ad ad

खेल


विश्वकप छनोट सपना अधुरै राखेर बल र ब्याट थन्क्याएकी ज्योति

विश्वकप छनोट सपना अधुरै राखेर बल र ब्याट थन्क्याएकी ज्योति

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
पुस १८, २०८० बुधबार १९:४६, काठमाडौँ

राष्ट्रिय महिला क्रिकेट टोलीकी ज्योति पाण्डे बुधबारबार बिहानैदेखि भावुक देखिन्थिन्। 

प्रधानमन्त्री महिला टी२० कपको फाइनलअघि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेकी उनलाई खेल जीवन छाड्ने कुराको चिर्चिराहट थियो। 

अन्ततः आफ्नो क्लबलाई ‘च्याम्पियन’ बनाउँदै उनले खेल करिअरलाई बिट मारिन्। उनी सशस्त्र प्रहरीको एपीएफ क्लबबाट क्रिकेट खेल्दै आएकी थिइन्। 

योसँगै अर्को महिना नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेललाई उनले खूब ‘मिस’ गर्नेछिन्।  

राष्ट्रिय टोलीबाट खेल्ने उनको रहर अब अधुरै भएको छ। 

‘त्यति बेलासम्म मसँग समय नै छैन’, ज्योतिले यति चाँडै सन्न्यास लिनुको कारण सुनाइन्।   

त्यसो त ज्योतिले खेल्ने अवसर कम पाएर वा आफ्नो खस्किँदो प्रदर्शनका कारण क्रिकेटबाट बिदा भएकी होइनन्। 

बल र ब्याट थन्क्याउने योजना उनले एक वर्ष अघि नै बनाएकी थिइन्। तर टोलीलाई च्याम्पियन बनाएर छाड्ने निधो गर्दै एक वर्ष खेलिरहिन्। सन्न्यास लिएपछि उनले भनिन्, ‘मेरो तर्फबाट केही योगदान गरौं भन्ने थियो।’ 

अबको जीवन परिवारसँगै बिताउन सन्न्यास लिएको उनी बताउँछिन्। सन् २०२२ मा विवाह बन्धनमा बाँधिएकी ज्योति एक÷डेढ महिनामा नेपाल छाड्दै छिन्। 

‘रिस्क’ मोलेर एपीएफमा 
विराटनगरबाट क्रिकेट खेल्न थालेकी ज्योती सन् २०११ मा विभागीय टोली एपीएफ आइन्। क्लबमा होस् वा सिनियर टिममा ज्योतिले लामो समय मौका पाइनन्। तर जति समय पाईन् आफुलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखिनन् र चम्किइन्। 

यो बीचमा उतारचढावपूर्ण एपीएफ यात्रा सम्झदा ज्योति उत्साहित हुन्छिन्। एपीएफमा सुरुआतका दिनमा उनले मौका पाइनन्। त्यो बेलामा राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी थिए। उनी नेपालबाट नखेल्ने एक्ली खेलाडी थिइन्। 

उनी एपीएफ जाँदा धेरैले किन गएको मौका पाइँदैन नेपालको टोलीमा पर्न गाह्रो हुन्छ भनेका थिए। तर उनले रिस्क लिने निर्णय गर्दै एपीएफ पुगेकी थिइन्। 

क्लब लेभलमा नै सुरुमा मौका नपाउँदा पनि उनी कत्ति हतास भइनन्। किनकी ज्योतिलाई अनुभवी र नेपालबाट अन्तराष्ट्रिय खेल खेलिसकेका खेलाडीको भिडमा चम्कनु थियो।

त्यसैले उनले आफुलाई विस्तारै अभ्यस्त पार्दै प्रशिक्षणमा जुट्न थालिन्। उनको मेहनतले रगं ल्याउँदै गयो जसको कारण उनले टोलीमा स्थान बनाउन थालिन्।

वैकल्पिक खेलाडी हँदै ओपनिङमा स्थान बनाएकी ज्योतिलाई आफ्नो पहिलो खेको सम्झना खासै छैन। 

तर एपीएफबाट सेन्चुरी हानेको पल भने उनको मानसपटलमा अझै पनि ताजा नै छ। उनी भन्छिन्, त्यो बेलामा राजु सर प्रशिक्षक हुनुहुन्थ्यो। काठमाडौंमा वुमेन्स च्यामिपयनसिप भएको थियो। ४० ओभरको खेलमा उनले सेमिफाइनलमा टियु मैदानमा नै पहिलो सेन्चुरी हानेकी थिइन्। 

यस्तो रह्यो करिअर
एपीएफमा स्थान बनाएपछि उनले सन् २०१६ मा नेपालका लागि डेब्यु गरिन्। ज्योतिले थाइल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध डेब्यु गरिन्। सो खेलमा उनले ८ रन बनाइन्। 

सन् २०१६ देखि २०१८ सम्म उनले नेपाली टोलीबाट खेलिन्। २०१९ जनवरीमा थाइल्यान्ड वुमन्स टि२० खेल्नुअघि एपिएफमा फुटसल खेल्ने समय उनको बायाँ हात भाँचियो।

जसका कारण उनले टी२० विश्वकप एसिया क्षेत्र छनोट गुमाउन पुगिन्। यो क्षणलाई ज्योति अहिले पनि सम्झन चाहँदिनन्। 

लगातार टोलीमा परिरहेकी ज्योति चोटपछि पुनरागनम गर्न गाह्रो भएको अनुभव सुनाउँछिन्।

'मैले पुनरागमन गर्दा नयाँ खेलाडी आइसकेका थिए। उनीहरुको स्थान खोस्दै आफ्नो ठाउँ बनाउन गाह्रो भयो तर आफ्नो स्थान बनाएर यहाँसम्म आएँ', उनले भनिन्।

सन् २०१९ को डिसेम्बरमा पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला क्रिकेट टोलीमा ज्योति वैकल्पिक खेलाडी थिइन्। 

पछि विस्तारै उनी टोलीमा फर्किइन्। २०२२ को मे मा घरेलु मैदानमा युगाण्डासँग भएको खेलमा ज्योतिको प्रर्दशन सम्झन लायक छ। उनी लगातार दोस्रो पटक इतिहास रच्नबाट चुकिन्।

१ रनले चुक्दा ज्योति घरेलु मैदानमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी बन्ने इतिहास रच्नबाट पछि परिन्। 

राष्ट्रिय टोलीमा निकै कम मौका नपाएकी ज्योति हरेक क्षण खेलाडीले आफूलाई प्रमाणित गर्नुपर्दा गाह्रो हुने अनुभव सुनाउँछिन्।

'हरेक पटक नयाँ प्रशिक्षक हुँदा छोटो समयमा नै आफ्लाई प्रमाणित गर्नुपर्ने हुन्छ। यसले खेलाडीलाई गाह्रो हुने रहेछ। यदी लामो समय एउटै प्रशिक्षक रह्यो भने खेलाडीको सवल र कमजोर पक्ष थाहा हुन्छ', उनले भनिन्, 'जसको आधारमा उनीहरूले टोलीमा स्थान बनाउन सक्छन्। छोटो समयको  क्याम्पपछि ३ देखि ५ खेलको आधारमा छनोट हुन्छ। यसरी कहाँ होला र?

घरेलु प्रतियोगितालाई हेरेर खेलाडी छनोट गर्ने हो भने राम्रो खेलाडीले मौका पाउने उनको विश्वास छ। 

विश्वकप खेल्ने सपना अधुरै
ज्योतिलाई अब क्रिकेटका कुनै पनि भूमिकामा देख्न पाइने छैन। सन्न्यासपछि ज्योति श्रीमानसँगै बाहिर रहन्छिन्। 

ज्योतिको अन्तिम खेल उनका श्रीमानले लाइभ हेरिरहेका थिए। उनको प्रर्दशन देखेर गर्व गरिरहेका उनका श्रीमान् कतै ज्योतिले आफ्नै कारण त क्रिकेट छाडेकी होइनन् भनेर दु:खी छन्।

सन्न्यासपछि ज्योतिलाई श्रीमानको म्यासेज आएको थियो। उनले भनिन्, 'मेरो खेल हेरिरहनु भएको रहेछ,उहाँलाई दुख लागेको रहेछ।' 

एपीएफबाट खेलेको पहिलो खेल याद नगरेकी ज्योति अन्तिम खेल खेल्दा निकै भावुक देखिन्थिन्। आफ्नो अन्तिम खेलमा महत्वपूर्ण सदस्य हुँदा ज्योति गर्व महसुस गर्छिन्। 

नेपालबाट खेल्दा विश्वकपमा छनोट हुने उनको पनि सपना थियो। 'हामी त्यसका लागि निकै मिहिनेत गरेका हुन्थ्यौं', उनले भनिन्, 'त्यो पनि नखेली छाड्नुपर्दा दु:ख लागेको छ।'

विश्वकप खेल्ने सपना अधुरै राख्दै ज्योतिले बल र ब्याट थन्क्याउँदै क्रिकेटबाट बिदा लिइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .