ad ad

खेल


फुटबल चर्चामा रहेको वर्ष

फुटबल चर्चामा रहेको वर्ष

लक्ष्मी जि.सी
बैशाख १, २०७९ बिहिबार ७:२३, काठमाडौँ

झण्डै तीन दशक लामो इतिहास बोकेको साफ च्याम्पियनसिपको फाइनल  पुग्नु राष्ट्रिय फुटबल टोलीको वर्ष २०७८ को सबैभन्दा सुखद पक्ष हो। दक्षिण एसियाली मुलुकबीच हुने फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा यसअघि नेपालले उपाधि जित्नु त परको कुरा फाइनल पनि पुग्न सकेको थिएन।

त्यसअर्थ फाइनल पुग्नु पनि नेपाली फुटबलको ठूलो सफलता हो। राष्ट्रिय फुटबल टोलीको कमान सम्हालेको छ महिना नबित्दै कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीलाई फाइनल यात्रा तय गराउँदा त्यसको जस पाउने नै भए।

त्यसअघिबाटै अलमुताइरी नेपाली समर्थकका प्रिय भइसकेका थिए। सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने अलमुताइरीलाई समर्थकले मैदान भित्रका विषयमा मात्र होइन, बाहिरका विषयमा पनि उत्तिकै साथ दिँदै आएका छन्।

साफ च्याम्पियनसिपमा जानुअघि अलमुताइरी अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीसँग विवादमा मुछिए। त्यो घटनाले पनि फुटबल भित्रको विवाद छताछुल्ल भयो।

सञ्चारकर्मीसँगको विवादबाट सुरु भएको घटनामा एन्फा पदाधिकारीलाई अलमुताइरीले आफैले मुछ्ने काम गरे। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण आफूले काम गर्न नपाएको गुनासोसहित उनले सामाजिक सञ्जालबाटै पहिलो पटक राजीनामा घोषणा गरे। विवाद लामो समयसम्म चर्कियो।

अलमुताइरी र नेम्बाङबीच छलफल गरेर सहमति बनेको भनिए पनि पछि त्यो विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले छानबिन समिति नै बनायो। त्यसले प्रतिवेदन पनि सार्वजनिक गर्‍यो। तर, त्यसको कार्यान्वयन भने भएन। विषय त्यसै सेलायो। साफ च्याम्पियनसिपका दौरान पनि अलमुताइरीले राजीनामाको पुनः घोषणा गरे। कतार फुटबल संघको सहयोगमा नेपाल आएका अलमुताइरीले पछि सन् २०२३ सम्मको सम्झौता गर्दै आफ्नै राजीनामालाई छायाँमा पारे। 

वर्ष २०७८ मा मैदान भित्र र बाहिरको खेलले फुटबल विशेष चर्चामा रह्यो। विशेषत फुटबल भन्ने बित्तिकै मैदान भित्रको खेललाई लिइन्छ तर नेपालको सन्दर्भमा मैदान बाहिरको खेल अझ रोचक बन्दै आएको छ। 

२०७८ मा पनि नेपाली फुटबलको दृश्य यस्तै देखियो। भदौमा अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादले लामो चर्चा पायो।

यद्यपि यो विषयमा एन्फा अझै मौन छ। मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा वरिष्ठ उपाध्यक्ष नेम्वाङको नाम नै तोकेर स्ट्याटस लेखेपछि विवादले ठुलो रुप लिएको थियो। विवाद समाधानका लागि केही प्रयास भएपनि त्यसले सार्थकता पाउन भने सकेको छैन। उनको नेतृत्वमा अब नेपाली टोली एसियन कप छनोटको तेस्रो चरण खेल्ने तयारीमा जुट्ने क्रममा छ। 

अलमुताइरीले नेपाली टोलीको नेतृत्व सम्हालेको वर्ष दिन पूरा भएको छ। वर्ष २०७८ मा उनको प्रशिक्षणमा नेपाली टोलीले सबै खाले गरि १५ खेल खेल्यो। जसमा साफ च्याम्पियनसिप, विश्व कप तथा एसिया कप छनोट र मैत्रीपूर्ण खेल छन्। त्यस क्रममा उनले ११ खेलाडीलाई डेब्यु दिए। धेरै भन्दा धेरै खेलाडीलाई प्रशिक्षणमा अवसर दिएका उनले झण्डै दशक राष्टिय टोलीको बेन्चमा बिताएका रहेका गोलरक्षक विशाल श्रेष्ठलाई पनि डेब्यु दिए। 

झण्डै वर्ष दिनपछि फरवार्ड विमल घर्तीमगरले घरेलु फुटबल हुँदै राष्ट्रिय टोलीमा पुनरागमन गरे। राष्ट्रिय टोलीकै अर्का सदस्य अनन्त तामाङ इन्डियन सुपर लिग खेल्ने पहिलो नेपाली खेलाडी बने। 

***

कोरोनाका कारण एक वर्ष रोकिएको सहिद स्मारक ए र बी डिभिजन लिग यो वर्ष सम्पन्न भएको छ। राष्ट्रिय टोलीको कप्तानी गरिसकेका कप्तानहरु अनिल गुरुङ र विराज महर्जनले नेतृत्व गरेका दुई टोली रेलिगेसनमा परे। रेलिगेसनमा परेका ब्रिगेड ब्वाइज क्लब अनिल र च्यासल युथ क्लब विराजले कप्तानी गरेका थिए। 

पहिलो पटक ए डिभिजन लिग खेलको सातदोबाटो युथ क्लबले सनसनीपूर्ण प्रदर्शन गरेको थिए। मछिन्द्र फुटबल क्लबले पनि लगातार दोस्रोपटक ए डिभिजन लिगको उपाधि रक्षा गर्न सफल भयो। लिगका दौरान मछिन्द्रका युवा खेलाडी टाउकोमा चोट लागेपछि मनिष डाँगी मैदानमा बेहोस भएर ढलेका थिए। खेलाडी र फिजियोको प्रयासमा मनीषलाई होसमा आए पनि समयमा मैदानमा डाक्टर नपुगेको भन्दै एन्फाको चर्को आलोचना भएको थियो। 

यद्यपि लिग च्याम्पियनको हैसियतामा मछिन्द्रले पहिलो पटक एएफसी कपको प्रारम्भिक चरण खेले पनि पहिलो खेलमै हार बेहोरेर प्रतियोगिताबाटै बाहिरिएको थियो। 

चैतको अन्त्यतिर सम्पन्न बी डिभिजन लिगबाट चर्च ब्वाइज क्लब र खुमलटार युवा क्लब ए डिभिजनमा उक्लिन सफल भएका छन्। त्यस्तै दुई टोली सी डिभिजनमा घटुवा भए। 

***

कोरोनाका कारण फुटबल लगभग शून्यप्राय हुँदा पहिलो पटक फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) आयोजना भयो। फ्लडलाइटमा खेलाएको एनएसएलमा दर्शकलाई प्रवेश त दिइएको थिएन, तर टेलिभिजनमा गरिएको प्रत्यक्ष प्रसारणले दर्शकलाई घरमै बसेर फुटबलको मज्जा लिने माहोल बनेको थियो।

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाबाट पनि एनएसएल पहिलो संस्करणमै सफल भएको अनुमान गर्न सकिन्छ। तर, दोस्रो सिजनमा आइपुग्दा एनएसएल पनि विवादमा परेको छ। विवादकै कारण चैत २६ गतेबाट खेलाउने भनिएको एनएसएल अनिश्चितकालका लागि रोकिएको छ।

खेलाडीको दोहोरो सम्झौताले जटिलता उत्पन्न हुने भन्दै सुरुमा ए डिभिजन क्लबका ८ टोलीले त्यसको विरोध गरे। ४ क्लबले विरोधलाई जारी राख्दा आयोजक एनएसएल रोक्न बाध्य भएको छ। 

***

राष्ट्रिय महिला टोलीले यो वर्ष एकमात्र प्रतियोगिता एसियन कप छनोट खेलेको थियो। हङकङ र फिलिपिन्सविरुद्धको दुवै खेल गुमाउँदै महिला टोली पहिलो चरणबाटै बाहिरियो। त्यसअघि महिला टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। ती दुवै खेल भने नेपाली टोलीले जितेको थियो। 

महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी सम्बाले भने चोटका कारण एसियन कप छनोट र मैत्रीपूर्ण खेल दुवै खेल गुमाएकी थिइन्। बंगलादेशसँगको मैत्रीपूर्ण खेलअघि गरिएको स्वास्थ्य परीक्षणका क्रममा डिफेन्डर पुनम जर्घामगरको मुटुमा प्वाल देखिएपछि उनलाई सम्मान दिने क्रममा १२ औं खेलाडीको रुपमा मैदान प्रवेश गराइएको थियो।

मैत्रीपूर्णका दौरान उनी टोलीमै रहे पनि एसियन कप छनोट टोलीमा उनी थिइनन्। त्यसपछि उनको मुटुको शल्यक्रिया गरिएको थियो। यू–१९ साफ च्याम्पियनसिपमा पनि महिला टोलीको प्रदर्शन बिर्सनलायक रह्यो। 

पटक–पटक मिति सर्दै आएको राष्ट्रिय महिला लिग पहिलोपटक काठमाडाैं बाहिर आयोजना भयो। चितवनमा भएको महिला लिगको पहिलो चरणको अन्तिम खेल वर्षको अन्तिम दिन नै भएको थियो। पहिलो चरणको समाप्तिमा विभागीय टोली एपीएफ फुटबल क्लब अपराजित रहँदै शीर्षस्थानमा छ। 

यही लिगमार्फत चोटमुक्त भएर सावित्रा र सफल शल्यक्रियापछि पुनम फुटबलमा फर्किएका छन्। कतारबाट उपचार गराएर फर्केकी साम्बाले लिगमा एपीएफका लागि १४ गोल गरिसकेकी छन्। पुनमले त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेलिरहेकी छन्। 

महिला खेलाडीको विकासका लागि भनेर नेपाली महिला फुटबल टोलीकी पहिलो गोलकर्ता पेमा डोल्मा लामाले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन्। विभिन्न प्रतियोगितामा भाग लिने क्रममा प्राप्त भत्ता र त्यसमा रकम थपेर अक्षयकोष स्थापना गरेको बताएकी थिइन्। हरेक वर्ष मार्च ८ मा महिला दिवसको अवसरमा सिनियर वा जुनियर अक्षयकोषको ब्याजबाट आउने रकमले सम्मान गर्ने घोषणा लामाले गरेकी छन्। 

कोरोनाका कारण शून्य प्रायदेखि विभिन्न खाले उतारचढाव बेहोरेको नेपाली फुटबलले नयाँ वर्षमा नयाँ नेतृत्व पाउँदै छ। फुटबलको नेतृत्वदायी संस्था एन्फाको निर्वाचन असार ६ गतेका लागि तय भएको छ। जिल्लाको निर्वाचन प्रक्रिया भने नयाँ वर्षको पहिलो दिनबाटै सुरु हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .