नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि नवलपरासीको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन्।
गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका सबै ढोका खोलिएको हो। आज (आइतबार) बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले जानकारी दिए।
नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ।
अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो। त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ।
गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले बताए।
गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने अवस्थामा छ। ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ।
Shares
प्रतिक्रिया