फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफूलाई म्यानचेस्टर युनाइटेड क्लबले धोका दिएको बताएका छन्।
उनले अब आफू क्लबबाट बाहिरिन बाध्य हुने अवस्थामा पुगेको पनि बताएका छन्। गत अगष्टमा युनाइटेडले च्याम्पियन्स लिग खेल्न नपाउने भएसँगै रोनाल्डोले आफ्नो तर्फबाट सक्दो योगदान दिने बताएका छन्। उनले टोलीप्रति आफ्नो आशासमेत रहेको बताएका थिए।
पछिल्लो समय युनाइटेडले रोनाल्डोलाई हटाउन खोजेको समाचारहरु आइरहेको थियो। सोही क्रममा रोनाल्डोले एक अन्तर्वातामा यो समाचारको पुष्टि गरेका हुन्। रोनाल्डोले प्रशिक्षक एरिक टेन हग मात्र नभई क्लबका अन्य २/३ जनाले पनि आफूलाई निकाल्न खोजेको बताए।
क्लबका वरिष्ठ कार्यकारीले निकाल्न चाहेका हुन् भन्ने प्रश्नको उत्तरमा रोनाल्डोले भने, ‘हो, ममाथि धोका भएको अनुभूति भइरहेको छ र मलाई केही मानिसहरु यो क्लबमा रहेको देख्न चाहँदैनन्। यो वर्ष मात्र होइन, अघिल्लो वर्ष पनि उनीहरु मलाई यो क्लबमा रहेको हेर्न चाहँदैन थिए।’
रोनाल्डोले नोभेम्बर ६ यता रोनाल्डोले बिरामी भएको बताउँदै कुनै पनि खेल खेलेका छैनन्। गत महिना चेल्सीविरुद्धको खेलमा युनाइटेडको टोलीमा रोनाल्डो समेटिएनन्। तीन दिनअघि टोटनह्यामसँगको खेलमा सब्स्टिच्युट भएर बाहिरिन नमानेको झोंकमा प्रशिक्षकले उनलाई टोलीमा नराखेका हुन्।
‘मभित्र उनी(प्रशिक्षक)प्रति कुनै सम्मान छैन किनकी उनले मलाई सम्मान दिएनन्। यदि तपाईं मलाई सम्मान दिन सक्नुहुन्न भने मलाई कहिले पनि तपाईंलाई सम्मान दिन सक्दिनँ’, रोनाल्डोले भने।
रोनाल्डोले सबैभन्दा उत्कृष्ट क्लबमा फुटबल खेल्ने इच्छाअनुसार युनाइटेडमा आए पनि एलेक्स फर्गुसनले क्लब छाडेपछि भने क्लब पुरानै धारमा अघि बढिरहेको आरोप लगाए।
Shares
प्रतिक्रिया