स्वास्थ्य सामग्री ल्याउने मिति तय हुने प्रवक्ता पाण्डेले बताए।

सेनाले ५ देशमा स्वास्थ्य सामग्रीका लागि पत्राचार गरेको भएपनि दुई देशले मात्रै उपलब्ध गराउन सक्ने बताएका हुन्। त्यसमा पनि भारतले औषधि मात्रै उपलब्ध गराउने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .