पोखरामा जारी १९ औं माछापुच्छ्रे ओपन टेनिस प्रतियोगिताको भेट्रान्सतर्फको उपाधि कमल थापाले जितेका छन्।
उनले ६५ वर्षमाथितर्फको भेट्रान्स सिंगल्समा विदुर विष्टलाई पराजित गर्दै उपाधि जितेका हुन्।
थापाले फाइनलमा विदुरलाई ४-१, ४-० को सोझो सेटमा पराजित गरेका हुन्। थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष हुन्। सोही समूहको डबल्सतर्फ उनी पराजित भए।
थापा मंसिर ४ को निर्वाचनमा मकवानपुर १ बाट पराजित भएका थिए। नेकपा एमालेको समर्थनमा उठेका उनी प्रतिनिधिसभाको निर्वाचनमा तेस्रो भएका थिए।
डबल्स मेन्सतर्फको उपाधि नेपाल नं. १ खेलाडी प्रदिप खडका र नेहाल जंगबहादुर थापाको सम्मिलित जोडीले निशान श्रेष्ठ र रितिक रानाको जोडीलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन्।
खेलमा पहिलो सेट ७-६ ले जितेका प्रदिप र नेहालले दोश्रो सेट ६-२ ले जित्दै उपाधि हात पार्न सफल भए।
प्रतियोगिताअन्तर्गत नै सम्पन्न ३५ वर्षमाथि मेन्स भेट्रान्स डबल्समा जितेन्द्र परियार र चेवाङ लामाको जोडीले कमल भण्डारी र यज्ञ भण्डारीको जोडीलाई सोझो सेटमा पराजित गर्दै उक्त उमेर समूहको खेलको उपाधि जिते। सम्पन्न फाइनलमा जितेन्द्र र चेवाङको जोडीले ६-३, ६-१ ले पराजित गरी उपाधि जितेका हुन्।
त्यस्तै, ३५ वर्षमाथि सिंगल्स सेमीफाइनलमा कमल भण्डारीले चेवाङ लामा लाई ६-३, ६-१ ले पराजित गरी उपाधि नजिक पुगेका छन्।
जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६-३, ६-४ ले पराजित गर्दै कमल भण्डारी संग फाइनलमा आफ्नो भेट पक्का गरे।
४५ वर्षमाथिको मेन्स भेट्रान्स डबल्स फाइनलमा निमा लामा र भारतिय खेलाडी सम्मिलित टि तुलेश्वर सिंहको जोडीले उपाधि जितेको छ।
फाइनलमा उनीहरुले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ६-४, ६-४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका थिए।
५५ वर्षमाथिको मेन्स भेट्रान्स सिंगल्सको उपाधि कृष्णराज घलेले जितेका छन्। फाइनलमा कृष्णराजले अनिल तुलाचनलाई ६-१, ६-१ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन्।
Shares
प्रतिक्रिया