ad ad

खेल


शालीन खेलाडी विशाल, जो लामो समय किरणको छायामा परे

शालीन खेलाडी विशाल, जो लामो समय किरणको छायामा परे

लक्ष्मी जि.सी
पुस ६, २०८० शुक्रबार २१:९, काठमाडौँ

गोलरक्षक विशाल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टोलीबाट संन्यास घोषणा गरेका छन्। 

नेपाल सुपर लिग (एनएसएल) मा एफसी झापाविरुद्धको खेलपछि विशालले संन्यास घोषणा गरेका हुन्। 

चितवनले झापालाई २–० गोल अन्तरले हराउँदा विशाल खेलको प्लेयर अफ दि म्याच बनेका थिए। 

खेलपछिको पत्रकार सम्मेलन सकिँदा नसकिँदै विशाल केही बोल्न अघि सरे। उनले भने, ‘म थौरै समय लिन चाहन्छु, मेरा केही व्यक्तिगत कुरा राख्नु छ।’ 

उनले एनएसएलकै बारेमा केही भन्लान् भन्ने आशा गरेका पत्रकारमाझ विशालले भने, ‘अब म राष्ट्रिय टोलीबाट संन्यास लिन चाहन्छु। अघोषितरूपमा संन्यास लिएँ भन्दा धेरैले सोधिराख्नुभएको थियो, कहिले भनेर। त्यसैले अहिले औपचारिकरूपमा भन्न चाहन्छु।’ 

उनले भने, ‘यो गलत समय होला तर मैले अवकाश लिइसकेँ। राष्ट्रिय टोलीबाट खेल्न पाएकामा सधैँ खुशी छु।’ 

यसो भनिरहँदा उनी सन्तुष्ट सुनिन्थे। अगाडि थपे, ‘१० वर्ष खेलिसकियो। अब नयाँ पुस्ता पनि आयो। मैले बिदा हुने समय आएजस्तो लाग्यो,’ उनले भने, ‘फर्ममै हुँदा छाड्दा ठिकै लागेको छ। यो सही समय हो।’

राष्ट्रिय टोलीमा समावेश भएको १० वर्षपछि मात्र डेब्युको अवसर पाएका विशालले भने, ‘राष्ट्रिय टिममा हुँदा पनि मौका पाउनुपर्‍यो। अहिले नयाँनयाँ भाइहरू आइरहेका छन्, उनीहरूलाई मौका दिनुपर्छ, त्यसैले त्यो पोजिसन मैले राखिराख्नुभन्दा छाड्नुपर्छ लागेको छ।’

किरणको छाया

पत्रकार सम्मेलनमा उनले आफूले १० वर्ष कुर्नुपरेको क्षणलाई यसरी सम्झिए, ‘किरण (चेम्जोङ) दाइसँग प्रतिस्पर्धा गर्दागर्दै यसअघि नै मेरो १० वर्ष गइसक्यो। अबचाहिँ नयाँ खेलाडीलाई अपडेट गर्ने बेला होजस्तो लागेर संन्यास लिएको हुँ।’ 

राष्ट्रिय टोलीमा हुँदा १० वर्ष बेन्चमा नै बिताएका विशालले २०७८ मा डेब्यु गरेका थिए। 

उनले २०७८ को भदौमा भारतविरुद्ध घरेलु मैदानमा भएको दोस्रो मैत्रीपूर्ण खेलमा विशालले टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङको स्थान लिँदै डेब्यु गरेका थिए, त्यो पनि खेलको ८६औं मिनेटमा।

राष्ट्रिय टोलीमा हुँदाको समयलाई विशाल रमाइलो क्षणको रूपमा सम्झिन चाहन्छन्। भन्छन्, ‘२०११ मा प्रशिक्षक ग्राहम रोबर्टले मौका दिनुभएको थियो, चारजना गोलरक्षक हुँदा मैले मौका पाउँदिनँ भन्ने थियो तर उहाँले मौका दिनुभएकोमा खुसी छु। मेरा साथीहरू रोहित, सागर दाइ सबै समकक्षी अनन्त तामाङ, किरण दाइ सबैले मलाई साथ दिनुभएको छ।’ 

उनले थपे, ‘खेल्न पाउँदा होस् वा नपाउँदा, मोटिभेसनको आवश्यकता पर्छ। सेल्फ मोटिभेसनले मात्र हुँदैन, साथीहरूको साथ पनि चाहिन्छ। अनि मेरो परिवार, जसले सधैँ मलाई अगाडि बढ्न प्रेरणा दिइरह्यो। अनि मेरा फ्यानहरूले साथ दिनुभयो, जसको कारण म यहाँ छु।’

दशक लामो समय राष्ट्रिय टोलीमा रहे पनि विशालले डेब्युको मौका भने पाएका थिएनन्। सन् २०११ को विश्वकप छनोटका क्रममा विशालले टोलीमा स्थान बनाएका थिए। तर, पहिलो रोजाइमा गोलरक्षक किरण चेम्जोङ नियमित हुँदा विशालले खेल्ने मौका पाएनन्। 

दशक लामो अवधि टोलीमा रहँदा विशाल चोटका कारण दुईपटक टोली बाहिर रहे। तर, चोटलाई जित्दै पुनरागमन गरेको २३ सदस्यीय टोलीमा स्थान बनाए पनि अन्तिम ११ मा स्थान बनाउन सकेनन्। 

यसबीचमा विशाल थ्री नेसन्स कप, इराक र कुवेत भ्रमणको टोलीमा अटाएका थिएनन्। तर, गत भदौमा भारतमा भएको साफ च्याम्पियनसिपमा उनले स्थान बनाएका थिए। 

विशाल एक शालीन र अनुशासित खेलाडीको परिचय बनाएका खेलाडी हुन्। तर, उनी राष्ट्रिय खेल जीवनको अधिकांश समय किरणको छायामा रहे।

विशालको फुटबल यात्रा

गोलरक्षक विशाल श्रेष्ठ अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन हुन्। चौथो ब्याचका खेलाडी विशाल २०५९ मा एकेडेमीमा जोडिएका थिए। 

एकेडेमीबाट नै २०६६ सम्म घरेलु प्रतियोगिता खेलेका विशालले त्यसपछि मनाङ मस्र्याङदी क्लबसँग जोडिए। करिब एक दशक मनाङमा बिताएका उनले अर्को ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लबलाई रोजे। २०७६ मा ए डिभिजन लिगको उपाधि होडमा रहेको मछिन्द्रलाई च्याम्पियन बनाउँदा विशाल उत्कृष्ट गोलरक्षक घोषित भएका थिए। 

राष्ट्रिय टोलीमा मौका नपाए पनि विशालले मछिन्द्र फुटबल क्लब र मनाङ मस्याङ्दीबाट लिग उपाधि जितिसकेका छन्। 

राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरे पनि विशाल नियमित फुटबल भए घरेलु प्रतियोगिता भने खेल्ने योजनामा छन्। 

तर, पछिल्लो समय घरेलु प्रतियोगिता नियमित नहुँदा खेलाडी विदेशिने क्रम जारी छ। बाध्यता होस् या रहर खेलाडीको विदेश मोह बढिरहँदा विशाल घरेलु मैदानमा नै रमाउँछन् वा उनी पनि विदेशिनेको पंक्तिमा थपिन्छन्, त्यो भने समयले नै बताउनेछ। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .