ad ad

खेल


इस्ट लन्डनमा चम्किएका आकाश, जसले अफगानिस्तानलाई स्तब्ध बनाए

इस्ट लन्डनमा चम्किएका आकाश, जसले अफगानिस्तानलाई स्तब्ध बनाए

विकेट लिएपछि खुशी मनाउँदै आकाश चन्द। तस्बिर : गेट्टी ईमेज


लक्ष्मी जि.सी
माघ १२, २०८० शुक्रबार २२:२०, काठमाडौँ

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा अफगानिस्तानमाथि ऐतिहासिक जित निकाल्दाका नायक हुन् आकाश चन्द।

शुक्रबार अफगानिस्तानलाई १४५ रनमा सीमित गर्दा आधा टिमलाई एक्लै पेबेलियन पठाएका थिए आकाशले।

उनको कसिलो बलिङ नै अफगानिस्तानविरूद्ध विजयको मुख्य आधार बन्यो। आफ्नो पहिलो ओभरबाटै विकेट लिन थालेका आकाशले ८ ओभरमा ३४ रन खर्चिएर ५ विकेट झारे।

यो ऐतिहासिक जितमा चम्किएका आकाश खेलको म्यान अफ द म्याचसमेत भए।

पहिलो इनिङ्समा राम्रो प्रदर्शन गरेपछि कप्तान देव खनालले टोलीका सदस्यलाई भनेका थिए, ‘जसरी भए पनि सुपर सिक्स चाहियो, यो दिन फेरि जिन्दगीमा आउँदैन।’

देवले विपक्षीलाई सस्तैमा रोक्दा जित्न सकिने बलियो सम्भावना रहेको बताउँदै त्यही अनुसार ब्याटिङ गर्नु पर्ने बताए। नभन्दै १ विकेटको जित निकाल्दै नेपालले त्यो लक्ष्य पूरा गरी अर्को चरण अगाडि बढ्यो।

आकाशको लय
पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध विकेटविहीन भएका उनी दोस्रो खेलमा भने चम्किएका थिए। उनैले न्युजिल्यान्डविरुद्ध ८ ओभर बलिङ गर्दा बिनाविकेट ५२ रन खर्चिएका थिए।

तर दोस्रो खेलमा पाकिस्तानविरुद्ध ९ ओभर बलिङ गर्दा ३४ रन खर्चिएर ३ विकेट लिए। उनको राम्रो प्रदर्शनका बावजुद यी दुवै खेलमा नेपाल पराजित भयो।

अफगानिस्तानको नतिजा पनि नेपालको जस्तै थियो। उसले पनि पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डसँग हार ब्यहोरेको थियो।

शुक्रबारको खेल नेपाल र अफगानिस्तान दुवैका लागि दोस्रो चरणमा पुग्न निर्णायक थियो। जित्नै पर्ने दबाबबीच टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय लियो।

पहिलो ओभर बलिङ गर्न आएका गुल्शन झाले आफ्नो पहिलो बलमै सफलता दिलाए। तर त्यसपछि उनले लगातार ७ ओभर बलिङ गर्दा विकेट लिन सकेनन्। तर दोस्रो ओभरदेखि आकाशले अफगानिस्तानका ब्याटरलाई धरापमा पार्दै गए।

दोस्रो ओभरको तेस्रो बलमा आकाशले खालिम तनिवाललाई शून्यमै विकेट किपर विपिन रावलको हातबाट क्याच गराउँदै पेबेलियन फर्काए।

क्रिजमा रनका लागि संघर्ष गरेको अफगानिस्तानलाई आकाशको कसिलो बलिङ सामना गर्न कठिन पर्दै गयो। पाँचौं ओभरको पाँचौं बलमा १७ रन बनाउँदा अफगानिस्तानले जमशिद जड्रानलाई पनि सस्तैमा गुमायो। १४ बल खेलेका जद्रान केवल ३ रन जोडेर बोल्ड भए।

१० रन जोडेपछि अफगानिस्तानको अर्को विकेट झर्यो। आठौं ओभरको अन्तिम बलमा सोहिल खान जुरमतीलाई कप्तान देव खनालले आकाशकै बलमा क्याच आउट गरे।

त्यसपछि पनि आकाशको आक्रमण रोकिएन। १० औं ओभर बलिङ गरेका आकाशले पहिलो बलमै अहली अहमदलाई एलबीडब्ल्यु धरापमा पारे। अहमद शून्य रनमै आउट हुँदा नेपालले पाँचौं सफलता हात पार्यो।

१२ औं ओभरसम्म पनि अफगानिस्तानी ब्याटरसामु नेपाली बलर आकाश चन्द हाबी भइरहे।

१२ औं ओभरको तेस्रो बलमा आकाशले व्यक्तिगत पाँचौँ विकेट लिँदा हसन इसाकिल पेबेलियन फर्किने छैठौं ब्याटर बने। जतिबेला अफगानिस्तानको खातामा मात्रै ४३ रन थियो।

२० रन बनाएका हसनलाई दीपेश कँडेलको हातबाट क्याचआउट गराए।

ब्याटिङतर्फ न्युजिल्यान्डविरुद्ध १४ रन बनाएका आकाश पाकिस्तानविरुद्ध १६ रनमा नटआउट थिए। यी तीन खेलमा आकाशले कूल आठ विकेट लिएका छन्।

आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र डिभिजन एकको छनोटमा अलराउन्डर गुल्शन झाको स्थान लिएका थिए उनले। गुल्शनले सिनियर टोलीबाट विश्वकप लिग-२ खेल्ने भएपछि उनको स्थानमा आकाशलाई मौका दिइएको थियो।

सन् २०१९ मा यू-१९ टोलीले भारत भ्रमण गर्दा पनि टोलीको सदस्य थिए। घरेलु मैदानमा सिनियर प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आवद्ध आकाश उमेर समूहमा सुदूरपश्चिमबाट खेल्छन्।

सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय प्रतियोगिताको उपाधि जित्दा आकाशले ७ खेलमा १५ विकेट लिएका थिए। तर नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्समा आवद्ध भए पनि उनले खेल्ने मौका भने पाएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .