ad ad

खेल


पिपुल्स च्वइसको मनोनयनमा सिक्कादेखि अनन्तसम्म, कसले मार्ला बाजी?

पिपुल्स च्वइसको मनोनयनमा सिक्कादेखि अनन्तसम्म, कसले मार्ला बाजी?

लक्ष्मी जि.सी
माघ ३, २०८० बुधबार १७:५४, काठमाडौँ

राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, शारीरिक सुगठनकी रजनी श्रेष्ठ, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको पिपुल्स च्वइस अवार्डको मनोनयनमा पर्न सफल भएका छन्।

नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै २०औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपुल्स च्वइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो। 

खेल क्षेत्रमा पाएका सफलता र लोकप्रियताको आधारमा खेलाडी छनोट गरिएको मन्चले जनाएको छ। 

मनोनयनमा पर्ने खेलाडीलाई जिताउन ई–सेवा मार्फत भोट गर्न सकिनेछ। 

पिपुल्स च्वइस अवार्डको विजेता ई–सेवा भोटिङ, मञ्चका सदस्यको मत, सामाजिक सञ्जाल (एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेज) बाट प्राप्त मत र २७ खेलका प्रमुख प्रशिक्षकको मतका आधारमा घोषणा गरिनेछ। 

जसअन्तर्गत ईसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटीमा आबद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुनेछ। मतदान अवार्ड घोषणाको अघिल्लो दिनसम्म गर्न सकिनेछ। 

यसअघि एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड माघ १२ गते गर्ने भनिए पनि प्राविधिक कारणले दुई साता पछि सारिएको मन्चले जनाएको छ। 

अवार्ड आगामी २८ गते आइतबार हुनेछ। 

पिपुल्स च्वइसका लागि खेलाडी छनोट गर्दा गत वर्ष र यो वर्षको प्रदर्शनलाई मुख्य आधार मानिएको छ। मनोनयनमा फुटबल, भलिबल, टेबलटेनिस, शारीरिक सुुगठन र करातेका खेलाडी अटाएका छन्। जसमा तीन महिला पर्दा दुई जना पुरुष खेलाडी छानिएका छन्। यी हुन् मनोनयनमा परेका खेलाडीः

अनन्त तामाङ (फुटबल) 
राष्ट्रिय टोलीका डिफेन्डर अनन्तले दुई फरक क्लबलाई आफ्नो कप्तानीमा घरेलु फुटबल च्याम्पियन बनाएका छन्।  

अनन्तको कप्तानीमा रहेको चर्च ब्वइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिगको डेब्यु सिजनमा नै उपाधि जित्न सफल भएको थियो। चर्च ब्वइजलाई च्याम्पियन बनाउँदा अनन्त सर्वोत्कृष्ट खेलाडी बनेका थिए। 

साथै उनले यही वर्ष आफ्नै कप्तानीमा रहेको ललितपुर सिटी एफसीलाई नेपाल सुपर लिग (एनएसएल) को उपाधि जिताएका थिए। ललितपुरलाई च्याम्पियन बनाउने क्रममा अनन्त लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। 

गतवर्ष घरेलु मैदानमा भएको लाओस र भुटान सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालले उपाधि जित्दा अनन्त टोलीका मुख्य सदस्य थिए। अनन्तले लाओसविरुद्ध एक गोल गरेका थिए। 

यसैवर्ष भारतको बेंग्लोरमा भएको साफ च्याम्पियनसिप २०२३ मा नेपालले सहभागिता जनाउँदाको अनन्त टोलीका सदस्य थिए। च्याम्पियनसिपमा अनन्तले ५० औँ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

यस्तै सन् २०२२ मा उनी इन्डियन सुपर लिग (आईएसएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए। 

निरुता ठगुन्ना (भलिबल) 
नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा एपीएफ क्लबकी निरुता ठगुन्ना यो वर्षको पिपुल्स च्वइस अवार्डको मनोनयनमा पर्न सफल भएकी छिन्।

यसैवर्ष घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कास्य पदक जित्दा टोलीकी महत्वपूर्ण सदस्य थिइन् उनी।

निरुता यसैवर्ष हेटौँडामा सम्पन्न केशवलाल स्मृति महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पनि हुन्। नेपाल एपीएफ क्लबकी महत्वपूर्ण सदस्य निरुता अहिले पोखरामा जारी टाइगर कपमा व्यस्त छिन्। 

गतवर्षको असोज–कात्तिकमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा एपीएफले स्वर्ण जित्दा निरुता टोलीकी सदस्य थिइन्। 

गत वर्षको माघमा भएको केएनपी नेरोल्याक छैटौँ राष्ट्रिय महिला भलिबलको उत्कृष्ट स्पाइकर बन्न सफल भएकी थिइन्। 

निरुता यसै वर्ष चीनको हाङ्जाओमा भएको १९ औँ एसियाली खेलकुदमा नेपाली टोलीको सदस्य थिइन्। 

विप्लवलाल श्रेष्ठ– (कराते)
यसैवर्ष इन्डोनेसियाको जकार्तामा भएको १० औँ विश्व सितोरियो कराते च्याम्पियनसिपका रजत पदक विजेता विप्लवलाल श्रेष्ठ मनोनयनमा पर्न सफल भएका छन्। 

विप्लवले १९ औं एसियाली खेलकुदमा दुई बाउट जितेका थिए। 

गतवर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत कुमुतेको खुल्ला तौलतर्फ उनले स्वर्ण पदक जितेका थिए। 

गतवर्ष भएको पहिलो एनआरएनए राष्ट्रिय कराते च्याम्पियनसिप र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल भएका थिए। 

रजनी श्रेष्ठ (शारिरीक सुगठन)
रजनी श्रेष्ठले यसैवर्ष घरेलु मैदानमा सम्पन्न एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा ५५ केजी तौलमाथिको समूहमा स्वर्ण पदक जितेकी थिइन्। 

शारीरिक सुगठन पुरुष खेलाडीका लागि मात्र हो भन्ने मान्यतालाई चिर्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन सफल रजनी सन् २०२३ मा इन्डोनेसियामा भएको एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्न सफल भएकी थिइ्न्। 

रजनी सन् २०२३ मा नेपालमा भएको ५३औँ एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा रजत र कास्य पदक विजेता समेत हुन्। 

यस्तै गतवर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनकी कास्य पदक विजेता समेत हुन्। 

सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस)  
टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ डबल्समा राष्ट्रिय च्याम्पियन र स्ट्याग ग्लोबल च्याम्पियन्स लिगकी विजेता हुन्।

राष्ट्रिय खेलकुद महिला एकलमा तेस्रो तथा टिम इभेन्टमा रजत जित्न सफल सिक्का यो वर्षको पिपुल्स च्वइस अवार्डको मनोनयनमा पर्न सफल भएकी छिन्। 

विश्व महिला टेबलटेनिस वरीयतामा ५१० सम्म पुग्न सफल सिक्का यसै वर्ष भएको स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०८० विजेता समेत हुन्। 

दक्षिण कोरियामा भएको एसियन च्याम्पियनसिपमा सहभागी भएकी सिक्का यसै वर्ष चीनमा भएको एसियन गेम्समा समेत सहभागी थिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .