ad ad

खेल


ललितपुर सिटी एफसी बन्यो एनएसएल दोस्रो संस्करणको च्याम्पियन

ललितपुर सिटी एफसी बन्यो एनएसएल दोस्रो संस्करणको च्याम्पियन

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
पुस १४, २०८० शनिबार १९:३९, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले उचालेको छ। 

साविक उपविजेता धनगढी एफसीलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै ललितपुरले फाइनल पुगेको पहिलो प्रयासमा नै उपाधि जित्न सफल भएको हो। 

गत सिजन एलिमिनेटरबाट नै बाहिरिएको ललितपुरले फाइनल पुगेको वर्ष नै उपाधि जितेको हो। यता लगातार दोस्रो पटक फाइनल खेलेको धनगढी दोस्रो पटक पनि उपविजेतामा चित्त बुझाउन बाध्य भयो। 

उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता धनगढीले भने २० लाख रुपैयाँमा चित्त बुझाउन बाध्य भयो। 

लिग चरणमा अंकतालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको धनगढीले टाइब्रेकरमा ४–३ ले पोखरा थन्डर्स एफसीलाई हराउँदै फाइनलमा पुगेको थियो। 

यता ललितपुरले भने एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। दोस्रो क्वालिफायरमा ललितपुरले पोखरालाई नै २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। 

लिग चरणमा प्ले अफमा स्थान बनाउन संर्घष गरेको ललितपुरले एलिमिनेटरमा साविक विजेतालाई  र फाइनलमा साविक उपविजेतालाई हराउँदै उपाधि जित्न सफल भयो। 

लिग चरणमा बुटवल लुम्बिनीले विरगन्ज युनाइटेडलाई हराएपछि ललितपुरले प्लेअफमा स्थान बनाएको थियो। प्लेअफमा स्थान बनाएपछि लगातार तिन खेलमा अपराजित रहँदै ललितपुरले उपाधि जितेको हो। 

खेलको इन्ज्युरी समयमा हिजाजीले गोल गर्दै धनगढीलाई ३–२ को अवस्थामा ल्याएपनि जितका लागि पर्याप्त भएन। 

खेलको १३ औं मिनेटमा कमल श्रेष्ठको कर्नर सिधै ललितपुरका गोलरक्षक जेफ्रि विली मार्सेलको हातमा पुग्यो। १६ औं मिनेटमा धनगढीका अहमद हिजाजीले अघि बढाएको बललाई पेनाल्टी एरियाबाट ललितपुरका डिफेन्डरले क्लीयर गरे। 

१७ औं मिनेटमा ललितपुरका आदित्य शाक्यको क्रसमा पापाको प्रहार गोलरक्षक मोहम्मद ताहाले क्लीयर गरे त्यसकै रिबाउण्डमा इमोले बललाई पोष्टको जाली चुमाएपनि रेफ्रीले त्यसअघि नै फाउल दिइसकेका थिए। 

३५ औं मिनेटमा दिनेश हेन्जनको फ्रिकीक सेकेण्डबारको नजिकबाट बाहिरिँदा ललितपुरले अग्रता बनाउने मौका गुमायो।

त्यसअघि खेलको ३८ औं मिनेटमा ललितपुरविरुद्ध धनगढीले सुरुआती अग्रता बनायो। आदित्य चौधरीको लामो प्रहार अहमद हिजाजीले नियन्त्रणमा लिदै गरेको प्रहार ललितपुरका गोलरक्षक जेफ्री विली मार्सेलले नियन्त्रणमा लिन नसकेको बललाई अफिज ओलावालेले पोष्टको दिशा दिए। 

पहिलो हाफमो इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुर खेलमा फर्कियो। इमो इजेकीको फ्रिकीक सिधै गोलमा परिणत भएपछि ललितपुर बराबरीमा आएको हो। 

४६ औं मिनेटमा आदित्य शाक्यको क्रसमा अनिल महर्जनको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा ललितपुरले अग्रता बनाउने मौका गुमायो। 

५० औं मिनेटमा धनगढीविरुद्ध ललितपुरले अग्रता दोब्बर पार्यो। सेसेहाङ आङदेम्बेको लामो पासमा आदित्य शाक्यको क्रसमा दिनेश हेन्जनले उत्कृष्ट गोल गर्दै ललितपुरलाई २–१ को अवस्थामा ल्याए। 

५३ औं मिनेटमा आशिष चौधरीको क्रसमा हिजाजीको प्रहार ललितपुरका गोलरक्षकले सहजै बचाए। 

ललितपुरका दिनेश हेन्जनको क्रस धनगडीका डिफेन्डर रिचर्ड अ‍ोसेले क्लीयर गरेको बल ललितपुरका पापा केबेको अनुहारमा लाग्दै फर्केको बललाई इमोले बाइसाइकल गोल गर्दै पोष्टको जाली चुमाए। 

५८ औं मिनेटमा इमो एजिकिलेको गोलमा ललितपुर ३–१ को अवस्थामा आयो।

७८ औं मिनेटमा धनगढी १० खेलाडीमा सीमित भयो। धनगढीका डिफेन्डर रिचर्ड ओसेले ललितपुरका फरवार्ड इमोलाई खराब ट्याकल गरेपछि दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडे।

खेलको अतिरिक्त समयमा धनगढीले १ गोल फर्कायो। ९७ औं मिनेटमा धनगढीले १ गोल थपेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .