ad ad

खेल


दुर्लभ कीर्तिमानअघि नै करणको त्यो सेलिब्रेसन

दुर्लभ कीर्तिमानअघि नै करणको त्यो सेलिब्रेसन

लक्ष्मी जि.सी
चैत १८, २०७८ शुक्रबार ८:१९, काठमाडौँ

भनिन्छ, क्रिकेट कीर्तिमानको अर्को नाम हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी–२० श्रृखंलामा पनि एकपछि अर्को कीर्तिमान बनिरहेको छ।

मलेसियाविरुद्ध खेल्ने क्रममा बुधबार दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमान बनाएका थिए। मलेसियासँग खेल्दा २१ रन बनाउने क्रममा उनले पूर्व कप्तान पारस खड्कालाई पछि छोड्दै टी–२० आईमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बने। पारसले ३३ खेलमा ७९९ रन बनाएका थिए। 

शुक्रबार पपुवा न्यु गिनीविरुद्ध खेलेका दीपेन्द्रले ३७ खेलमा ४ अर्धशतक ८६९ रन बनाएका छन्। तेस्रो स्थानमा ज्ञानेन्द्र मल्ल छन्। मल्ल ४० खेलमा ३४ इनिङमा ७४८ रन बनाएका छन्। 

शुक्रबार कीर्तिमान बनाउने पालो थियो– तीव्र गतिका बलर करण केसीको। करणले शुक्रबार पपुवा न्यु गिनी (पीएनजी)विरुद्ध २ दुर्लभ कीर्तिमान आफ्नो नाममा लेखाए। 

त्यसअघि उनले टी–२० मा ५० विकेट पूरा गरे। करण नेपालबाट टी–२० आईमा ५० विकेट पूरा दोस्रो खेलाडी हुन्। करणले पहिलो ओभरको चौथो बलमा सियाकालाई आसिफ शेखबाट क्याच गराउँदै ५० विकेटको कोसेढुंगा पार गरेका हुन्। करणले ३६ खेलमा ५० विकेट झारे। संयोग त्यो नेपालको पनि ५० औं टी–२० आई खेल थियो। 

खेलको सुरुवातमा ५० विकेटको आँकडा पूरा गरेका करणले अन्तिम ओभरमा ह्याट्रिक गरे। ह्याट्रिकसँगै उनले पपुवा न्युगिनीविरुद्ध ५ विकेट लिए। कुनै पनि नेपाली खेलाडीको टी–२० मा त्यो अहिलेसम्मकै उत्कृष्ट बलिङ हो। उनले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका हुन्। ह्याट्रिकसँगै एकै खेलमा ५ विकेट लिने उनी पहिलो नेपाली खेलाडी बनेका छन्।

करणले २०१५ मा नेदरल्यान्ड्सविरुद्ध टी–२०आईमा डेब्यू गरेका थिए। करणको टी–२०आईमा यसअघिको उत्कृष्ट प्रदर्शन २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ३ ओभर ३ बलमा १७ रन खर्चेर ४ विकेट लिनु थियो। 

जितमा कीर्तिमानको महत्व झन् बढी हुन्छ। २०४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर ४ बलमा १६६ रनमा अल आउट भयो। करणले २० औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिँदै टी–२०आईमा ह्याट्रिक गरेका हुन्। 

‘ह्याट्रिक र ५ विकेट पनि। यो मेरो अन्तर्राष्ट्रिय क्रिकेटको उत्कृष्ट प्रदर्शन हो। मेरो लागि विशेष हो। खुसी पनि लागेको छ’, खेलपछि करणले भने। चोट कारण दुई महिनाअघि ओमानमा भएको टी–२० विश्वकप छनोट गुमाएका उनी चोटमुक्त भएर राष्ट्रिय टोलीमा फर्केका थिए।

‘मुख्य त चोटको कारण नै विश्वकप छनोट गुमाएको थिएँ। त्यो बेलामा खेल्न सक्ने अवस्थामा थिइनँ। एकदमै गाह्रो भएको थियो। खेल्ने प्रयास त गरेँ। तर सकिनँ’,उनले थपे। 

घरेलु मैदानमा टी–२० का धेरै प्रतियोगिता हुने भएकाले धेरै खेलाडी यसमा अभ्यस्त रहेको करणको अनुभव छ। खेलपछि करणले भने, ‘घरेलु मैदानमा टी–२० का खेल धेरै खेलेँ, मुड पनि त्यही अनुसार आउँछ। यहाँ खेल्ने टी–२० ले अन्तर्राष्ट्रिय खेल खेल्दा फाइदा भएको छ।’

करणले खेल जीवनको सुरुवातमा यस्तो प्रदर्शनको कल्पना गरेका थिएनन्। उनले भने, ‘क्रिकेट खेल्ने हो, जहाँसम्म पुगिन्छ, पुगिन्छ। खेल्दै जाँदा कति रेकर्ड बन्छ कति तोडिन्छ थाहा छैन।’

तीव्र गतिका बलर करणले आफूलाई अलराउण्डर भूमिकामा अब्बल साबित गरिसकेका छन्। बलर र ब्याटर मध्ये कुनमा इन्ज्योए गर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘बलर भएको नाताले ब्याटिङमा बढी इन्ज्योए गर्छु।’

२० औं ओभरमा सुरुवाती दुई विकेट लिएपछि योजना के थियो भन्ने प्रश्नमा करणले भने, ‘सबैको ध्यान फिल्डिङमा नै थियो। ह्याट्रिक बल भएकाले डिफेन्स गर्छ भन्ने सोचेको थिए। तीब्र गतिमा फ्याँके भने डिफेन्स गर्छ भनेर नै सुस्त फ्याँकेको थिएँ।’

करणको अन्तिम बल नासैन पोकना सामना गरेका थिए। तर उनी मिडअफमा क्याच नहुँदै करणले ह्याट्रिक लिएको सेलेब्रेसन गरेका थिए। करणले विकेट लिनुअघि नै सेलिब्रेसन गर्नुको कारण खुलाए। ‘फिल्डर दीपेन्द्र (दीपेन्द्रसिंह ऐरी) थियो। त्यहिँ भएर मैले क्याच नहुँदै सेलिब्रेट गरे। अरु कोही भएको भए गर्ने थिइनँ होला। तर दीपेन्द्र भएर त्यस्तो गरेको हु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .