ad ad

खेल


क्रिकेटबाट सुखद बिदाइको पर्खाइमा ऋतु

क्रिकेटबाट सुखद बिदाइको पर्खाइमा ऋतु

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
पुस २८, २०८० शनिबार ९:३५, काठमाडौँ

उमेर ४ दशक नाघिसकेको भए पनि उनी कीर्तिरपुरस्थित टीयू क्रिकेट मैदानमा ब्याट समाएर रन बनाउन तयार हुँदै थिइन्। संयोग पनि कस्तो, पीएम कप महिला क्रिकेटको फाइनलअघि साबिक विजेता सुदूरपश्चिमले उपविजेता कोशी प्रदेशसँग भिड्नुपर्ने। 

सुदूरपश्चिमको कप्तानी सम्हालेकी थिइन् राष्ट्रिय टोलीकी पूर्वकप्तान तथा अनुभवी अलराउन्डर ऋतु कनौजियाले। यो नाम नेपाली महिला क्रिकेट पछ्याउनेका लागि नयाँ होइन।  

अन्तर्राष्ट्रिय होस् वा घरेलु क्रिकेट, ऋतुले टोलीको नेतृत्व सम्हालेको लामो समय भइसकेको छ। महिला क्रिकेटको पहिलो पुस्ताकी खेलाडी ऋतु अझै पनि मैदानमा पुरानै जोसका साथ उत्रिन्छिन्।

नयाँ पुस्तालाई हात समाएर प्रदेशको टोली बलियो बनाउन लागेकी ऋतु घरेलु क्रिकेटमा सुदूरको परिचय स्थापित गर्न हरेक दिन मेहनत गरिरहेकी छिन्। उनको मेहनतको फल पनि देखिन थालेको छ।

तर पछिल्लो समय भने घरेलु क्रिकेटको अवस्था देखेर उनी चिन्तित पनि छिन्। प्रदेशले बनाएका खेलाडी विभागले तानिरहेको छ। प्रदेशले तयार पारेका खेलाडी विभागको नजरमा हुने गर्छन्। खेलाडी पनि खेल जीवनलाई अघि बढाउन विभागको प्रस्ताव मान्न स्वाभाविक रुपमा तयार हुन्छन्। जसले विभागको टोली बलियो बन्दै अघि बढ्छन्। प्रदेशका टोली भने नयाँनयाँ खेलाडीलाई तयार पार्दै अनुभव दिलाउन मात्र सीमित भइरहेका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक राउन्ड रोबिनमा प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्यो। 

साबिक विजेताको हैसियतमा पीएम कपमा उत्रेको सुदूरपश्चिम उपाधि रक्षा गर्ने योजनामा थियो। तर सुदूरको यो सपनामा धक्का पुग्यो। राष्ट्रिय महिला क्रिकेट टोलीकी अर्की पूर्वकप्तान रुबिना क्षत्रीको कप्तानीमा रहेको साबिक उपविजेता कोशी प्रदेशसँग पराजित भएपछि एक पटक फेरि फाइनल खेल्ने सुदूरको सपना अधुरै रह्यो। 

कोशीविरुद्ध दोस्रो क्वालिफायरमा ९ विकेटले पराजित हुँदै बाहिरिएपछि ऋतुले भनिन्, ‘फाइनल खेल्ने योजना थियो त्यो पूरा भएन। मुख्य तीन बलर र ब्याटर डली भट्टबिनै खेलेका थियौँ, भर्खर खेलेका नयाँ बलर पनि थिए। फाइनलमा पुग्नका लागि पनि कम स्कोर दिएका थियौंँ।’ 

नयाँ फर्म्याटमा भएको प्रतियोगिता अनुभव बटुल्नका लागि राम्रो अवसर भएको उनको भनाइ छ। यू–१९ खेलिसकेका चारपाँचजना नयाँ खेलाडी रहेकाले उनीहरुका लागि सिकाइ महत्वपूर्ण हुने उनी बताउँछिन्।
०००

सन् २०१९ को कोभिड–१९ को लकडाउनदेखि ऋतु खेलाडी उत्पादनमा पनि लागेकी छिन्। उनले आफ्नै जिल्लामा प्रशिक्षण दिन थालिन्। एकेडेमी खोलेर प्रशिक्षण नदिए पनि खाली मैदानमा पिच बनाएर प्रशिक्षण गराइरहेकी छिन्। 

उनले प्रशिक्षण दिएका केहीले यू–१६ पुरुष प्रतियोगितामा भाग लिइसकेका छन्। केही यू–१९ खेल्ने तयारीमा छन्। केही खेलाडीलाई बन्द प्रशिक्षणमा समेत बोलाइयो। केही खेलाडी भने पीएम कप खेल्ने तयारीमा छन्। 

उनको अथक मेहनतलाई देखेर नै दशरथचन्द नगरपालिकाले ऋतुलाई प्रशिक्षकको जिम्मेवारी समेत दिएको छ। 

नगरपालिकाले क्रिकेट, भलिबलमा समान ५ तथा एथलेटिक्स र करोतमा एकजना प्रशिक्षक नियुक्त गरेको ऋतुले जानकारी दिइन्। त्यसैले अबका दिनमा ऋतु दशरथचन्द नगरपालिकामा क्रिकेट खेलाडी उत्पादनमा व्यस्त हुनेछिन्।  

लेभल १ कोर्स पूरा गरिसकेकी ऋतुले खेलाडीबाट प्रशिक्षणमा जाँदा फरक अनुभव गरेकी छैनन्। सिकेको कुरा सिकाउन पाउँदा उनी झनै खुसी छिन्। 

उनी भन्छिन्, ‘महेन्द्रनगर र धनगढीमा धेरै एकेडेमी छन्, हाम्रोमा छैन। क्रिकेट सिक्ने सबै विद्यार्थी हुन्। अघिपछि उनीहरु स्कुल जान्छन्। त्यसैले शुक्रबार र शनिबार मात्र बोलाएर २ घण्टा मात्र प्रशिक्षण दिन्छु।’ 

खेलाडी हुन रहर गरेर मात्र हुँदैन भन्ने उनले राम्रोसँग बुझेकी छिन्। राम्रो खेलाडी बन्न मेहनत र साधनासँगै आर्थिक अवस्थाले पनि धेरै फरक पार्ने अनुभव उनले राम्रोसँग गरेकी छिन्। 

परिवारले खेलाडीहरुलाई खेल्न मात्र जान्छौ, कमाइ छैन भन्ने गरेको उनले यो अवधिमा धेरै पटक सुनेकी छिन्। आफूलाई भने अहिले केही सहज भएको उनको भनाइ छ।

‘पहिलेपहिले त गाडी भाडा जुटाउन पनि गाह्रो हुन्थ्यो। अहिले जिल्लाबाट टिमले सहयोग गरेका छन्, त्यसैले केही हदसम्म सहयोग पुगेको छ,’ ऋतुले भनिन्।

तर आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई क्रिकेटमा टिकाइराख्न गाह्रो हुने उनले नजिकबाट देखेकी छिन्। यो पटक म्याच फी धेरै कम भएको पनि उनले गुनासो गरिन्। 

टिमलाई ब्यालेन्समा राख्न जुनियर लेभलको प्रतियोगिताबाट खेलाडी छानियो भने उनीहरु निखारिँदै  सिनियरसम्म आउँदा राम्रो बन्न सक्ने आशा उनमा छ। त्यसका लागि प्रदेशले पनि लगानी गरे प्रदेशको क्रिकेट अझै राम्रो हुन सक्ने उनको विश्वास छ।  

विभागीय टोलीले आफ्नो टोली बलियो बनाउन प्रदेशका खेलाडी लैजाने चलन पुरानै हो। त्यसकै लयमा अहिले विभागले पनि महिला क्रिकेटको टोली निर्माण गर्न प्रदेशका खेलाडी तानिरहेको छ। यसलाई ऋतुले सकारात्मक र नकारात्मक दुवै तरिकाले हेर्न सकिने उनको भनाइ छ।

उनी आफैले पनि लामो समय विभागीय टोली एपीएफमा बिताइन्। 

उनी भन्छिन्, ‘प्रदेशले राम्रो खेलाडी बनाउँछ। विभागले लिएर जान्छ वा प्रदेशले नै राम्रो खेलाडीलाई राख्न सक्दैन। प्रदेशले नै केही रोजगारी दियो भने खेलाडी प्रदेशमा नै बस्न सक्छन्।’

प्रदेशले आफ्ना खेलाडीलाई संरक्षण गर्न नसके आगामी वर्षमा अझै गाह्रो हुने अनुमान उनी गर्छिन्। 

‘अनुभवी र सिनियर खेलाडी विभागमा जान थालेका छन्, अब खेल्ने भनेको जुनियर खेलाडीले नै हो। अर्को पटक आउँदा सुदूरपश्चिमलाई केही गाह्रो नै हुन्छ,’ उनी भन्छन्, ‘नयाँ खेलाडीहरु म्याटमा खेलेर अभ्यास गरिरहेका हुन्छन्, यहाँ आएर खेल्दा गाह्रो हुन्छ। उनीहरुलाई यसमा अभ्यस्त हुन अझै दुईतीन वर्ष लाग्छ।’

पहिलेको तुलनामा अहिले राष्ट्रिय प्रतियोगिताको स्तर बढेको ऋतुको अनुभव छ। तर आफ्नो प्रदेशमा भने प्रतिस्पर्धा सोचेजस्तो हुन नसकेको उनी बताउँछिन्। 

२०६४ देखि नियमित क्रिकेट खेल्न थालेकी ऋतु आफ्नो समयका तीनचार जनालाई मात्र अहिले देख्छिन्। उनलाई अझै पनि क्रिकेटमा लाग्न प्रेरित गर्ने भनेको उनको परिवार नै हो। परिवारको सहयोगका कारण नै आफू यहाँसम्मको यात्रा तय गर्न सफल भएकोमा उनलाई गर्व छ। 

सक्रिय खेल जीवनका लागि फिटनेस उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ।

उनले पहिलो पटक बैतडी जिल्लाबाट डडेल्धुरा क्षेत्रीय छनोट खेलेकी थिइन्। क्षेत्रीय छनोट खेलेर डडेल्धुराबाटै राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौँ आइन्। जुन समयमा उनी क्षेत्र नम्बर ६ को कप्तान थिइन्। प्रतियोगिताको फाइलनमा नेपालगञ्जसँग पराजित भयो। तर उनको प्रर्दशनका कारण उनी क्याम्पमा परिन्। 

करिब दुई दशक क्रिकेटमा बिताएकी ऋतुले नयाँ र पुराना पुस्ताका खेलाडीसँग खेलिसकेकी छिन्। 

सन् २००९ मा उनले नेपालको कप्तानी समेत सम्हालिन्। मलेसियामा भएको एसीसी विमिन्स टी–२० प्रतियोगिता नेपालले ऋतुको कप्तानीमा खेलेको थियो। जुन प्रतियोगितामा पूर्वकप्तान रुविना क्षत्रीले डेब्यु गरेकी थिइन्। 

ऋतुले अन्तिम पटक थाइल्यान्डमा भएको विश्वकप छनोट खेलेकी थिइन्। त्यसपछि सन् २०१९ मा घरेलु मैदानमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा बन्द प्रशिक्षणमा थिइन्। तर प्रशिक्षणकै क्रममा घुँडामा चोट लागेपछि उनी टोली बाहिर रहिन्।

ऋतुसँगै क्रिकेट खेल्न थालेका धेरैले छाडिसके। कोही प्रशिक्षणमा लागे, कोही स्कोरिङमा लागेका छन्। तर ऋतु निरन्तर खेलिरहेकी छिन्। 

अब सन्न्यास लिनुपर्छ भन्ने सोच उनमा पनि आएको छ। तर एउटा अन्तर्राष्ट्रिय खेल खेलेर सन्न्यास लिने उनको चाहना छ। त्यसको वातावरण क्यानले मिलाइदिनेमा उनी विश्वस्त छिन्। क्यानले पनि सन्न्यास लिनका लागि उनलाई आग्रह गरेको छ। त्यसका लागि ऋतु सही समय हेरिरहेकी छिन्। 

अहिले आफ्नो प्रर्दशन हेरेर पनि क्याम्पमा पर्छु भन्ने विश्वास उनमा छ। जसका लागि क्यानसँग सल्लाह गरेर नै खेल जीवनबाट बिदा हुने तरखरमा उनी छिन्। 

घरेलु मैदानमा हुने एक प्रतियोगिता खेलेर आफ्नो बल र ब्याट थन्क्याउन पाए हुन्थ्यो भन्ने उनी सोच्छिन्। 

खेल जीवनको सबैभन्दा प्यारो देशको जर्सी लगाएर सबैसँग विदाईको हकदार उनी हुन्। किनकि डेढ दशकभन्दा लामो समयदेखि उनी देशको महिला क्रिकेट विकासको सहयात्री हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .