खेल


१७० किलोमिटर लामो ‘मञ्जुश्री ट्रेल रेस’ कात्तिक २४ गतेदेखि, कसरी भाग लिने?

१७० किलोमिटर लामो ‘मञ्जुश्री ट्रेल रेस’ कात्तिक २४ गतेदेखि, कसरी भाग लिने?

तस्बिर सौजन्य : जीवन लामा


नेपालखबर
कात्तिक २२, २०८० बुधबार १३:४१, काठमाडौँ

१७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कार्तिकको २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। सात वर्षअघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो।

२४ गते बिहान ६ बजे  काठमाडौंको दहचोकस्थित कालु पाण्डेबाट १७० किलोमिटर दौड सुरू हुनेछ। यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्रै भएको आयोजकले जनाएको छ।

मञ्जुश्री ट्रेल रेसअन्तर्गत नै लामो दूरीमा सहभागी हुन नसक्नेलाई झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस गरिँदैछ। सबै दौडहरू दह चोकस्थित कालु पाण्डे स्मार्कमै पुगेर सकिनेछन्।

गैह्रनाफामुलक संस्था 'मञ्जुश्री ट्रेल रेस'ले  ट्रेलमाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरेको अध्यक्ष सुवास थापाले जानकारी दिए। कार्यक्रमको ब्यवस्थापनमा आयोजक समितिका पदाधिकारीसहित ५० जना स्वयंसेवक खटिने छन्।

आयोजकका अनुसार १७० किलोमिटरको दौडमा पुरुष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्विजरल्याण्डमा आयोजना हुने 'अल्ट्रा टुर मोन्टा रोस (युटिएमआर)' मा सहभागी हुने अवसर पाउनेछन्। 
उक्त अवसरमा उनीहरूको अर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको सम्योजन मञ्जुश्री ट्रेल रेसले गर्ने  बताइएको छ।

स्विजरल्याण्डमा आयोजना हुने युटिएमआर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तराष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापा बताउँछन्। 

विजेताले नगद र प्रमाणपत्रसहित 'एड्भेन्चर गियर' पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले बताएको छ।

रेसको गत वर्षको सँस्करणमा ४२ जना नेपाली र ३१ जना विदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए।

कसरी भाग लिने?

आयोजकले दौडका लागि आह्वान सुरू गरिसकेको छ। अनलाइनमार्फत नेपाली एवम् विदेशी धावकले आफूलाई इच्छा लागेको दौडका लागि आवेदन दिन सक्नेछन्। जसका लागि आयोजक संस्थाको आधिकारिक वेबसाइटमार्फत आगामी बिहीबारसम्म आवेदन दिन सकिन्छ।

मञ्जुश्री ट्रेल रेसको इतिहास र विषेशता :

विश्वमै चर्चित धावक लिजि हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रुटको परिकल्पना गरेका थिए। त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रुट छिचोले।  

जिमी, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रुटहरूसहित नक्साङ्कन गरेका थिए। विभिन चरणमा विभिन्न ब्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रुट पूर्णरुपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता सँस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आईटीआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबीको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रियस्तरमा महत्वका साथ हेरिन्छ।

आइटीआरएको मापदण्ड अनुसारको 'मञ्जुश्री ट्रेल रेस' पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अङ्क प्राप्त गर्छन्। जुन आईटीआरए सम्बन्धित न्यूनतम् योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ।

यस अगाडि केही सहभागीले २ दिनमा र केहीले ३ दिनमा दौड पूरा गर्ने गरेको थापाले जानकारी दिए। सुविधासम्पन्न राजधानी र अन्तर्राष्ट्रिय एयरपोर्टको नजिक यो जस्तो उत्कृष्ट ट्रेल रेसको रुट अन्य मुलुकमा विरलै भएको आयोजकको भनाइ छ।

ट्रेल रेसको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मन्जुश्री ट्रेल रेस प्रतिष्ठित मानिन्छ। मञ्जुश्री काठमाडौँको ऐतिहासिकतासँग जोडिएको नाम हो। पहिले काठमाडौं उपत्यकामा रहेको पानीलाई मञ्जुश्रीले बगाएर बस्न योग्य बनाएको किम्बदन्ती छ।

मन्जुश्री ट्रेल रेसको रुट काठमाडौं उपत्यकालाई घेरेका पहाडहरूको डाँडैडाँडा भएर अगाडि बढ्छ।

चोभारको डाँडा काटेर मन्जुश्रीले काठमाडौं उपत्यका बनाउन अगाडि अवलोकन गर्दा हिँडेको पदचाप पछ्याउँदै ट्रेल रेसको रुट बनाइएको छ।

आयोजकका अनुसार दौडको रुटमा १९ चेक पोइन्ट रहेको छ। 

कालु पाण्डे स्मारकबाट सुरू भएको रुट रामकोट, जामाचोक, तीनपिपले, गोर्जे भन्ज्याङ, शिवपुरी पिक, चिसापानी, जर्सिङ पौवा, नगरकोट, नालागुम्बा, साँगा, रानीकोट, लाकुरी भन्ज्याङ, फुल्चोकी, लेले, बागमती खोला, फर्पिङ, हात्तीवन, चन्द्रागिरि, चित्लाङ हुँदै पुनः कालु पाण्डे स्मारकमा नै पुगेर सम्पन्न हुन्छ।

मनमोहक दृश्यावलोकन, उपत्यकाको ग्रामिण जीवनको अनुभव लिन पाइने यो रेसले अहिले स्वदेशी र विदेशी सहासिक खेल पर्यटकका लागि आकर्षण बनेको छ। 

हिमालय शृङ्खला, काठमाडौं उपत्यका, जंगल, पहाड, गोरेटोका दृश्यअवलोकन गर्दै गरिने रेस पछिल्लो समय साहसिक खेल प्रेमीहरूमाझ लोकप्रिय बन्दै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .