ad ad

खेल


महिला फुटबलको उमेर समूहमा खस्किँदो प्रदर्शन

महिला फुटबलको उमेर समूहमा खस्किँदो प्रदर्शन

लक्ष्मी जि.सी
चैत १३, २०७८ आइतबार १८:२८, काठमाडौँ

दक्षिण एसियाली महिला फुटबलको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म नेपाललाई पनि दाबेदारका रुपमा हेरिन्थ्यो। 

तर, सबै तहमा नेपालका लागि भारत सबैभन्दा ठूलो चुनौतीको रुपमा उभिएको हुन्थ्यो। सिनियर टोलीले खेल्ने साफ च्याम्पियनसिप होस् वा दक्षिण एसियाली खेलकुद (साग), सधैँ भारत नेपालमाथि हावी हुने गरेको छ। भारतबाहेकका राष्ट्रविरुद्ध भने नेपालको प्रदर्शन उच्च रहने गरेको इतिहास छ। 

साफ च्याम्पियनसिपमा अहिलेसम्म ५ संस्करण सम्पन्न भइसकेको छन्। सन् २०१६ मा भएको चौथो संस्करणबाहेक सबैमा नेपाल फाइनल पुगेको छ। तर, अहिलेसम्म च्याम्पियन बन्नसकेको छैन। सबै संस्करणमा भारत नै विजेता बन्दै आएको छ। 

नेपाल फाइनल नपुगेको संस्करणमा बंगलादेशले भारतसँग फाइनल खेलेको थियो। 

सागको ११औँ संस्करणबाट महिला फुटबल समावेश गरिएको थियो। तीनै संस्करणमा नेपाल फाइनल पुगेको थियो। त्यहाँ पनि नेपाल च्याम्पियन भने हुन सकेको छैन। सबै संस्करणमा भारत नै च्याम्पियन बनेको थियो। 

सिनियर टोलीमा दक्षिण एसियाका दुवै प्रतियोगिताका अधिकांश फाइनल खेलेको नेपालको जुनियर टोलीको प्रदर्शन भने सन्तोषजनक रहन सकेन। शुक्रबार मात्रै भारतमा सम्पन्न साफ यू १८ महिला च्याम्पियनसिपमा नेपालको प्रदर्शन बिर्सनलायक रह्यो। 

पहिले बलियो, अहिले कमजोर 
अघिल्लो दुई संस्करणमा टोलीको प्रदर्शन यत्ति कमजोर थिएन। नेपाल, भारत र बंगलादेश सहभागी यू १८ च्याम्पियनसिपमा नेपाल पुछारमा रह्यो। तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्दा नेपाल सबै ४ खेलमा पराजित रह्यो। ४ खेलमा ४ गोलमात्र गरेको नेपालले १८ गोल खाएको थियो। 

जब कि सन् २०१८ भुटानमा भएको पहिलो संस्करणमा नेपाल फाइनलसम्म पुगेको थियो। त्यतिबेला ६ टोलीको सहभागिता रहँदा फाइनलसम्मको यात्रा तय गर्दा टोलीले १४ गोल गर्दै ३ गोलको सामना गरेको थियो। 

गत वर्ष बंगलादेशमा यू १९ च्याम्पियनसिप ५ राष्ट्रको सहभागितामा भएको थियो। जहाँ नेपाल तेस्रो स्थानमा रहेको थियो। फाइनल पुग्न असफल रहे पनि नेपालले ४ खेलमा १० गोल गर्दै १ गोलको सामना गरेको थियो। यसपटक भने नेपाली टोलीले विपक्षी टोलीलाई दबाब दिन सकेन। 

उमेर समूहमा गर्ने प्रदर्शनकै आधारमा भविष्यमा राष्ट्रिय टोलीको प्रदर्शन आकलन गर्न सकिन्छ। भारतविरुद्ध सधै कमजोर रहने गरेको नेपाललाई विस्तारै बंगलादेशले चुनौती दिन थालेको छ। 

‘तयारी नै पुगेन’
यसअघि यू १९ महिला टोलीको प्रशिक्षक रहेका हरिओम श्रेष्ठ पर्याप्त तयारी हुन नसक्दा टोलीको प्रदर्शन खराब रहेको बताउँछन्। 

‘यसपटक हाम्रो प्रदर्शन निकै कमजोर रह्यो। गोल अन्तरपनि धेरै भयो’, उनले भने, ‘हाम्रो तयारी राम्रो भएन। त्यहि कारण प्रदर्शन पनि खराब रह्यो। तयारी समय कम भएकाले टिम सेट हुन गर्न गाह्रो भएको देखिन्छ। प्रतियोगिता अघि २÷३ वटा मैत्रीपूर्ण खेल खेलाउन पाएको भए पनि केही राम्रो हुनसक्थ्यो।’ 

यसपटक टोलीका खेलाडीको फिटनेसमा पनि समस्या देखिएको छ। डिफेन्डर र गोलरक्षकबीच तालमेलको कमी प्रस्टै देखिन्थ्यो। 

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीकी अध्यक्ष पेमा लामा पनि छोटो समयको तयारीका कारण राम्रो प्रदर्शन गर्न नसकेको बताउँछिन्। उमेर समूहको प्रर्दशनलाई सुधार गर्ने हो भने अब ग्रासरुटबाट नै खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने उनको तर्क छ। 

‘महिला खेलाडीको पनि एकेडेमी बनाएर अघि जानुपर्छ’, उनले भनिन्, ‘हामीले यसको प्रस्ताव एन्फा अध्यक्षलाई राखेका पनि छौँ।’

अघिल्लो संस्करणमा टोलीको कप्तान रहेकी गोलकिपर अन्जना राना मगर पनि पहिलाको तुलनामा यो पटक नेपालले राम्रो खेल्न नसकेको बताइन्। 

‘यसपटक बहिनीहरुले खेल्नैसकेका छैनन्। डिफेन्स लाइन अलिक कमजोर देखिएको छ’, उनले भनिन्, ‘गोलकिपरको पनि केही कमजोरी छ। किपर र डिफेन्सको तालमेल मिल्न नसकेको प्रस्ट देखिन्छ।’ 

उमेर समूहको प्रदर्शन सुधार्नका लागि प्रशिक्षण अवधि बढाउनुपर्ने अन्जना बताउँछिन्। 

दक्षिण एसियाका सबै खाले प्रतियोगितामा नतिजाको अपेक्षा गरिन्छ। तर, सिनियर टोलीले जस्तो तयारीको पर्याप्त समय उमेर समूहका टोलीले पाएका छैनन्। 

बंगलादेशबाट सिक्ने कि!
नेपाली टोलीको प्रदर्शन क्रमशः कमजोर हुँदै गर्दा बंगलादेशले भने प्रदर्शन सुधार गर्दै लगेको छ। सुधारका पछाडि बंगलादेशले महिला फुटबलमा गरेको लगानीलाई मुख्य आधार मान्छन् प्रशिक्षक श्रेष्ठ। 

‘बंगलादेशले महिला फुटबलमा ठूलो लगानी गरेको छ’, उनले भने, ‘महिलाका लागि पनि एकेडेमी सञ्चालन भइसकेको छ। दीर्घकालीन योजनाका साथ लगानी गरेको बंगलादेशले विस्तारै प्रदर्शनमा पनि सुधार गरेको छ।’ 

नेपालमा पनि महिलाका लागि एकेडेमी सञ्चालन गर्न ढिला गर्न नहुने श्रेष्ठ बताउँछन्। 

‘जिल्लाबाट २÷४ जना खेलाडी ल्याएर मात्र अब हुँदैन’, उनले भने, ‘उपमेयर कपमा गरेको प्रदर्शनलाई हेरेर खेलाडी छनोट गरेर ठूलो प्रतियोगितामा गएर नतिजाको आशा गर्नु ठीक हुँदैन।’

भदौमा नेपालमा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलपछिको अवस्था स्मरण गर्दै श्रेष्ठले थपे, ‘त्यो खेलपछि हाम्रा खेलाडीहरु कोही घरमा गए। कोही आफ्नो विभागमा गए। उमेर समूहका बंगलादेशका खेलाडी अर्को प्रतियोगिताको तयारीमा जुटे। त्यसले पनि उनीहरुको प्रदर्शन राम्रो भएको हो।’

अघिल्लो संस्करण खेलेका १० भन्दा बढी खेलाडी अहिलेको टोलीमा छन्। 

प्रशिक्षक श्रेष्ठले भने, ‘खेलाडी संख्याका हिसाबले अघिल्लो संस्करण खेलेका खेलाडी अहिले पनि टोलीमा छन्। तर राम्रो प्रशिक्षण विना केही गर्न सकिदैन। यहाँ राम्रो खेलिरहेको आधारमा अन्तर्राष्ट्रिय स्तरमा पनि त्यस्तै खेल्छन् भन्ने छैन। अन्तराष्ट्रिय स्तरमा खेल्न हाम्रो फिटनेसमै कमी देखिन्छ। त्यसमा सुधार ल्याउन समय पर्याप्त चाहिन्छ। छोटो तयारीले धेरै आशा गर्न सकिन्न।’

योजनाबद्ध तयारी, धेरै मैत्रीपूर्ण खेल
सफलताले कमजोरीलाई छोप्छ। कमजोर प्रदर्शनले गल्तीलाई उजागर गर्छ। भविष्यमा महिलाको उमेर समूहको प्रदर्शन सुधार गर्ने हो भने योजनाबद्ध रुपमा तयारी थाल्नुपर्ने हुन्छ। जसरी सिनियर टोलीका लागि पर्याप्त तयारी र मैत्रीपूर्ण खेलको व्यवस्था गरिन्छ उमेर समूहका लागि पनि त्यति नै ध्यान दिनु आवश्यक छ। 

नत्र विना तयारी उमेर समूहको टोलीबाट नतिजाको अपेक्षा गर्नु उनीहरुमाथि दबाब बढाउनु मात्रै हुनेछ। महिला उमेर समूहका घरेलु प्रतियोगिताको संख्या पनि बढाउन आवश्यक छ। सहभागितालाई औपचारिकतामा मात्र सीमित नराखी प्रतिस्पर्धात्मक टोली तयार गर्नका लागि काम गर्न ढिला भइसकेको छ। 

अहिलेका उमेर समूहका खेलाडी नै भविष्यमा राष्ट्रिय टोलीमा पुग्ने हुन्। समयमा ध्यान पुर्याउन नसक्दा महिलाको सिनियर टोलीमा पनि त्यसको असर पर्दैन भन्न सकिन्न। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .