ad ad

खेल


मुटुको उपचारपछि मैदान फर्किन् पुनम

भन्छिन् : त्यस्तो केही गाह्रो महसुस गरिनँ
मुटुको उपचारपछि मैदान फर्किन् पुनम

लक्ष्मी जि.सी
चैत ११, २०७८ शुक्रबार ९:३२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेन्डर पुनम जर्घामगरले ८ महिनापछि फुटबलमा पुनरागमन गरेकी छिन्। 

चितवनमा बिहीबारदेखि सुरु भएको राष्टिय महिला लिगको उद्घाटन खेलमा एपीएफ फुटबल क्लबविरुद्धको खेलबाट पुनमले पुनरागमन गरेकी हुन्। यद्यपि पुनमले पुनरागमन गरेको खेलमा आर्मी एपीएफसँग २–१ ले पराजित भयो। 

गत भदौमा घरेलु मैदानमा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा रहँदा मुटुमा प्वाल देखिएपछि पुनम मैदान बाहिर थिइन्। 

गत असोजमा मुटुको शल्यक्रिया गरेपछि पहिलेकै अवस्थामा पुनमलाई मैदानमा देख्न पाइएको हो।

एपीएफविरुद्धको खेलपछि पुनमले भनिन्, ‘म खेल्नको लागि निकै आतुर थिएँ। पूरै समय मैदानमा बिताएँ। त्यस्तो केही गाह्रो महसुस गरिनँ। लामो समय मैदान बाहिर थिएँ। कतिबेला खेल्न जाउँजस्तो भएको थियो।’ 

शल्यक्रियापछि डाक्टरको सल्लाहअनुसार आफूलाई मैदान फर्कन तयार पारिरहेकी पुनमले मैदानमा पस्ने बेला बंगलादेशसँगको त्यो क्षण भने सम्झिइन्। जहाँ उनलाई १२औँ खेलाडीको रुपमा मैदानमा प्रवेश गराइएको थियो। तर खेलपछि उनले अझै राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गर्छु भन्ने विश्वास पनि जगाइन्।

यो पनि हेर्नुहोस्– पुनरागमन कुर्दै ‘बाह्रौँ खेलाडी’ पुनम

​मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले शल्यक्रियापछि खेल्न सक्दिनन् भन्ने सोचेर उनलाई १२ औँ खेलाडीको रुपमा मैदान पठाउने निर्णय गरे। तर पुनमलाई भने त्यो बेलामा पनि आफू खेल्न सक्छु भन्ने लागेको थियो। अहिले पनि उनी राम्रो खेल्दै राष्टिय टोलीमा फर्कनेमा विश्वस्त छिन्। 

लिगअघिको तयारीका लागि ३ महिना प्रशिक्षण गरेकी पुनम टोलीको हौसलाले आफूलाई कहिल्यै कमजोर महसुस गर्न नपरेको सुनाइन्। शल्यक्रियापछि डाक्टरले उनलाई ३ महिनामा हल्का दौडसहित जगिङ सुरु गर्ने र ६ महिनापछि पहिलेकै अवस्थामा मैदानमा फर्कन सक्ने बताएका थिए। 

गत असोजमा भएको एएफसी महिला एसियन कप छनोट खेल तयारीका क्रममा नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा बङ्गलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।

राष्ट्रिय टोलीले पहिलो पटक भदौमा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न पाउँदा पुनम अन्य खेलाडी जस्तै उत्साहित थिइन्। तर, परिस्थितिले पुनमलाई बेन्चमा सीमित गराएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .