अन्तर्वार्ता


बिहारका विधायकसँग अन्तर्वार्ता : हिन्दुराष्ट्र बनाउन खोज्दा भारतले नै नेपालसँग सम्बन्ध बिगार्‍यो

‘यो चुनावमा पनि बिहारले भारतको राजनीतिक परिवर्तनको नेतृत्व गर्दैछ’
बिहारका विधायकसँग अन्तर्वार्ता : हिन्दुराष्ट्र बनाउन खोज्दा भारतले नै नेपालसँग सम्बन्ध बिगार्‍यो

एमालेसँग भाइचारा सम्बन्ध रहेको भाकपा (माले)का बिहारका विधायक महानन्द सिंह


जेवी पुन मगर
बैशाख २५, २०८१ मंगलबार १५:४७, अरवल, बिहार

भारतमा चुनाव–५

नेकपा एमालेसँग भाइचारा सम्बन्ध रहेको भाकपा (माले) लिबरेसनका बिहारका विधायक महानन्द सिंहको अरवलस्थित घरमा पुग्दा उनी चुनावी दौडधुपले थाकेर आराम गरिरहेका थिए। बिहारमा चलेको ’लू लाग्ने’ तातो हावामा समेत महानन्द चुनावी दौडधुपमा खटेको बताइरहेका थिए।

कुनैबेला भारतका कम्युनिस्टको नेतृत्वमा गठित दलित र पिछडिएका जातिहरूको सशस्त्र सेना र त्यसको प्रतिरोधमा बनाइएको उच्च जातिहरूको सशस्त्र रणवीर सेनाबीच चलेको जातीय संघर्षले पटनादेखि ६५ किलोमिटर दक्षिणमा पर्ने अरवल भूमिमा सयौँ मान्छे मारिएका थिए। कुनैबेला यो क्षेत्रलाई नक्सल प्रभावित क्षेत्रको रुपमा बुझिन्थ्यो, भारतको त्यो सशस्त्र समूह जसको प्रभावमा नेपाली कम्युनिस्टहरूले पनि सशस्त्र संघर्ष प्रारम्भ गरेका थिए, जसलाई झापा विद्रोहको नामले चिनिन्छ।

भारतमा जारी लोकसभा चुनावमा विपक्षीहरूको गठबन्धन ‘इन्डिया’ बनाउन आफ्नो दलले पहलकदमी गरेको विधायक सिंहले बताए। इन्डिया गठबन्धनमा बिहारमा प्रभावशाली दलको रुपमा रहेको २२ अप्रिल १९६९ मा स्थापित भाकपा (माले) लिबरेसनले २०२० को विधानसभा निर्वाचनमा १९ क्षेत्रमा उम्मेदवारी दिएकोमा १२ सिटमा जित हासिल गरेको थियो।

बिहारमा चल्ने राजनीतिक संघर्ष र परिवर्तनले नेपालमा सिधै प्रभाव पार्ने हुँदा मैले महानन्दसँग चुनावी राजनीतिसँगसँगै नेपाल–भारत सम्बन्धबारे पनि प्रश्न गरेको छु उनकै निवास अरवल पुगेर–

तपाईंहरू भारतमा ‘दक्षिणपन्थी शक्ति बलियो भएको’ भन्दै संविधान र लोकतन्त्रको रक्षाका निम्ति लोकतान्त्रिक, समाजवादी र वामपन्थी शक्ति एकताबद्ध गर्ने भनिरहनुभएको छ। यो अवस्था कसरी आयो?
अहिलेको समय समाजलाई दक्षिणपन्थतर्फ लग्न खोजिरहेको कालखण्ड हो। मोदीले सरकारमा आउनुअघि विभिन्न नारा दिएका थिए, सपना बाँडेका थिए– महँगी कम गर्ने, गुजारा गर्न राम्रो रकम उपलब्ध गराउने, किसानको आय दोब्बर गराउने। तर उनले त्यो वाचा दस वर्ष सरकार चलाउँदा पनि पूरा गर्न सकेनन्। भाजपा पूरै असफल भएपछि उसले धार्मिक हत्कण्डालाई झन् बढाएको छ। अहिले मोदीले धर्मको चास्नीमा डुबाएर जे पस्किरहेका छन्, त्यो अब जनतालाई तितो लाग्न थालेको छ। तिनले अहिले आएर मात्र बुझे, मोदीले हामीलाई झुक्याए। मिठो भनेर तितो चास्नीमा डुबाएको पकवान खुवाए।

तपाईंले बिहारका निर्वाचन क्षेत्र घुम्दा देख्नुभयो होला, राममन्दिरको एजेन्डा यसपालिको चुनावी मुद्दा बन्न सकेन, प्रयत्नका बाबजुद। यसपालिको मुख्य चुनावी मुद्दा भ्रष्टाचार, बेरोजगारी र महँगी बन्यो। अझै महत्वपूर्ण त लोकतन्त्र बचाउने, संविधान बचाउने कुरा आयो। यो गम्भीरताका साथ सबैले महसुस गरिरहेका छन्।

यस्तो स्थितिमा वामपन्थीको जुन भूमिका छ, त्यो यो परिस्थतिभन्दा अलग छैन। अहिले संविधान र लोकतन्त्र बचाउन जसरी जनता संघर्ष गरिरहेका छन्, यस्तोमा हामी ‍वामपन्थीले सम्पूर्ण क्रान्तिको कुरा मात्र गर्‍यौँ भने हामी सामाजिक धारासँग जोडिएर जान सक्दैनौँ, जुन जनताले चाहिरहेका छन् र अहिलेको जरुरत पनि हो। यसैकारण देशका वाम पार्टीहरू पनि यही धारासँग गठबन्धन गरेर हिँडिरहेका छन्। हामी इन्डिया (इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिव अलायन्स) गठबन्धनमा छौँ। र, पूरै अग्रसरताका साथ यो लडाइँ लडिरहेका छौँ।

यो गठबन्धन कसरी बन्यो?
गठबन्धनको निर्णय गर्ने पनि हामी नै पहिलो थियौँ। हाम्रो पार्टीको २०१८ मा बिहारको बांसामा भएको महाधिवेशनमा ‘भाजपाको सरकारले फासीवादी प्रवृत्ति थोपर्दै गइरहेको’ ठम्यायो। भाजपाले लिइरहेको नीति र कार्यक्रमबाटै हामीले यो ठम्याइसकेका थियौँ। आज विपक्षी सबै दल हाम्रो यस विश्लेषणमा सहमत छन्। सरकारको कामकारबाहीमाथि प्रश्न उठाउनेहरूलाई झुटा मुद्दामा फसाउँदै जेलमा हालिदिने, ईडी (इन्फोर्समेन्ट डिरेक्टोरेट) र सीबीआई (सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन) जस्ता संस्थाहरूलाई पकेटको संस्थान बनाएर हैरान पार्ने गरेको देखेर नै हामीले प्रष्ट भनेका थियौँ– ‘यो सरकार फासीवादी बाटोमा छ। हाम्रो लोकतन्त्र खतरामा छ।’

दिल्लीका जननिर्वाचित मुख्यमन्त्री अपदस्थ गरेर जेलमा राखिएका छन्। यो गैरसंवैधानिक काम हो। संविधानले यसको अनुमति दिँदैन। जबकि भ्रष्टाचारका आरोपीजति सबै भाजपामा गएपछि निर्दोष कहलिन्छन्। भाजपाका आरोपीमाथि कुनै कारबाही नै हुँदैन। विपक्षीलाई चाहिँ रातारात कारबाही गरिन्छ। जबकि संविधानले यदि प्रधानमन्त्रीले पनि न्यायसंगत काम गरिरहेको छैन भने उनलाई समेत न्यायिक कठघरामा ल्याएर केरकार गर्ने व्यवस्था गरेको छ।

यिनले निर्वाचन आयोगलाई पकेटको संस्था बनाइदिए। भाजपा सरकारका मन्त्री जे मनमा आउँछ, त्यही गरिरहेका छन्, बोलिरहेका छन्। घृणा फैलाइरहेका छन्। तीमाथि कसैको नियन्त्रण छैन। सरकारको स्वेच्छाचारलाई पहरेदारी गर्ने संस्थाहरूलाई पंगु बनाइएको छ। जनताको अधिकारमाथि हस्तक्षेप गरी तिनको अधिकार संकुचन गरिरहेको छ। संसद् भवन उद्घाटनलाई जसरी राजनीतिक आयोजनमा परिणत गर्नुपर्थ्यो, त्यसो नगरी त्यसलाई धार्मिक आयोजनको स्वरूप दिइयो। यो संविधानको बर्खिलाप हो। अयोध्यामा राममन्दिर उद्घाटन एक धार्मिक आयोजन थियो तर त्यसलाई राजनीतिक रूप दिइयो।

हिन्दु धर्मको राजनीतिकरण गर्ने भाजपाले हिन्दुको सैनिकीकरण गर्ने एजेन्डामा काम गरिरहेको छ। यही नीति बमोजिम उनीहरू सञ्चालित छन्। यसै अन्तर्गत ‘मब लिन्चिङ’ (भीडलाई उकासी हत्या गराइने डरलाग्दो प्रवृत्ति) समेत चलाइयो। संविधानको परिधिभित्र रहने सरकारले संविधानको धज्जी उडाएको यस्ता लामा फेहरिस्त छन्।

यिनले जनताको मताधिकारमाथि पनि हस्तक्षेप गरिरहेका छन्। सुरतमा विपक्षीका ७–८ वटा उम्मेदवारलाई धम्क्याएर नाम थुत्न लगाई आफ्ना उम्मेदवारलाई विजयी घोषित गरियो। चुनावको यस्तो अभ्यासले पनि देखाइसक्यो कि यदि यी फेरि सत्तामा आए भने अर्कोचोटि चुनाव नै हुनेछैन। त्यसैले मैले अहिलेको यो समय खतरनाक समय हो भनिरहेको छु।

तर इन्डिया गठबन्धनभन्दा भाजपाको नेतृत्वमा बनेको एनडीए शक्तिशाली छ, पैसा र शक्तिहीन कमजोर विपक्षीले मोदी लहरलाई यसपालि पनि रोक्न सक्दैन भनिँदैछ। तपाईंहरूको विश्लेषण के छ?
बिहारमा जब इन्डिया गठबन्धन बनेको थियो, त्यतिबेला नितिशकुमार पनि इन्डिया गठबन्धनमा थिए। यदि भाजपालाई सबैभन्दा पहिलो झट्का कसैले दिएको थियो भने त्यो बिहारले दिएको थियो। समाजवादी, लोकतान्त्रिक र वाम सबै एकजुट भएर झट्का दिएका थियौँ। यो हाम्रै महाधिवेशनबाट भएको थियो। २०२२ मा सबै दल हाम्रो महाधिवेशनमा भेला भई गठबन्धनको घोषणा गरी भाजपाविरुद्ध लड्न थालेका थियौँ। यो एकता भाँड्न भाजपाले अनेकन हत्कण्डा अपनाउन थाल्यो। त्यसकै परिणति थियो नितिशजी गठबन्धन छाडेर चुनावको मुखमा फेरि उतै फर्कनुभो।

बिहार राजनीतिक बदलाव ल्याउने धरती हो। सन् १९७४ मा इन्दिरा गान्धीको निरंकुशताविरुद्ध हिन्दीभाषी क्षेत्रमा फैलिएको सम्पूर्ण क्रान्तिको बागडोर बिहारले नै उठाएको थियो। बिहारका जनताले आफ्नो सहादत दिएर लोकतन्त्र बचाउँदै आइरहेका छन्। यस्तो ऐतिहासिक विरासत बोकेको बिहारले यसपालि पनि परिवर्तनको नेतृत्व गर्नेछ। यस्तो परिवर्तनको संकेत देखिन सुरु गरिसकेको पनि छ।

तपाईंले हेर्नुभो भने २०१९ को जस्तो चुनावी माहोल यसपालि छैन। मोदीको जयजयकार कम भएको छ। फीका भएको छ। किनकि जनतामा चेत आएको छ।

दुई चरणको चुनावसम्म आइपुग्दा भाजपाको हावा फुस्कीसक्यो। भाजपाको कुनै लहर देखिँदैन। यो पहिलाको समय होइन। यसपालिको लडाइँ तगडा छ। दलित, आदिवासी, पिछडिएका जनतालाई के लागेको छ भने भाजपा सरकारले हामीलाई अधिकारसम्पन्न बनाउने हतियार बाबा साहेब (संविधान निर्माता डा. भीमराव अम्बेडकर) को संविधान मास्न खोज्दैछ, संविधानमाथि हमला गर्दैछ, त्यसैले यसलाई जोगाउनु छ। भाजपाले धर्मको नाममा विभिन्न जातजातिमा बाँडिएका यहाँका गरिब जनतालाई एकजुट गर्ने प्रयत्न गरेका थियो, तर उनीहरू असफल भए।

तपाईंले भनिरहनुभएको यस्तो प्रतिरोधी भावना मान्छेहरूमा कसरी उत्पन्न भयो?
बिहारमा सामाजिक स्तरमा तथाकथित उच्च जातिले तल्लो जातमाथि घृणा गर्ने कुसंस्कारमा अझै कमी आएको छैन। उनीहरूको आवाज अहिले पनि दबाइन्छ। तर त्यसले स्वरूप बदलेको छ। अहिले उनीहरू पहिलाजस्तो हतियारको बलमा गरिबलाई दबाउँदैनन्। तिनलाई धार्मिक एजेन्डासँग जोडेर धर्मलाई प्रधान एजेन्डा बनाएर मन्दिर– मस्जिदमा अल्झाएर, मुस्लिमविरुद्ध उभ्याएर या दलित, जनजाति, ओबीसी, जो ज्यादातर गरिब छन्, तिनलाई तिम्रो गरिबीको कारण मुसलमान हुन् भन्दै गोलबन्द गर्ने प्रयत्न भइरहेको थियो। तिनलाई धार्मिक उन्मादमा सक्रिय गराउन खोजिएको थियो। भाजपाले पाकिस्तान र मुसलमानको मुद्दा उठायो। मत ध्रुवीकरणका निम्ति यो मुद्दा उठाइयो र अहिले पनि त्यसलाई निरन्तरता दिइएको छ। यद्यपि यो अहिले कमजोर भएको छ। भाजपाले गरेको यो एउटा नयाँ फासीवादी प्रयोग थियो।

बिस्तारै जसै मोदी सरकारको मुहार उदांगो हुँदै गयो, जसरी लोकतन्त्र र संविधान, जसले आफ्नो समुदायलाई अवसर सिर्जना गरिरहेको छ, त्यो नै खतरामा छ भन्ने कुरा मान्छेले तल्लो स्तरसम्म बुझ्न थाले, तब फासीवादी हत्कण्डा कमजोर हुँदै गयो। किनकि मोदी सरकार आएपछि पहिला आन्दोलन गर्न पाउने पीडितहरूले उप्रान्त आन्दोलन गर्ने अधिकार समेत गुमाउन पुगे। तिनले मोदी सरकारको बदमासी बुझे किनकि आजको पिछडिएको भनिएको समाज १९९७ को होइन, अहिले तिनमा निकै ठूलो बदलाव आएको छ।

बिहार त नेपालसँग जोडिएको प्रदेश हो। यहाँका धेरै मानिस जोसँग मैले भेटेँ, उनीहरूले केही वर्षयता नेपाल–भारत सम्बन्धमा कटुता आएको कुरा गरे। यसमा तपाईंको विचार के छ?
नेपालसँग भारतको सम्बन्ध अहिलेको होइन, प्राचीनकाल देखिकै हो। तर नेपाललाई हामीले जसरी बडाभाइको रवाफमा ‘तिमीहरूले मैले भनेको मान्नैपर्छ’ भन्दै घुर्की देखाउँथ्यौँ, नेपालले टेढो आँखा देखाइदियो। नेपालले भारतको कुरा सुनेन। बराबरीको हैसियतमा खडा हुने अडान लियो। यो आत्मविश्वास कहाँबाट प्राप्त भइरहेको छ, त्यो अलग बहसको विषय हो। तर नेपालले भारतलाई टेर्न छाडेको चाहिँ सत्य हो।

नेपालसँग भारतको जुन किसिमको सुमधुर सम्बन्ध थियो त्यसलाई बिगार्ने काम भारतको तर्फबाटै भएको हो। नेपाल हिन्दुराष्ट्र थियो। उसले हिन्दुराष्ट्र खत्तम गरेर धर्मनिरपेक्ष राष्ट्र बनायो। भारत जहाँ धर्मनिरपेक्ष राष्ट्र थियो, ऊ हिन्दु राष्ट्र बनाउने बाटोमा अग्रसर छ। जुन देश धर्मनिरपेक्षताबाट हिन्दु धर्मतर्फ र जुन देश हिन्दुधर्मबाट धर्मनिरपेक्षतातर्फ बढिरहेको छ, हिन्दुराष्ट्र बनाउने त्यस्तो रणनीति बमोजिम यहाँ धार्मिक उन्माद बढ्दा नेपाललाई असर पर्ने नै भयो। त्यसले दुई देशबीचको सम्बन्धमा ‘दरार’ आउनु स्वाभाविक हो। त्यसरी असर पुगेपछि कहाँबाट हुन्छ सम्बन्ध सुधार?

भारत र नेपालको सम्बन्ध रोटीबेटीको सम्बन्ध हो। यदि तपाईंकहाँ धार्मिक उन्मादले अशान्ति मच्चिएको छ भने यस्तो ठाउँमा कसले वैवाहिक सम्बन्ध राख्न चाहन्छ? नेपालसँग पहिला घनिष्ठ सम्बन्ध थियो। यो जनस्तरमा अहिले पनि छ। तर शासकको गलत नीतिका कारण दुई देशबीचको सम्बन्ध अहिले कमजोर हुन गएको छ। देश–देशको सम्बन्ध मात्र नभई नेपालसँग हाम्रो पार्टी–पार्टीबीच पनि भाइचाराको सम्बन्ध छ। हाम्रो पार्टी र एमालेबीच यस्तो सम्बन्ध छ। यस्तो गाढा सम्बन्ध अहिले बिग्रन गएको छ। चीन आएर हाम्रो भूमि कब्जा गरेको छ, त्यसबारेमा चुँ बोल्नु छैन, स–साना देशलाई आँखा तरेर के हुन्छ?

भारतमा चुनाव शृंखला :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .