समाज


मनाङमा सडकमै खसेको हिमपहिरो धमाधम पन्छाइँदै

मनाङमा सडकमै खसेको हिमपहिरो धमाधम पन्छाइँदै

नेपालखबर
फागुन २३, २०८० बुधबार १०:५५, मनाङ

मनाङको ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ। हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या भएको छ।  

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको जानकारी दिए। ‘हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो । सवारीसाधन जानसक्ने अवस्था छैन । सुरक्षाकर्मी पनि हिँडेर पुग्ने हो । अहिले एक्साभेटर र सुरक्षाकर्मीसहितको टोलीले हिउँ फाल्ने काम गरिरहेका छन्,’ उनले भने।

आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो गएको हो। मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ। आज बेलुकीसम्म बाटो खुलाउने प्रयास भइरहेको प्रजिअ लामिछानेले बताए। माथिल्लो मनाङ क्षेत्रमा आवतजावतमा जोखिम बढेकाले यात्रा नगर्न स्थानीय प्रशासनले सूचित गरेको छ। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक आउन थालेका बताए। ‘पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ,’ उनले भने।

समय सकिनलाग्दा परेको भारी हिमपातले किसानलाई राहत मिलेको छ । हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ। 

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् । दुई समयमा मनाङमा पर्यटक घुम्न आउने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .