ad ad

खेल


नवौं राष्ट्रिय खेलकुदः कास्कीबाहेकका जिल्लामा कम्तीमा एउटा खेल गर्ने प्रस्ताव

नवौं राष्ट्रिय खेलकुदः कास्कीबाहेकका जिल्लामा कम्तीमा एउटा खेल गर्ने प्रस्ताव

लक्ष्मी जि.सी
बैशाख १२, २०७९ सोमबार ८:१४, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना आयोजना गर्ने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धात्मक र २ प्रदर्शन गरी ३८ खेल समावेश गर्ने घोषणा गरिसकेको छ।

जेठ २२ देखि २८ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुदमा समावेश खेल राखेपले गण्डकी प्रदेशको कास्कीबाहेकका १० जिल्लामा कम्तीमा एउटा खेल आयोजना गर्ने गरि प्रस्ताव तयार गरेको छ। 

लुम्बिनी प्रदेशको आठौं राष्ट्रिय खेलकुद आयोजना गर्दा मुख्य आयोजना स्थल बाँकेलाई बनाएको थियो भने अन्य जिल्लामा पनि विभिन्न खेल आयोजनाको अभ्यास गरेको थियो। यसपटक गण्डकीमा पनि त्यसरी खेल आयोजनाको प्रयास सुरु भएको छ। 

‘नवौं राष्ट्रिय खेलकुदका धेरै खेल कास्कीको पोखरामा नै हुन्छन्’, राखेपअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले भने, ‘बाँकी १० जिल्लामा कम्तीमा एउटा खेल आयोजना गर्ने गरि प्रस्ताव तयार गरेकाका छौं। अन्तिम निर्णय भने हुन बाँकी छ। नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रंगशाला समेत रहेको परिसर रहनेछ। परिसर भित्र पोखरा रंगशाला (फुटबल मैदान र ट्रयाक) , क्रिकेट मैदान, कभर्ड हल, भलिबल कोर्ट, टेनिस कोर्ट, आर्चरी खेलस्थल रहेको छ।’

नवौं राष्ट्रिय खेलकुदमा समावेश पुरुष फुटबल पोखरा रंगशालामा प्रस्ताव गरिएको छ। नवौंको उद्घाटन र समापन पोखरा रंगशालामा नै हुनेछ। महिला फुटबल भने स्याङजाको वालिङमा प्रस्ताव गरिएको छ। पुरुष भलिबल पोखरामा आयोजना गर्दा महिला भलिबल भने म्याग्दीमा गर्ने प्रस्ताव तयार पारिएको छ। 

महिला र पुरुष दुवैतर्फको टेबल टेनिस मनाङमा, कबड्डी नवलपुर, बास्केटबल तनँहु, बुद्धिचाल मुस्ताङमा आयोजना गर्ने प्रस्ताव छ। त्यस्तै महिला र पुरुष दुवैतर्फको आइटीएफ तेक्वान्दो बाग्लुङ, फुलबन्ट्याकट कराते स्याङजा, सेपाकताक्रो गोरखा, खोखो नवलपुर, फेन्सिङ पर्वत, शारीरिक सुगठन लमजुङमा गर्ने प्रस्ताव तयार भएको छ। 

बाँकी अन्य प्रतिस्पर्धात्मक खेल र २ प्रदर्शनी खेल कास्कीको पोखरामा नै आयोजना गर्ने प्रस्ताव तयार पारिएको कार्यालय प्रमुख योगीले जानकारी दिए। 

आयोजकका तर्फबाट गण्डकी प्रदेश खेलकुद परिषद्ले परम्परागत खेल ठेलो र क्यानोइङलाई प्रदर्शनी खेल रुपमा थपेको हो। प्रतिस्पर्धात्मक रग्वी सेभेन ए साइड प्रतियोगितालाई पुनः राष्ट्रिय खेलकुदमा समावेश गर्न लागिएको हो। 

प्रस्तावित खेल स्थलको अवलोकनका लागि राखेपको प्राविधिक टोली केही दिनमा नै गण्डकी प्रदेश पुग्ने योगीले बताए। ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी, सशस्त्र प्रहरी) र एनआरएनए गरी ११ टोलीका झण्डै ६ हजार ८ सय खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने राखेपले यसअघि नै सार्वजनिक गरिसकेको छ। 

दुई वर्षको अन्तरमा राष्ट्रिय खेलकुद आयोजना गर्ने उद्देश्यका साथ २०३८ सालमा सुरु भएको थियो। दोस्रो संस्करण २०४० सालमा पोखरामा नै आयोजना भएको थियो। ३९ वर्षपछि राष्ट्रिय खेलकुद पोखरा (गण्डकी) प्रदेश फर्केको छ। 

नवौं राष्ट्रिय खेलकुदमा समावेश खेल 
एथलेटिक्स, ब्याडमिन्टन, टेबल–टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्नाष्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारिरीक सुगठन, बुद्धिचाल, खो–खो, कराँते, फुल कन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आचरी, साईक्लिङ, फेन्सीङ, ट्राइथेलेन, प्याराग्लाइडिङ र रग्बी ७ ए साइट

​प्रदर्शनी खेल 
ठेलो र क्यानोइङ   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .