घरेलु टोली बंगलादेशलाई बराबरीमा रोक्दै साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ।
ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा सम्पन्न च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै उपाधि उचालेको हो।
खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो।
नेपालका लागि खेलको १४औँ मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
तर दोस्रो हाफमा नेपालले अग्रता जोगाउन नसक्दा बराबरी गर्न पुग्यो। खेलको ५४ औँ मिनेटमा रुमा अख्तरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्।
खेलको अन्तिम मिनेटमा नेपालकी विपना स्नेहीले ह्याण्ड गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो। तर नेपालकी गोलरक्षकले बचाउ गर्दै नेपालको संकट टारेकी थिइन्।
डबल राउण्ड रोबिनमा भएको च्याम्पिनयसिपको शीर्ष स्थानमा रहँदै नेपालले अपराजित रहेर उपाधि जितेको हो। नेपालले ४ खेलबाट १० अंक बनाउँदै च्याम्पियन बनेको हो।
नेपालले पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो।
घरेलु टोली बंगलादेश दोस्रो स्थानमा रहँदै च्याम्पिनयसिप सकाएको छ। भुटान पनि जित विहिन हुँदै तालिकाको पुछारमा रह्यो।
नेपालले भुटानलाई पहिलो खेलमा ७–० मा पराजित गरेको नेपालले दोस्रो खेलमा १–० ले हराएको थियो।
बगंलादेशले भने भुटानलाई पहिलो खेलमा ८–० ले तथा दोस्रो खेलमा ९–० को फराकिलो अन्तरले पाखा लगाएको थियो।
Shares
प्रतिक्रिया