समाज


सर्लाहीको भरत तालमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीया युवतीको मृत्यु, सँगै रहेका दुई युवक पक्राउ

सर्लाहीको भरत तालमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीया युवतीको मृत्यु, सँगै रहेका दुई युवक पक्राउ

नेपालखबर
माघ २१, २०८० आइतबार १०:११, सर्लाही

सर्लाहीको भरत ताल नजिकै शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। युवतीको मृत्यु भएपछि उनीसँगै भरत ताल खुम्न आएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।  

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीका अनुसार बागमती नगरपालिका १२ को भित्री सडकमा मधेश प्रदेश ०३-२५ प ५९२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकै बरहथवा नगरपालिका ७ की १९ वर्षीया अस्मिता रायको मृत्यु भएको हो। 

अम्मिता शनिबार दिउँसो बरहथवा ७ कै २६ वर्षीय मुन्ना यादव र सोही ठाउँका २१ वर्षीय सिद्धान्त शर्मासँग एउटै मोटरसाइकल चढेर भरत ताल घुम्न आएकी थिइन्। उनीहरु तीनैजना छिमेकी हुन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी अस्मितालाई उपचारको लागि सुरुमा बागमतीमै रहेको बागमती मोडेल अस्पताल कर्मैया लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई रौतहटको चन्द्रपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

अस्मिता बरहथवामा रहेको चक्र जनता माविबाट कक्षा १२ उत्तीर्ण गरेकी विद्यार्थी हुन्। सिद्धान्त शर्मा पनि चक्र जनताकै विद्यार्थी भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। मुन्ना यादव भने बरहथवास्थित पूजा समिलको सञ्चालक हुन्।

उक्त मोटरसाइकल भने सिद्धान्त शर्माको भएको प्रहरीले जनाएको छ। 

इन्सपेक्टर गिरीका अनुसार घरबाट भरत ताल घुम्न आउँदा मोटरसाइकल सिद्धान्तले चलाएका थिए। मुन्ना र अस्मिता मोटरसाइकलको पछाडी बसेका थिए। भरतताल पुगेपछि उनीहरुले सँगै चटपटे खाए। 

त्यसपछि मुन्ना र सिद्धान्तलाई छाडेर अस्मिता एक्लै घुम्न भनेर चटपटे पसलबाट निस्केकी थिइन्। निकैबेर बस्दा पनि उनी नआएपछि सिद्धान्तसँग मोटरसाइकलको साँचो मागेर मुन्ना अस्मितालाई खोज्न भन्दै गएका थिए।

मुन्नाले केही पर अस्मितालाई भेटेपछि सिद्धान्तलाई भरत तालमै छाडेर उनीहरु बरहथवातिर फर्किंदै गर्दा दुर्घटना भएको प्रहरीको भनाई छ। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुर्घटनामा मुन्ना भने सामान्य घाइते मात्रै भएका छन्। दुर्घटनाको बेला मोटरसाइकल चलाउने मुन्ना र मोटरसाइकल धनी सिद्धान्त दुबैसँग सवारी अनुमति पत्र नभएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको इन्सपेक्टर गिरीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .