ad ad

खेल


एन्फाको उपेक्षामा महिला फुटबल, खेलाडी भन्छन्- कुन दिन फुटबल खेलिएछजस्तो लाग्छ

एन्फाको उपेक्षामा महिला फुटबल, खेलाडी भन्छन्- कुन दिन फुटबल खेलिएछजस्तो लाग्छ

फाइल तस्बिर


लक्ष्मी जि.सी
पुस १७, २०८० मंगलबार ८:५०, काठमाडौँ

केन्द्रीय सदस्य पेमा डोल्मा लामाले पुस २ गते भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय समितिको बैठक बष्हिकार गरिन्। लामाले एन्फाअन्तर्गतकै महिला संघको प्रतिनिधिको अपमान भएको भन्दै आफूले बहिष्कार गरेको बताएकी थिइन्।

एन्फाअन्तर्गतकै अन्य ३ संघ खेलाडी, प्रशिक्षक र रेफ्री संघका अध्यक्ष एन्फा कार्यसमितिको बैठकमा उपस्थिति रहने चलन भएकाले आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने महिला संघको तर्क थियो। बैठकमा भाग लिन महिला संघकी उपाध्यक्ष कमला हीराचन र महासचिव बिना श्रेष्ठ एन्फा मुख्यालय पुगेका थिए।

केन्द्रीय समितिको सदस्य भएका नाताले आफू एन्फा बैठकमा बसे पनि महिला संघको प्रतिनिधित्वका लागि आफूले उपाध्यक्ष  र महासचिवलाई डाकेको पेमाको तर्क थियो। तर, एन्फा अध्यक्ष पंकज नेम्वाङले महिला संघको अध्यक्षकै प्रतिनिधित्व भएपछि बैठकमा अरू बस्न नमिल्ने जिकिर गरे। त्यसको प्रतिवाद गर्दै पेमाले बैठक छाडिन्।

लामाले उठाएको मुद्दा सुनुवाइ भएन। एन्फा नेतृत्वको शैली हेर्दा भविष्यमा पनि त्यसको सम्बोधन हुने नदेखिएको पेमाको गुनासो छ। महिला संघले अपमान गरेको महसुस गर्दा पनि एन्फा नेतृत्व त्यसको सम्बोधनमा तत्परता देखाएको छैन।

महिलाप्रति एन्फा नेतृत्व कति उदार छ भन्ने यो एउटा उदाहरण मात्र हो। समग्रमा भने एन्फा नेतृत्व महिला फुटबलप्रति नै अनुदार देखिन्छ।

एन्फाको वर्तमान नेतृत्व चयन भएको डेढ वर्षभन्दा लामो समयलाई हेर्ने हो भने महिला फुटबललाई उपेक्षा गरेको प्रष्ट हुन्छ। केही वर्षअघि पुरुष टोली भन्दा व्यस्त रहने महिला टोली अहिले कहिले खेल्न पाइएला भनेर कुर्नुपर्ने अवस्थामा छन्। जसका कारण महिला फुटबलसँग जोडिएकाहरू निराश बन्ने अवस्थामा पुगिसकेका छन्।

पुस २ को बैठकका एजेन्डामा महिला फुटबलको विषय पनि सामेल थियो। तर, त्यसमा कुनै निर्णय भएन।

राष्ट्रिय र उमेर समूहको अन्तर्राष्ट्रिय सहभागितालाई गराउने तयारी बाहेक पछिल्लो २ वर्षमा महिला फुटबलमा एन्फाको कुनै सक्रियता  देखिएको छैन। झण्डै दुई वर्षयता महिलाको घरेलु फुटबल ठप्प छ। स्थानीय स्तरमा केही महिनाअघि चितवनमा महिला फुटबल प्रतियोगिताको आयोजना भएको थियो।  त्यसमा एन्फाको भने कुनै भूमिका थिएन।

महिलाको दाँजोमा पुरुष फुटबल सक्रिय छ। एनएसएलको दोस्रो संस्करण गएकाे शनिबार सकिएकाे छ। अब मोसफलमा नकआउट फुटबलको बाढी नै आउने संकेत छ। साना ठूला प्रतियोगिता विभिन्न जिल्लामा भइरहेका छन्। तर, महिला नकआउट प्रतियोगिताका लागि मोफसलका आयोजकसमेत इच्छुक देखिँदैनन्।

कुनै बेला यू–१४ को महिला फुटबल आयोजना गर्ने एन्फाले पछिल्लो दुई वर्षदेखि महिला लिग गर्न नसक्नुलाई नेतृत्वको प्राथमिकतासँग जोडेर पनि हेर्न सकिन्छ। महिलाका लागि नेपाली सेनाले आयोजना गर्ने प्रधानसेनापती कप पनि केही वर्षयता हुन सकेको छैन।

महिला फुटबललाई एन्फाले उपेक्षा गरेको प्रष्ट छ। महिला फुटबल नियमित रुपमा आयोजना गर्न समेत चुकेको एन्फाबाट महिला खेलाडी उत्पादन र नियमित प्रशिक्षणको अपेक्षा गर्नु मुर्खता हुने महिला खेलाडी तथा प्रशिक्षक बताउँछन्।

प्रतियोगिता नहुँदा महिला खेलाडीलाई टिकाइराख्न स्वभाविक रुपमा कठिन हुने वालिङ नगरपालिकाको महिला टोलीका प्रशिक्षक दिलीप थापा बताउँछन्।

‘खेल नहुँदा फुटबल गतिविधि सुस्ताइ हाल्छ। स्कुल चल्दा यसै पनि खेलाडीहरू पनि व्यस्त हुन्छन्। अब यता गाउँमा खेल पनि धेरै हुँदैन। प्रशिक्षण गर्ने बस्ने हो’ उनले भने, ‘स्याङ्जामा फुटबल हुने भनेको वालिङमा मात्र हो, यहाँ अर्को कुनै विपक्षी टोली पनि छैन। त्यसैले उनीहरूले खेलको कुनै अनुभव नै लिन पाउँदैनन्।’

महिला लिगसँगै विद्यालयस्तरको प्रतियोगिता पनि हुनुपर्नेमा थापा जोड दिन्छन्।

‘अन्तर विद्यालयल प्रतियोगिता भए पो खेलाडीहरू अनुभवी हुँदै जान्छन्। त्यसपछि सिनियर लेभलमा खेल्न पाउँछन्’ उनले थपे, ‘जुनियर लेभलको प्रतियोगिता गरेर सिनियर खेलाडी निकाल्ने हो, सिनियरमा पनि नियमित प्रतियोगिता भए खेलाडी टिकाउन सकिन्छ। अहिलेको अवस्थामा खेलाडी जोगाउन सकिन्न।’

दुई वर्षअघि (२०७८) दुई चरणमा महिला लिग गर्ने निर्णय भएको थियो। त्यसको पहिलो चरण चितवनमा आयोजना भयो। अर्को चरण सुरु नै भएन। गत असारमा एन्फामा नयाँ नेतृत्व भएपछि रोकिएको ठाउँबाट लिग सुरु गर्नु त कता हो कता, पहिलो चरण जहाँ सकियो, त्यही अवस्थाबाट विजेता-उपविजेताको टुंगो लगाउने निर्णय गत फागुनमा बसेको एन्फा बैठकले गर्‍यो।

सुरुमा लिगको विजेताले २० लाख, दोस्रो टोलीलाई १० लाख रुपैयाँ दिने निर्णय भएको थियो। पहिलो चरणबाट लिग सक्ने निर्णय गरेको एन्फाले विजेतालाई ७ लाख र दोस्रोलाई ५ लाख रुपैयाँ दिने बतायो। तर त्यो रकम पनि एक वर्ष हुन लाग्दासमेत एन्फाले भुक्तानी गरेको छैन।

राष्ट्रिय तथा एपीएफ महिला टोलीकी कप्तान रेनुका नगरकोटे महिला फुटबलको अवस्थाबबाट निराश छिन्।

‘एन्फाले महिलाका लागि कुनै प्रतियोगिता गरेको छैन। हामी फुटबलका कारण नै खेल्नका लागि भनेर विभागमा गएका हौं। प्रतियोगिता नहुँदा यो सबै बेकार जस्तो हुने रहेछ’ उनले भनिन्, ‘हामी त विभागमा छौँ, ठिकै छ तर जति पनि जिल्लाका बहिनीहरू छन्, तिनीहरूलाई एकदम गाह्रो भइरहेको छ। १२ महिना प्रशिक्षण गरेर के गर्ने प्रतियोगिता नै नभएपछि?’  

विभागले पनि महिला फुटबल खेलाडीमा किन लगानी गर्ने भन्ने अवस्था आउन सक्ने रेनुका तर्क गर्छिन्।

‘कुनै बेला तलब दिएर प्रशिक्षण मात्र गराएर किन राख्ने भन्ने सोच पनि आउँदैन र? त्यसले मानसिकरूपमा पनि असर गर्ने रहेछ’ रेनुका निराशा पोख्छिन्, ‘त्यति मात्र हैन, क्लबहरूले खेलाडीले पाउनुपर्ने पैसा पनि एन्फाले दिएको छैन। त्यो हेर्दा कुन दिन फुटबल खेलिएछजस्तो लाग्छ।’

महिला फुटबलको पुरस्कार रकम र प्रतियोगिताका विषयमा एन्फाका प्रवक्ता सुरेश शाहको जवाफ सुन्दा थप निराश बनाउने खालको छ।

उनले भने, ‘यसअघिको बैठकमा कुरा आएपनि निर्णय भने भइसकेको छैन। त्योभन्दा महत्त्वपूर्ण कुरा आएकाले निर्णय नगरिएको हो।’
उनले थपे, ‘मिति तोक्ने तयारीमा छौं।’

शाहले महिला फ्रेन्चाइज लिगको तयारीसमेत भइसकेको बताए। उनले त्यसका लागि स्पोर्टस् सेन्टर नेपालले ठेक्का पाएको बताए।

उनले थपे, ‘उनीहरूसँग केही सम्झौता गर्न बाँकी छ। त्यसका लागि केही दिनमा मिति तोक्नेछौँ। त्यसका लागि ६ देखि  ८ टोली राख्ने तयारी छ। जबसम्म ठोस कदम चालिन्न, त्यसमा विश्वास गर्ने अवस्था छैन।’

घरेलु फुटबल शून्य हुँदा राष्ट्रिय टोलीका ६ महिला खेलाडी अहिले भारतीय महिला लिगमा व्यस्त छन्। राष्ट्रिय टोलीकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा, डिफेन्डर गीता राना, अमृता जैसी, मिडफिल्डर प्रिती राई, दिपा शाही, फरवार्ड रश्मि घिसिङ फरक क्लबबाट आई लिग खेलिरहेका छन्।

विभागीय टोलीमा रहेका खेलाडीहरू नियमित प्रशिक्षणमा हुँदा त्यसबाहेकका खेलाडीहरू भने घरायसी काममा नै व्यस्त छन्। सिनियर टोलीमा रहेका खेलाडी पनि अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्दै बस्न बाध्य छन्।

कप्तान रेनुका पीडा पोख्छिन्, ‘एन्फाले महिला फुटबललाई गरेको व्यवहार हेरिकन विभागले त महिला फुटबलका लागि धेरै गरेको छ। अहिले विभागमा प्रशिक्षण भएपनि प्रोपर ट्रेनिङ हुँदैन। खेल नहुँदा राम्रोसँग ट्रेनिङ किट पनि पाइदैन। खेल नहुँदा हामीलाई यो चाहियो भन्न पनि गाह्रो हुने। केको लागि चाहियो खेल छैन भन्ने पनि हुने रहेछ।’

फुटबल गतिविधि शून्य भएपछि महिला खेलाडी पनि वैदेशिक रोजगारीमा भविष्य खोज्दैछन्। महिला खेलाडीको सूचीमा विभागीय टोलीकै खेलाडी पनि छन्। अहिलेसम्म सिनियर टोलीबाट खेलिसकेका र खेलिरहेका करिब १५ खेलाडीले वैदेशिक रोजगारीलाई आफ्नो गन्तव्य बनाए। केही जाने तयारीमा छन्।

खेलाडी पलायनलाई रेनुका बाध्यताका रूपमा लिन्छिन्। ‘भन्छिन्, फुटबल नभएपनि खान लाउन त पर्‍यो , बाहिर जाने खेलाडीले राम्रो गरेजस्तो लाग्छ। उनीहरूले भविष्य त बनाएका छन्। हामी त यहाँ, केही देखिँदैन।’

विभागमा आबद्ध भएपनि प्रतियोगिता नहुँदा काठमाडौंमा बसेर खान लाउन, भाडा तिर्न र बुट किन्न नसकिने रेनुका सुनाउँछिन्।

केही राष्ट्रिय टोलीका नियमितसहित ५० भन्दा बढी पुरुष खेलाडीले देश छाड्दा त मूकदर्शक बन्ने एन्फा नेतृत्वबाट औँलामा गन्न सकिने महिला खेलाडी पनि पलायन हुँदा चिन्तित होला भन्ने आशा राख्न नसकिने खेलाडी बताउँछन्।

महिला फुटबलमा अहिलेकै अवस्थाले निरन्तरता पाउने हो भने केही वर्षपछि महिला खेलाडीको अभाव नपर्ला भन्न सकिन्न। विश्व फुटबल महासंघले महिला फुटबलमा लगानी अनिवार्य गरे पनि एन्फाले कुन साइत कुरिरहेको छ हेर्न बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .