भनिन्छ जीवन संघर्ष हो। संघर्षपछि नै सफलताको स्वाद चाख्न पाइन्छ। जिन्दगीमा आफूले चाहेजस्तो पाउने थोरै मात्र होलान्। विभिन्न अप्ठ्यारा पन्छाउँदै अगाडि बढ्न सकियो भने मात्र सफलता हात पार्न सकिन्छ। तर, त्यसको लागि मेहनत भने आफैंले गर्नुपर्छ।
जीवनको यो परिभाषा अल्ट्रा धावक जीवन लामासँग मेल खान्छ। जीवनको विभिन्न आरोह अवरोहको सामना गर्दै उनले यहाँसम्मको यात्रा तय गरेका छन्। उनको जीवन कहानी पनि एक फिल्मको कहानीभन्दा कम छैन।
जीवनले आफू अल्ट्रा धावक बन्छु भनेर कहिल्यै सोचेका थिएनन्। सानोमा चकचके स्वाभावका जीवनको चाहना पनि अल्ट्रा धावक बन्ने थिएन। तर, उनी नेपालकै पहिलो तथा लामो रेस मञ्जुश्री ट्रेल रेसको विजेता बने।
पहिलो संस्करणमा नै विजेता बनेका उनी दोस्रो संस्करण भने दोस्रो भए। तर उनले आफैंले बनाएको रेकर्ड भने तोडे।
जीवनले सुरुवातमा सामूहिक दौडबाट सुरु गरे। पहिलाभन्दा अहिले राम्रो हुँदै गएको छ। पहिला उनी रोड रेसमा दौडिन्थे। तर, त्यहाँ लामो समय टिक्न सकेनन्। उनले आफ्नो लागि अल्ट्रा रेस नै भएको माने अनि अल्ट्रा दौडमा लागे। सुरुवातमा उनले सिन्धुपाल्चोक अल्ट्रा रेसमा ५८ किमिमा भाग लिए। त्यो उनको पहिलो अल्ट्रा रेस थियो।
त्यहाँबाट जीवनलाई अझै लामो दौडमा लाग्न मन लाग्यो अनि बिस्तारै दुरी बढाउँदै गए। त्यसपछि उनले ६० किमि १ सय किमिमा दौडिन लागे। दुरी बढाउँदै जाँदा उनले एक सय माइलसम्मको यात्रा तय गरे।
उनी त्यतिकै दौडमा भने लागेका हैनन्। पुराना कुरालाई बिर्सेर नयाँ जीवनको यात्रामा अगाडि बढे। सन् २०१२–१३ तिर उनी लागू औषधको कुलतमा लागे। ६/७ वर्ष उनले त्यसमै खेर फाले। साथीहरुको संगत कै कारण उनी कुलतमा नराम्रोसँग फसे। तर, उनी त्यसको दोष साथीहरुलाई दिन चाहँदैनन्।
उनी भन्छन्, ‘आफ्नै गल्ती छ, केही साथीहरु पारिवारिक समस्या, केटीसाथीसँगको सम्बन्धले यस्तोमा फसे। तर, मचाहिँ साथीहरुसँग हिँड्ने नयाँनयाँ टेष्ट गर्ने गर्थे। त्यसरी बिस्तारै यसमा फस्न थाले। त्यो बेलामा नयाँनयाँ लागूऔषध कस्तो रहेछ भन्ने इच्छा हुन्थ्यो अनि प्रयोग गर्थेँ।’
तर अहिले भने जीवन त्यो समयलाई सम्झिन पनि चाहँदैनन्। बाटोमा हिँड्दा होस् वा कतै जाँदा दुर्व्यसनमा फसेका व्यक्ति देखे भने उनलाई पुरानो जीवन याद आउँछ। अनि मनमनै सोच्छन्, ‘यो पनि एकदिन दुर्व्यसनबाट टाढा हुनेछ।’ उनी आफैंले पनि यस्ता कुराहरु सेयर गरिराखेका हुन्छन्। उनी चाहन्छन्– आफूलाई देखेर पनि कोही परिवर्तन होस्।
लागूऔषधको दुर्व्यसनमा फसेपछि उनले पुनर्स्थापना केन्द्रमा बसे। त्यसपछि विदेश गए। सन् २०१८ अघि उनी साढे ३ वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा हस्पिटालिटी इण्डष्ट्रिजमा काम गर्थे। । त्यहाँ पनि उनले आफूलाई प्रेरित गर्थे। त्यहाँ काम गर्दै गर्दा उनले त्यो आफ्नो लागि हैन भन्ने सोच्न थाले। पछि नेपालमा नै केही गर्छु भनेर स्वदेश फर्के। स्वदेश फर्केपछि उनी ट्रेकिङतिर लागे।
खेलमा पहिलादेखि नै रुचि भएका उनी साथीहरुसँग भिडियो हेर्थे। अनि बिस्तारै दौडन थाले। यो दौडले उनको जिन्दगी बदल्छ भनेर सोचेका पनि थिएनन्। अहिले भन्छन्, ‘म आफूलाई दौडिँदा ऊर्जावान महसुस गर्छु त्यसैले दौडिन थाले। पहिला कुलतमा फसेको मान्छे मलाई दौडले नै त्यहाँबाट निस्किन मद्दत गर्यो।
‘दौडमा लाग्दा सुरुमा परिवारको साथ उनले पनि पाउन सकेनन्। कति दौडेको होला भन्नुहुन्थ्यो तर पछि बिस्तारै सहयोग गर्न थाल्नुभयो’, जीवन पुराना दिन सम्झिँदै भन्छन्, ‘म दौडसँगै फोटो र भिडियोग्राफी पनि गर्छु।’
‘खेलकुद परिवर्तनको एउटा माध्यम पनि रहेछ’, उनले भने, ‘आफूलाई स्वस्थ्य राख्ने, खानामा ख्याल गर्ने हो भने दौडन सकिने रहेछ।’
Shares
प्रतिक्रिया