ad ad

खेल


एसियन कप कठिन छ तर प्रयास गर्छौं: रोहित चन्द

एसियन कप कठिन छ तर प्रयास गर्छौं: रोहित चन्द

रोहित चन्द


लक्ष्मी जि.सी
बैशाख ४, २०७९ आइतबार ८:३१, काठमाडौँ

एएफसी एसियन कप छनोटमा नेपालले यसपटक इन्डोनेसियासँग पनि खेल्नुपर्नेछ।

इन्डोनेसिया बसेर लामो समयदेखि व्यावसायिक फुटबल खेल्दै आएका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले इन्डोनेसिया राष्ट्रिय टोलीका बारेमा आफू थोरबहुत जानकार रहेको बताएका छन्। 

पर्सिजा जकार्ताबाट खेल्दै आएका रोहितले आफ्नो केही सहकर्मी टोलीमा पर्ने सम्भावना रहेको बताए।

‘म इन्डोनेसियाको टोलीको बारेमा केही जान्दछु। त्यसले हामीलाई केही सहज होला’, उनले भने,‘इन्डोनेसिया भन्दा बाहिर रहेका  खेलाडीलाई यसपटक प्राथमिकता दिएको देखिन्छ। मसँग खेल्ने केही खेलाडी पनि पर्न सक्छन्। अहिले उनीहरुले बलियो टोली बनाइरहेका छन्।’  

एसियन कप छनोटका लागि राष्ट्रिय टोलीले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ।

टोलीका मुख्य प्रशिक्षण अब्दुल्लाह अलमुताइरीले एसियन कपमा छनोट हुन हाम्रो स्तर नपुग्ने बताइसकेका छन्। अलमुताइरीले त्यस्तो भने पनि आफूहरु राम्रो प्रदर्शनका लागि सक्दो प्रयास गर्ने रोहितले बताएका छन्।

उनले भने, ‘प्रशिक्षकले दुई वटा कुरा भन्नुभएको छ, कोचिङको पाटो र समर्थकका हिसाबले। हामी खेलाडीले कोचिङको पाटोबाट हेर्नुपर्छ।’ 

प्रशिक्षकका अनुसार एसियन कपमा छनोट हुने सम्भावना एकदम कम भए पनि आफूहरुले सक्दो प्रयास गर्ने रोहितले सुनाए।

नेपाल टोलीको लक्ष्य एसियन क्वालिफायर भएको र नेपाली टोली त्यसैको लागि जान लागेको हो। विश्वास गरौ हामी राम्रो गर्नेछौँ। 

एसियन कप छनोटमा नेपालले कुवेत, जोर्डन र इन्डोनेसियासँग खेल्दै छ। नेपाल बलियो प्रतिद्वन्द्वी रहेको समूह ए मा रहेकाले पनि एसियन कपमा छनोट हुने  सम्भावना न्यून छ।

नेपालले पछिल्लोपटक कुवेत र जोर्डनसँग विश्वकप छनोटको दोस्रो चरणमा खेलिसकेको छ। छनोटका खेलमा नेपाल कुवेतसँग ७–० र १–० ले पराजित भएको थियो। समग्रमा कुवेतसँगको ८ भेटमा नेपालले ७ खेल गुमाएको छ भने एक खेल बराबरी गरेको छ। 

जोर्डनसँगको अहिलेसम्मको ४ भेटमा नेपालले जित निकाल्न सकेको छैन। ३ खेल गुमाएको नेपालले एक खेलमा मात्र बराबरीको नतिजा निकालेको थियो। 

इन्डोनेसियासँग भने नेपालले अहिलेसम्म एक पटक मात्र खेलेको छ। सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित भएको थियो।

त्यसयता नेपाल र इन्डोनेसियाको भेट भएको छैन। चन्दले सञ्चारमाध्यममा आएका कुरालाई आफूले छानेर मात्र लिने गरेको समेत बताएका छन्।

उनले भने, ‘मिडियामा आउने राम्रो कुरालाई लिन्छु नचाहिने कुरालाई इग्नोर गर्छु। बोल्ने अधिकार सबैलाई भएकाले हामी खेलाडीले आफ्नो प्रदर्शनमा ध्यान दिने हो।’ 

रोहितले अहिलेको समयमा माथिल्लो स्तरमा गएर खेल्न केही गाह्रो हुने समेत बताए। माथिल्लो स्तरमा गएर खेल्ने हो भने अबको दिनमा युथ डेभलपमेन्टलाई ध्यान दिनुपर्ने उनको तर्क छ।

उनको सुझाव थियो, ‘ग्रासरुटमा अझै गर्नुपर्छ अहिलेको अवस्थामा गाह्रो हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .