ad ad

खेल


चोटलाई जितेपछि पुनरागमनमा आशावादी नवयुग

चोटलाई जितेपछि पुनरागमनमा आशावादी नवयुग

फुटबलर नवयुग श्रेष्ठ। तस्बिर : विजय सिंह/नेपालखबर


लक्ष्मी जि.सी
बैशाख ६, २०७९ मंगलबार १६:३९, काठमाडौँ

चोटमुक्त भएर पुनरागमन गरेको छोटो समयमै राष्ट्रिय टोलीको प्रशिक्षणमा डाकिएपछि नवयुग श्रेष्ठले अन्तिम छनोटमा पर्ने आशा राखेका छन्। 

त्रिभुवन आर्मी फुटबल क्लबका यी फरवार्ड एसियन कप छनोटको अर्को महिना हुने प्रतिस्पर्धाका लागि शुक्रबार सुरु भएको प्रशिक्षणको २५ सदस्यीय टोलीमा समेटिएका छन्।

अन्तिम छनोटमा २३ खेलाडी सामेल गर्ने बताएकाले पनि नवयुग फेरि राष्ट्रिय टोलीमा फर्किनेमा आशावादी छन्।

चोटका कारण उनी झण्डै ६ महिना मैदान बाहिर थिए। चोटमुक्त भएर आर्मीको टोलीमा फर्केको छोटो समयमै उनले प्रशिक्षणमा मौका पाएका हुन्। 

राष्ट्रिय टोलीमा पुनरागमन गर्न नवयुग जति आशावादी छन् त्यत्ति नै उत्साहित पनि।

चोटबाट फर्केपछि घरेलु फुटबलमा गरेको प्रदर्शनबाट पनि उनी उत्साहित छन्। चोटपछि शल्यक्रिया र रिह्याब हुँदै उनी पुनरागमन गर्न सफल भएका हुन्।  

नवयुगको क्षमता बुझेका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले घरेलु फुटबलमा फर्केको छोटो समयमै प्रशिक्षणमा समेटेकाले उनी अन्तिम टोलीमा पर्ने सम्भावना बलियो रहेको अनुमान गर्न सकिन्छ।

राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्केका उनले अन्तिम छनोटमा पर्न अझै मेहनत गर्नुपर्ने र फिट हुनुपर्ने राम्ररी बुझेका छन्। 

गत कात्तिकमा साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाली टोलीले त्यसयता मोरिसससँग दुई मैत्रीपूर्णबाहेक अन्य प्रतियोगिता खेलेको छैन।

चोटकै कारण मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नवयुग टोलीमा थिएनन्। उनीबिना आर्मीले सहिद स्मारक ए डिभिजन लिग खेलेको थियो। फागुनमा सम्पन्न लिगमा आर्मी दोस्रो भयो। 

एसियन कप छनोटलाई नवयुगले व्यक्तिगत रुपमा पुनरागमनको एक अवसरका रुपमा पनि लिएका छन्।

‘घुडाँको चोट भनेको सानो चोट होइन, पुनरागमन गर्न गाह्रो हुन्छ', प्रशिक्षणमा सामेल भएपछि शनिबार नवयुगले भने, 'तर रिह्याब र एक्सरसाइज गरेर पुरानै लयमा फर्कने प्रयासमा छु। मेहनत गरिरहेको छु, नेपाली टोलीबाट फेरि खेल्न पाउने आशा छ।’

नवयुग र लामो समयसम्म चोटका कारण मैदान बाहिर रहेका विकास खवासले एकै खेलमार्फत घरेलु फुटबलमा पुनरागमन गरेका थिए।

झापा गोल्डकपमा फागुन २५ नवयुग र विकासले एकै खेलबाट आर्मीमा पुनरागमन गरेका हुन्।

बिर्तामोडमा भएको झापा गोल्डकपमा मानेभन्ज्याङ फुटबल क्लबविरुद्धको क्वार्टरफाइनलमा नवयुग र विकास दोस्रो हाफमा मैदान छिरेका थिए। नवयुगसँगै विकास पनि राष्ट्रिय टोलीको प्रशिक्षणमा छन्। 

लिगको तयारीका समयमा नवयुगको दायाँ घुडाँको मेडिएल कोल्याटरल लिगामेन्ट (एमसिएल) मा चोट लागेको थियो।

गत कात्तिक २६ गते उनको घुँडाको शल्यक्रिया भएको थियो। लिगको तयारीमा रहँदा बिग्रेड ब्वाइज क्लब (बीबीसी) सँगको मैत्रीपूर्ण खेलका दौरान नवयुगलाई चोट लागेको थियो।

***

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले  अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जानकारी दिएको हो।

एन्फाका अनुसार मैत्रीपूर्ण खेल कतारको दोहामा २५ र २९ मे मा हुने तालिका छ। 

एसियन कप छनोटका लागि नेपालले शुक्रबारदेखि प्रशिक्षण सुरु गरेको छ। एसियन कपको छनोटमा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ। 

समूह 'ए' मा रहेको नेपालले ८ जुनमा जोर्डन, ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ। छनोटका सबै खेल कुवेतमा हुनेछन्।

छनोटअघि नेपालले कुवेतमा नै प्रशिक्षण प्रयास पनि गरिरहेको छ। 

तर नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको एशियन कपमा छनोट हुन स्तर नपुग्ने बताइसकेका छन्।

नेपालको ग्रास रुट र युथ फुटबल कमजोर रहेकाले पनि स्तर नपुग्ने उनले यसअघि नै बताएका हुन्। यद्यपि खेलाडीहरूले सक्दो प्रयास गर्ने बताएका छन्। 

२५ सदस्यीय टोली
किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्तीमगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी,तेज तामाङ र विशाल राई।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .