ad ad

खेल


२२ वर्षपछि पाकिस्तानलाई हराउने दाउमा नेपाली युवा टोली

२२ वर्षपछि पाकिस्तानलाई हराउने दाउमा नेपाली युवा टोली

लक्ष्मी जि.सी
माघ १०, २०८० बुधबार ६:२७, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप अन्तर्गत बुधबार पाकिस्तानसँग भेट हुँदा नेपाली युवा टोली २२ वर्षपछि जित निकाल्ने योजनामा हुनेछ। 

यू–१९ विश्वकपमा आज बुधबार नेपाली युवा टोलीले पाकिस्तानको सामना गर्दैछ। इस्ट लन्डनको बफेलो पार्कमा हुने खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ। 

समुह डी को आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको हार बेहोर्दा नेपालको सुपर सिक्स सम्भावना कमजोर बनेको छ। तर नेपाल आजको खेलमा पाकिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्ने आशा जीवित राख्न चाहान्छ।

सुपर सिक्समा पुग्नका लागि मात्र हैन, यसअघि डिसेम्बरमा भएको एसिया कपमा भोगेको हारको बदला लिने अवसर समेत नेपाली युवा टोलीलाई छ। 

पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको पाकिस्तान नेपालविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। नेपाललाई हराएर सुपर सिक्स यात्रा निश्चित गर्ने योजनामा पाकिस्तान हुनेछ। 

तर, अर्जुन कुमाल, देव खनाल, गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीको जादु चले पाकिस्तानको अपराजित यात्रा रोक्न कठिन भने हुने छैन। 

यद्यपि नेपालले आशा गरेका कप्तान देव खनाल र सिनियर टोलीका नियमित सदस्य अलराउन्डर गुल्सन झाले पछिल्ला खेलमा अपेक्षा अनुसारको प्रर्दशन गर्न सकेका छैनन्। 

पहिलो खेलमा देव न्युजिल्यान्डविरुद्ध ३६ रन बनाएर पवेलियन फर्के। अघिल्लो खेलमा देवले संयम  देखाएको भए खेलको नतिजा अर्कै हुन सक्थ्यो। 

सिनियर टोलीका अनुभवी खेलाडी गुल्सन सिनियर टोलीमा संकटमोचकका रुपमा चिनिन्छन्। तर युवा टोलीमा भने उनको त्यस्तो प्रर्दशन देख्न पाइएको छैन। न्युजिल्यान्डविरुद्ध गुल्सन २ रनमा नै क्याच आउट हुन पुगे।  

आजको खेलमा गुल्सन चम्कनेमा कप्तान देव खनाल समेत आशावादी छन्। 

आजको खेलमा देव र गुल्सन लामो इनिङस खेल्र्दै टोलीमा आफ्नो आवश्यकतालाई प्रमाणित गर्नुपर्ने दबाबमा छन्।  

ओपनर अर्जुन कुमाल क्रिजमा टिकेर खेल्न सक्ने क्षमता राख्छन्। उनीबाट आजको खेलमा पनि सोही अपेक्षा गरिएको छ। उनलाई शीर्षक्रमका ब्याटरले साथ दिन जरुरी छ। 

न्युजिल्यान्डविरुद्ध फिल्डिङमा देखिएको कमजोरीलाई आजको खेलमा सुधार गर्नुपर्ने जरुरी युवा टोलीमा छ। 

यसअघि एसिया कपमा भेट भएको पाकिस्तानविरुद्ध नेपाल रणनितिक रुपमा मैदानमा उत्रने आशा नेपाली टोलीले गरेको छ। 

हेड टु हेड
उमेर समूहमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म ६ खेलमा भेट भएको छ। ती भेटमा नेपालले एक खेलमा मात्र जित निकालेको छ। 

नेपालले सन् २००२ मा भएको यू–१९ विश्वकपमा पाकिस्तानलाई ३० रनले हराएको थियो। त्यो नै पाकिस्तानविरुद्धको नेपालको पहिलो जित हो। त्यसयता नेपालले पाकिस्तानलाई हराउन सकेको छैन। 

पाकिस्तानविरुद्ध नेपाल ४ खेलमा पराजित हुँदा १ खेल नतिजाविहीन भएको थियो। 

यू–१९ विश्वकपमा भने नेपाल र पाकिस्तान ३ पटक भिडेका छन्। 

सन् २००० मा नेपाल र पाकिस्तान पहिलो पटक आमनेसामने भएका थिए। तर खेल रद्द भएको थियो। सन् २००२ मा भएको दोस्रो भेटमा नेपाल विजय भएको थियो।

विश्वकपमा भने नेपाल र पाकिस्तान सन् २०१६ मा अन्तिम पटक भिडेका थिए। पाचौँ स्थानका लागि भएको खेलमा पाकिस्तानले नेपालमाथि १ सय २२ रनको फराकिलो जित हात पारेको थियो।

यस्तै एसिया कपमा यी दुई टोली तीन पटक नै भेट भएका छन्। एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१२, २०१३ र २०२३ मा भेट भएका थिए। 

यी दुई टोलीबीच अन्तिम पटक सन् २०२३ मा युएईमा भएको एसिया कपको खेल भएको थियो। सो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। 
 
नेपाली टोलीः 
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेशप्रसाद कँडेल, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दीपक बोहोरा, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, विशालविक्रम केसी र विपिन रावल।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .